घुम्ती कवि गोष्ठी नेपालको १०० औँ शृङ्खला सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १७।
घुम्ती कविगोष्ठी नेपालको १००औँ शृङ्खला पुगेको अवसरमा विशेष काव्यगोष्ठी र घुम्ती स्रष्टा सम्मान अर्पणको कार्यक्रम भएको छ । गोकर्णेश्वर नगरपालिका, आरुबारी स्थित ग्राम निर्माण बन्धु मण्डल क्लबको सहआयोजनामा यसै क्लबको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसे रहेका थिए भने सभापति क्लबका अध्यक्ष एवम् गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दीपक रिसाल रहेका थिए ।
विशिष्ट अतिथिहरुमा घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार त्रय गोविन्द घिमिरे वेदमणि, विजय चालिसे र कणाद महर्षि हुनुहुन्थ्यो । त्यसै गरी अन्य अतिथिहरुमा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, डा. विदुर चालिसे, शीतल गिरी, खोलाघरे साहिँलो, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष परशुराम पराशर, सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, पुरुषोत्तम प्रसाद ढुङ्गाना, पत्रकार निबन्ध आचार्य, पत्रकार गङ्गाप्रसाद भेटवाल र क्लबका उपाध्यक्ष किरण पण्डित थिए ।
घुम्ती स्रष्टा सम्मान प्राप्त गर्ने साहित्यकारहरुमा डा. बमबहादुर थापा जिताली, ओमप्रसाद कोइराला, प्रेम राई परीक्षित र पुरुषोत्तम नेपाल रहेका थिए ।
घुम्तीका अध्यक्ष परशुराम पराशरले अतिथि लगायत सम्मानित व्यक्तित्वहरुलाई माला लगाएर स्वागत गरेका थिए । अतिथि, सम्मानित स्रष्टा लगायत विनोद दाहाल वत्स, शारदा पराजुली, मेनका पोखरेल आचार्य, देवीप्रसाद चापागाईँ, त्रिलोचन आचार्य, घनश्याम प्रसाईँ, टेकबहादुर लौडारी, आलोक चालिसे, स्वेच्छा राउत, शान्ति रिसाल, रामचन्द्र खतिवडा, सुरेश सुवेदी, मन्जुश्री प्रधान केसी, रामकुमार पण्डित, रामचन्द्र दाहाल लगायत ३५ जना कविहरुले रचना वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्तोष चालिसेले यस क्षेत्रका साहित्यिक संस्थाहरुको कार्य सराहनीय भएको र आफू पनि साहित्य रुचाउने व्यक्ति भएकाले २०७६ फागुन महिनामा यही स्थानमा नगरपालिकाकै पहलमा राष्ट्रव्यापी कविता प्रतियोगिता गरेको र यस पटक पनि त्यस्तै प्रतियोगिता गर्न पहल गर्ने बताए ।
सभामा बोल्दै वहाँले गोकर्णेश्वर नगरपालिकालाई साहित्यको तीर्थ बनाउन सबै लाग्नुपर्ने कुरा पनि बताए । वक्ताका रुपमा बोल्दै सम्मानित व्यक्तित्वहरुले घुम्ती कविगोष्ठी नेपाललाई धन्यवाद दिएका थिए । सभाध्यक्ष दीपक रिसालले साहित्यको इतिहास बोकेको यो क्लब यस्ता कार्यमा लाग्न रुचाउने कुरा बताउँदै साहित्यको श्रीवृद्धिमा लाग्न आफूलाई पनि रहर जाग्ने गरेको समेत बताएका थिए ।
घुम्ती कविगोष्ठी नेपालका कोषाध्यक्ष मन्जुश्री प्रधान केसीले स्वागत मन्तव्य र कविता वाचनबाट सुरुभएको यस कार्यक्रममा सम्मानित व्यक्तित्वहरुको बारे उपाध्यक्ष रामकुमार पण्डितले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन घुम्ती कविगोष्ठीका सचिव माधवलाल श्रेष्ठले गरेका थिए भने धन्यवाद अध्यक्ष परशुराम पराशरले गरेका थिए ।