विज्ञानका कुरा : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १७।
उड्ने चरी सरह नै, नभमा जहाज
उड्दै छ भन्दछु म ता, अडिँदै कहाँ छ ?
देख्दैछु मानिस त्यहाँ, त सयौँ हजारौँ
पौडन्छ यो गगनमा, कसरी बताउँ ।१।
यात्रा गरीकन पुग्यो, जब चन्द्रलोक
कुद्ने अझै मनुजको, अडिएन भोक
भन्दैछ मङ्गल पुगौँ, चढ यो रकेट
जाऊँ उतै ग्रहतिरै, पनि हुन्छ भेट ।२।
पार्यो अनेक रितले, जगतै उज्यालो
टाढा भए विगतका, त टुकी दियालो
भन्दैछ रात अब त्यो, म भगाइछाड्छु
धर्ती सधैँ झिलिमिली, म बनाइछाड्छु ।३।
फोहोरबाट रुपियाँ, पनि छाप्न थाल्यो
चाहिन्न मोहर झिक्यो जहिले जता हो
आए कला सयकडौँ, घर काज गर्न
सक्दैन मात्र उसले, अब भोक टार्न ।४।
फेरिन्छ आज त परे, मुटु औ कलेजो
पाइन्छ बाँच्न बढि क्यै, धनले पुगे भो
चिन्ता छ एक दुःख क्यै नगरी सरे भो
मर्ने कुरा कठिन हो, नमरी टरे भो ।५।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।