यस्तो महामारीमा एनजीओ र आइएनजीओ चाही कहाँ होलान है ?

यस्तो महामारीमा एनजीओ र आइएनजीओ चाही कहाँ होलान है ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ५/पुन्यराज पुडासैनी 

यस्तो महामारीमा एनजीओ र आइएनजीओ चाही कहाँ होलान है ? यो प्रश्न आज बिहान स्थलगत रिपोर्टिंगका क्रममा पुग्दा एक सहयोग अपेक्षा गरिरहेका नागरिकले सोधेको मार्मिक प्रश्न थियो।

सायद हाम्रो पेटमा बलिरहेको आगो निभाउने सुन्दर शव्द खोज्दै होलान प्रतिवेदन बुझाउन,अर्को नागरिक संग रेडिमेड उत्तर थियो। प्रश्न र उत्तर जस्तो भएपनि यसले नेपालमा रहेका गैरसरकारी संस्थाहरुको भविष्य तर्फ गम्भीर संकेत गरिरहेको थियो।

नेपालमा निकै मलिलो र फस्टाएको यो क्षेत्रको नागरिक प्रतिको दायित्व र विषम समयमा खेल्नुपर्ने र खेलिरहेको  भूमिकाका वारेमा गम्भीर बहसको आवस्यकता भने यो प्रश्नको  मर्ममा पक्कै लुकेको छ।

तालिम ,शशक्तिकरण,वकालत भन्दै तारे होटलमा कार्यक्रम गरेर बजेट घुमाउने भनेर वारम्वार आरोप खेप्दै आएका ति संस्था तथा नियोगहरुले कोरोना प्रकोपको महामारीमा देखाएको उदासिनता र अलमलले धेरै हद सम्म त्यो आरोपको पुस्टि भएको चर्चा अहिले विभिन्न वृतमा चल्न थालेको छ।

बजेट खर्च , रिपोर्टको फन्ट ,भाषा जस्ता कुराहरुमा समेत प्रत्यक्ष बौद्धिक दोहन खेपेका नेपालका एनजीओहरुले अहिले स्थानीय र रास्ट्रिय स्तर बाट जनताको सेवाका लागि आएको अनुरोध र दवावलाई नदेखे झैँ गर्नु निकै बिडम्बना पूर्ण कुरा हो।

सबै योजना तथा कार्यक्रममा आएका रकम र बजेटलाई महामारीको आपतकालीन अवस्थामा जनताको सेवामा लगाउनु पर्ने बेलामा दाताले दिएको कार्यविधि र निर्देशन मान्नुपर्ने लाचार अवस्थामा रहेका त्यस्ता संस्थाहरुलाई सरकारले नै सिधा आदेस दिनुपर्ने देखिन्छ भने नमान्ने संस्थाहरुको दर्ता नै रद्द गर्दा पनि खास फरक पर्ने देखिदैन।

राजनीतिक दलका कार्यकर्ता ,नेता तथा उनका आसेपासेको रोजगारीको माध्यम बन्दै आएका गैर सरकारी संस्थाहरुको भूमिका निकै प्रभावकारी हुनुपर्ने वेलामा कागजी कम गर्ने सत्ता र सानदार रुपमा आउने भत्ताको मारमा परेर निकै सिथिल बन्नु भनेको ति संस्थाहरुको आगामी दिनलाई पक्कै सुखद संकेत मान्न सकिदैन।

त्यति मात्र हैन सानातिना मुद्दाहरुमा पनि प्ले कार्ड र ब्यानर बोकेर सडक सडक भौतारिने संस्था र अभियन्ताहरुको यस विषम परिस्थितिमा देखिएको मौनता र विचारसुन्यताले उनीहरुको जनताप्रतिको जवाफदेहितामा पनि ठुलो प्रश्न पक्कै खडा गरेको छ।

गैरसरकारी संस्थामा आएको बजेटको २० प्रतिसत रकम कोभिड -१९ नियन्त्रण र रोकथाममा लाउने भनिएता पनि  त्यसको कार्यान्वयन र   प्रभाव देखिएको छैन भने जनताको स्तरमा पुगेर काम गरिरहेका कतिपय संस्थाको प्रयासलाई पनि यसले ओझेलमा पारिरहेको छ।

अहिले अनौपचारिक क्षेत्रका लाखौ नागरिकहरु रोग,भोक र सन्तापले पिडित बनिरहेको समयमा विपद व्यवस्थापनका लागि भन्दै ठुल ठुला सेमिनार गरेर कार्यपत्र लेख्ने अभियन्ताहरु केवल सामाजिक संजालमा विकार व्यक्त गर्ने उत्प्रेरक मात्र बन्नु निकै दुखद विषय हो।

यस्तै विषय मनमा खेलिरहेको समयमा अर्को एकजना नागरिकको टिप्पणीले झन झस्कायो। उनि भन्दै थिए “हिजो घर घरमा पुगेर कागजमा सहि गराउने आज एक केजी चामल बोकेर आए पनि हुने नि।”

“पक्कै अहिलेको विषम अवस्थामा नागरिकको घरमा शशक्तिकरणको नारा हैन साबुन ,मास्क,अन्न र उपचार लिएर  एनजीओ र आइएनजीओ पुगेको हेर्न नागरिक चाहान्छन”,अर्का नागरिकको आवाज थियो।

” के नेपालका एनजीओ र आइएनजीओ दाताहरुको नीति र विधिको विरुद्ध विद्रोह गर्ने आँट गर्लान ?” ,अर्का नागरिकको व्यंग्यात्मक प्रश्न थियो।

” यदि त्यसो गर्न सकेनन भने उनीहरुको योगदान मुद्दा र मुद्राको भारीले भसक्कै थिचेर नागरिक प्रतिको जिम्मेवारी पिल्सिएछ भन्ने बुझौ” , अर्को नागरिकको आक्रोस थियो।

पिडामा पिल्सिएका नागरिकहरुको आवाज सुनिरहेको मेरो मनमा पनि अव प्रश्न मडारिन थालेको छ र त्यो प्रश्न हो ,यस्तो महामारीमा एनजीओ र आइएनजीओ चाही कहाँ होलान है ?

 

 

 

तपाइँको प्रतिक्रिया ।