जोखिम : महेन्द्र नेउपाने (लघुकथा)

जोखिम : महेन्द्र नेउपाने (लघुकथा)

कपन अनलाइन
काठमाडौं, पुस ६।

“ल भन्नुस !” लब्ध प्रतिष्ठत व्यापारी घरानाका प्रमुखले बैठक कोठामा प्रवेश गर्दै नयाँ ब्यवसायको प्रस्ताव प्रस्तुत गर्न परामर्श कर्तालाई अनुमती दिए ।
“हजुर, नयाँ ब्यवसायको खाका तयार भयो, जोखिम भएन भने ३८% सम्मको पनि नाफा हुने देखिन्छ, अर्थात ३ बर्षको लगानी भुक्तानी अवधि ।”
“जोखिम भयो भने नि ?” प्रमुखले जिज्ञासा राखे ।
परामर्श दाताले पाना पल्टाउदै भने, “११ % त पक्का हुन्छ, अर्थात ९ बर्षको भुक्तानी अबधी ।”
“यत्रो फरक कसरी हुन्छ ?” भरखरै बिदेश पढेर आएका अध्यक्षका सुपुत्र नवनियुक्त उपाध्यक्षले सोधे ।
“जोखिम अलि कडा छ । यसैले पूर्वाधार, बिजुली, भन्सार, कर आदि सबैमा प्रभाव पार्छ ।” परामर्श दाताले भने ।
“त्यस्तो के जोखिम रहेछ ? व्यवसाय गर्ने नगर्ने निर्णय गर्नु अघि बुझ्नु पर्यो नि । उपाधक्ष्यले प्रष्ट हुन चाहे ।
परामर्श दाताले अध्यक्षको अनुहारमा पुलुक्क हेरे । अनुमतीको ईसारा पाए पछि भने, “ईमान्दार सरकार बन्ने हो कि ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।