शान्ति र प्रजातन्त्र

शान्ति र प्रजातन्त्र
कपन अनलाइन
काठमाडौं ,फागुन १०/ईश्वर नगरकोटी

जीवनका दुई सत्य छन्, जन्म र मृत्यु, समयको पनि दुई रुप छन् दिन र रात त्यस्तै प्रजातन्त्रका पनि दुई अवस्था हुन्छन्, शान्ति र क्रान्ति । विद्रोह, द्वन्द, झैझगडा, रडाको नभएको मानसिक स्थिति नै शान्ति हो । शान्ति प्रजातन्त्ररुपी वृक्षको फूल हो, जसले सो वृक्षको शोभा बढाउ¤छ वातावरण सुरम्य बनाइ सबैतिर आनन्द, खुसी र सन्तुष्टिको सुवास फैलाइरहेको हुन्छ ।

त्यसमा पनि शान्तिका विविध स्वरुपहरु छन्, शरिर रोगमुक्त हुनु तन शान्ति हो । मस्तिष्क आनन्दित र सन्तुष्ट अवस्थामा हुनु मन शान्ति हो । सम्पूर्ण समाजमा बन्धुत्व, मेलमिलाप, असल शासन, न्याय, अनुशासन र भाइचाराको स्थिति नै समग्र देशको शान्तिको स्थिति हो । “सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तू, मा कश्चिद् दुःख भागभवेत”,: भन्ने उद्गार परम् शान्तिको स्थितिमा मात्र सम्भव छ ।
प्रजातन्त्र दुई शब्दको सन्धीबाट बनेको छ, प्रजा अर्थात जनता र तन्त्र अर्थात शासन पद्धति ।

जनताको बहुमतद्वारा छानिएका प्रतिनिधिहरुको सहमति अनुसार शासन ब्यवस्था चल्ने, नीति निर्धारण हुने विधिको शासन पद्धतिलाई प्रजातन्त्र भनिछ । अमेरिकी प्रसिद्ध राष्ट्रपति अब्राहम लिंकनका अनुसार प्रजातन्त्र भन्नाले जनताद्वारा जनताको लागि जनताले नै गर्ने शासन पद्धतिलाई प्रजातन्त्र भनिन्छ । त्यस्तै प्रयोगात्मक नेपाली शब्दकोष अनुसार प्रजातन्त्र भन्नाले जनताद्वारा निर्वाचित प्रतिनीधिहरुद्वारा चलाइने शासन ब्यवस्था हो । प्रजातन्त्र विश्वको सर्वोत्कृष्ट शासन ब्यवस्था हो । प्रजातन्त्रमा राज्यको सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय अखण्डता जनतामा निहित हुन्छ ।

जनताको इच्छा अनुसार देश विकास योजना नीति निर्धारण र कानुनी राज चल्ने गर्दछ । त्यसैले जुन देशमा प्रजातन्त्रको सही र सन्तुलित उपयोग भएको छ ती देशहरु दिगो विकास निर्माणमा लागेका छन्, शिक्षाको उज्यालो घामले जागेका छन्, ती देशबाट दुःख, दरिद्री भागेका छन् , जनताहरु सुखी र खुसी छन्, जीवन सम्पन्न छ भने ती देशहरु शान्तिपूर्ण पनि छन् ।

त्यसैले शान्ति र प्रजातन्त्र एक रथका दुई पाङ्ग्रा हुन्, एक सिक्काका दुई पाटा हुन् र देशलाई उन्नति र विकासमा लैजाने बाटा हुन् । त्यसैले शान्तिविना प्रजातन्त्र र प्रजातन्त्रविना शान्ति अधुरो र अपूरो सधै भइरहने छ, र देश अवनतिको दिशामा गइरहने छ ।
पृथ्वी नारायण शाहद्वारा स्थापित आधुनिक नेपालको इतिहास हेर्ने हो भने पनि शान्ति र प्रजातन्त्रको स्थापनार्थ नेपालको इतिहासको पाना रक्तरञ्जितले भरिभराउ रहेको छ । भूपि शेरचनले त्यसै यो कविता लेखेका होइनन, “हुदैन विहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मूलुक दुई चार सपूत मरेर नगए ।” नेपालमा २४० वर्ष राजाहरुले शासन गरे । १०४ वर्ष राणाहरुले निरङ्कुश जहानिया शासन चलाए जुन अवस्थामा नेपालमा न शान्ति छायो न प्रजातन्त्रले फल्ने, फुल्ने र फस्टाउने मौका पायो । शोषण, अन्याय र अत्याचार विरुद्ध आफ्नो बलिदानी दिएका लखन थापाको क्रम गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराजको पालासम्म पनि सकिएन, परिवर्तनका सम्वाहक नेपाली युवा र विद्यार्थीहरुको रगतको खोला रोकिएन ।

अन्ततः जनताहरुको शान्ति र प्रजातन्त्र प्रतिको इच्छा र अभिप्साको जनलहरले परिवर्तनका विरोधि, यथास्थितिवादी निरङ्कुश राणा शासनको अवसान सधैको लागि भयो, नेपालको अंधकारपूर्ण १०४ वर्ष कहिल्यै नआउने गरि गयो । हो यहाँ सबैको यही हालत हुन्छ, निरङ्कुश शासन, प्रजातन्त्र र लोकतन्त्रको अगाडि झुक्नैपर्छ, अज्ञानता ज्ञानको सम्मुख लुक्नै पर्छ, अत्याचारी शासकले जनताको हातबाट मृत्युवरण गर्नैपर्छ । जनताको शान्ति र प्रजातन्त्रको चाहना वि.सं. २००७ सालमा गएर पूरा भयो जसको लागि हजारौ नेपाली जनताले आफ्नो जीवन हाँसी हाँसी बलिदान दिए, भावी पुस्तालाई आत्मसम्मान दिए ।
त्यसपछि नेपाली जनतामा दासताबाट मुक्त भएको आनन्द, पिजडाबाट फुत्किएको पन्छी झैं स्वतन्त्र, मानिस भएर मानिस झैं बाँच्न पाउनुको खुसी प्राप्त भयो ।

तर पुनः २०१७ सालमा राजा महेन्द्रले पञ्चायति शासनको नाममा शान्ति र प्रजातन्त्रलाई बन्दि बनाए भने नेपाली जनतालाई कुहिरोको काग बनाए । नेपाल बुद्धको देश भनेर विश्वमै चिनिन्छ, जुन बुद्धले आर्य अष्टाङ्गिक मार्ग, चतुआर्य सत्य, दया, करुणा र विश्व शान्तिको पाठ विश्वलाई सिकाएर गए तर त्यो न नेपाली जनताले अनुभव गर्न पाए न शासक वर्गले नै महसुस गर्न पाए । हुन त राजा विरेन्द्रले वि.सं. २०३७ सालमा नेपाललाई शान्ति क्षेत्र (जोन अफ पिस) भनेर संयुक्त राष्ट्रसंघबाट पारित पनि गरे तर त्यो केवल देखावटीमात्र हुन पुग्यो किनकी नेपाल राष्ट्र र नेपाली संघर्सपूर्ण राजनीति र खिचातानीले गर्दा नेपाली जनताले वास्तविक शान्ति र प्रजातन्त्रको अनुभूति कहिल्यै गर्न पाएनन् । पुनः नेपालमा वि.सं.२०४६ सालमा जनआन्दोलन भयो ।

त्यही जनआन्दोलनले बहुदलिय प्रजातन्त्र र नेपालको संविधान २०४७ दियो । नेपाली जनताहरुले थप अधिकार र थप स्वतन्त्रता पाए भने राजसंस्थाको एकछत्र राजलाई केही हदसम्म न्युनिकरण गर्यो  । नेपाली जनताका छोराछोरीहरुले पढ्न, लेख्न पाए, आफ्नो योग्यता अनुसार कर्मचारीतन्त्रमा माथिल्लो ओहोदासम्म पुगे ।

विकास निर्माणको गति बढ्यो, दुर्गम टाउँहरु सुगम बन्दै गए । उद्योगधन्दाहरु विस्तार भए, विद्यालय, कलेजहरु खुल्दै खुल्दै गए, विकासको गति तीब्र भए । नेपाली जनताले चुनेका प्रतिनीधिहरुले शासन गरे । “ गुणग्राही जहाँ छैन, बेकम्मा छन् उहा गुणी, कौडीको भाउमा मिल्कन्छ, भिल्लका देशमा मणि” भनेझै जब शासकवर्ग नै आफ्नो र आफ्नो दलीय स्वार्थमा लागि भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावाद र पापाचारमा फस्छन् उनीहरुले कहाँ जनताको दुःखलाई सुखमा बदल्न सक्छन् ।

अन्याय र अत्याचारमा पिल्सिएका जनताहरुलाई कहाँ न्याय गर्न सक्छन् ? आफै भेदभावपूर्ण ब्यवहार गरेपछि कहाँ समानताको नारालाई साकार पार्न सक्छन ? गरिब जनता गरिब नै छन्, अछुत अछुत नै छन्, भोको नाङ्गो, भोको नाङ्गो, नै छन् भने कहाँ छ प्रजातन्त्र कहाँ छ शान्ति ? हुम्ला, जुम्लामा बाटो पुगेको छैन, मुस्ताङ मनाङ केन्द्रसंग सञ्चारमा छैनन्, पाँचथर ताप्लेजुङ बत्ती विहिन अन्धकारमा रुमल्लिएका छन् भने गरिब, दलित र जनजातिका बच्चाहरु विद्यालयसम्म पुग्न सकेका छैनन् भने नेपालमा प्रजातन्त्र भएर के भयो ? मृत शान्ति भएर के भयो? आकाशको फल आँखा तरी मरको स्थितिले देशलाई आशैआशको स्थिति निराशामा बदलियो । हात्ती आयो हात्ती आयो फुस्सा भनेझै प्रजातन्त्ररुपी हात्ती आएर नव आशाको किरणलाई फुस्सा पारिदियो ।
बहुदलिय प्रजातन्त्र र नेपालको संविधान २०४७ आएको पाँच, छ वर्ष के वितेको थियो पुनः नेपालको दुर्गम जिल्लाहरु रोल्पा, रुकुम, जाजरकोट, सल्यान लगायतका जिल्लाहरुमा मिति २०५२ फागुन १ गतेबाट पुनः नेपालमा क्रान्तिको आगो दन्कियो । त्राही त्राही, बचाउ बचाउ भन्ने आवाज घन्कियो । नेपाल फेरि युद्धको भूमरीमा फस्यो ।

नेपाली आकाशबाट शान्ति र प्रजातन्त्ररुपी तारा खस्यो । नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपालमा राजतन्त्र, बेथितिपूर्ण बहुदलीय प्रजातन्त्र र सामाजिक मुल्य र मान्यताविरुद्ध शसस्त्र द्वन्दको घोषणा गरे । १० वर्षसम्म माओवादी र सरकार पक्षधर प्रहरी र सेनाको भीषण युद्ध भयो । १३००० भन्दा बढी नेपाली जनताहरु मारिए, १३०० भन्दा बढि मानिसहरु बेपत्ता पारिए, हजारौं जनता आफ्नो जन्मभूमीबाट विस्थापित भए, हजारौं मानिसहरु घाइते तथा अ्ंगभंग भए, सयौ  नारीहरु बलात्कारको शिकार भए, भने लाखांै बाल बालिकाहरु विद्यालय जानबाट बञ्चित भए ।

कतै पूल छैन, कतै गाउँघर छैन, कतै शहर नै उजाडिए भने कतै ब्यारेक नै ध्वस्त पारिए । यस युद्धमा न पूर्ण रुपमा माओवादीले सत्ता कब्जा गर्न सके न सरकारले पूर्ण रुपमा माओवादीलाई दमन गर्न सके । भनिन्छ युद्धमा कसैको जीत हुदैन, जित्नेले पनि अन्ततगोत्वा हारेकै हुन्छ, यही चरितार्थ भयो नेपालको संम्बन्धमा पनि । शान्ति कतै छैन त्यसमाथि वि.सं.२०५८ जेठ१९ गते राजदरबार हत्याकाण्ड भइ राजा विरेन्द्रको सम्पूर्ण बंश नाश पारिएपछि त देशले झन अराजक रुप लियो । सम्पूर्ण अधिकार आफ्नो हातमा लिन खोज्ने ज्ञानेन्द्र सरकार निरंकुश हुन थालेपछि सात राजनीतिक दल र माओवादी एक भए अनि भारतको सहयोगमा २०६२ सालमा दिल्लीमा १२ बँुदे सहमति गरे ।

योजनाबद्ध रुपमा १२ बुँदे सहमति अनुसार काठमाडौंमा ब्यापक जनसागरले राजाविरुद्ध शान्तिपूर्ण जनआन्दोलन गरे जसमा १९ जनाले साहदत प्राप्त गरे । २०६२ र ६३ मा भएको १९ दिने जनआन्दोलनले माओवादी र राजनीतिक दलले दशकौ गर्न नसकेको परिवर्तन गर्न सफल भए । यस घटनाबाट पनि पुष्टि हुन्छ कि परिवर्तन बन्दुकको नाल र क्रान्तिबाट होइन जनता र शान्तिबाट हुन्छ ।

शक्तिको स्रोत बन्दुक र पैसा होइन, शान्ति र जनता हो त्यसैले त भनिन्छ जनताले गरेको शान्तिपूर्ण आन्दोलन पैसा, सत्ता, र बन्दुकले दबाएर दविदैन, दबाउन खोजे, आफै बढारिन्छ । हुनपनि त्यही भयो २४० बर्षे राजतन्त्रको त्यसपछि सदाको लागि अन्त्य भयो । माओवादीले १० वर्षमा गर्न नसकेको परिवर्तन १९ दिनमा भयो त्यसैले शक्ति नै जनता हो र जनता नै शक्ति हो, प्रजातन्त्र पनि जनताकै सहयोगमा फल्ने, फुल्ने र फस्टाउने हो ।

त्यसपछि माओवादी पार्टी र ७ राजनीतिक दलहरु मिलेर सत्ता सम्हाले र विस्तृत शान्ति सम्झौता मार्फत २०६३ सालमा माओवादीहरुले सदाको लागि बन्दुक त्यागे र देश शान्ति र सम्झौताको बाटोमा लाग्यो । नेपालमा प्रजातन्त्रले काचूली फेर्दै लोकतन्त्र र गणतन्त्रको बाटोमा लाग्यो । प्रथम राट्रपतिको रुपमा डा. राम वरण यादव चुनिए भने प्रधानमन्त्रीमा प्रचण्ड ।
आज विस्तृत शान्ति सम्झौता भएको पनि १४ वर्ष वितिसकेको छ । यस विचमा नेपालमा धेरै ठूला परिवर्तनहरु भएका छन् । नेपाल गणतन्त्र हुनु, २ ओटा संविधान सभाको शान्तिपूर्ण निर्वाचन हुनु, देशले महिला राट्रपति र सभामुख पाउनु, नेपाली जनताले चुनेका प्रतिनीधिबाट नेपालको अन्तरिम संविधान २०६३ र २०७२ सालको संविधान निर्माण हुनु, समाबेशी सभासदहरु संविधान सभामा पुग्नु, दलित, मधेसी, जनजाति, अल्पसंख्यक र पिछडावर्गहरु राजनीतिक मूलधारमा आउनु जुन हेर्दा लाग्छ असम्भव तर जनताले चाहेमा कुनै पनि परिवर्तन असंभव छैन भन्ने यो जतिको गतिलो उदाहरण विश्वलाई नेपालले नै दियो ।

जसरी बुद्धलाई एसियाका ज्योति र शान्तिका अग्रदुत भनेर चिनिन्छ त्यसैगरि नेपाली जनता शान्तिप्रिय छन् र नेपालीले शान्तिको सन्देश विश्वमा फैलाइरहेको छ र निरन्तर शान्तिको लागि नेपाललाई सम्झिनेछ भन्ने सन्देश नेपालले विश्वलाई दिएको छ ।
२०७२साल बैशाख १२ र २९ गते गएको महाविनाशकारी भुकम्पले मर्माहत भएका नेपाली, ३ महिना लामो भारतीय नाकाबन्दी र मधेश आन्दोलनले प्रतााडित र आहत भएका नेपालीलाई केही हदसम्म २०७२ साल अशोज ३ गते जारी भएको संविधानले निराशाको बादल हटाइ आशाको किरण फैलाएको छ ।

वि.सं. २०७४ सालमा भएको संसदीय निर्वाचनमा ने.क.पा. माओवादी र ने.क.पा.एमालेले आ ( आफ्नो पार्टीलाई विलय गराई नेपाल कम्युनिष्ट पार्टी गठन भइ देशभर एकताको माहौल बनाई चुनावी मैदानमा उत्रिए । जनताहरुले पनि भारी मतका साथ ने.क.पा.लाई बहुमतले विजयी गराए । एकता नै बल हो भन्ने सन्देश ने.क.पा.ले नेपालमा प्रस्तुत गरेर देखाइदिए । नेपालको इतिहासमै पहिलो पटक के.पी. ओलीको नेतृत्वमा पाँच वर्षको लागि स्थायी दीगो सरकार बन्यो ।

जनताहरुले सोचे अब त पक्कै देशले विकासनिर्माण, शान्ति र समृद्धिको दिशामा छलाङ मार्छ । देशमा दिगो शान्ति र अमनचैन कायम हुन्छ । तर सरकार गठन भएको ३ वर्षमै सरकार ढल्ने स्थिति पैदा भयो । प्रचन्ड पक्षधर र ओली पक्षधरको गुटबन्धि, ब्यक्तिगत स्वार्थ, सरकार्य र सहमतिको अभावमा ने.क.पा भित्र दरार फट्यो । भाइ फुटे गवार लुटे भनेझै आफ्नो खुट्टामा आफैले बन्चरो हाने ।

फेरि देशमा असन्तुष्टिको आवाजहरु उठ्न थालेका छन् । आफ्नै दलको विरुद्ध एक अर्कालाई मार्न उद्दत देखिन्छन् । यस्तो स्थितिमा नेपाललाई सधै युद्धको मैदान बनाइ आफ्नो स्वार्थ पूर्ति गर्ने तत्वहरुले टाउको उठाउन थालेका छन् । यस्तो स्थितिलाई पुन एकता र भाइचाराको स्थितिमा लान नसके फेरि देश युद्धको भुमरीमा नफस्ला भन्न सकिन्न ।
देश शान्ति, प्रजातन्त्र, विकासनिर्माण, संवृद्धि र अग्रगमनमा लम्किन खोज्दैछ तर पनि केही असन्तुष्ट मधेशी दल, माओवादीका चोइटिएका धार, जनजातिका दलहरु, राजावादीहरु, संविधान र संघियताप्रति असहमति जनाउदै आन्दोलनरत छन्, तिनीहरुको जायज मागलाई सरकारले समयमै सम्बोधन नगरे पुनः नेपालमा अशान्तिको आगो दन्किनेछ, फेरि मुुलुक मारकाट, हत्याहिंसा र अराजकको बाटोमा लम्किनेछ, भर्खर पलाएको शान्ति र प्रजातन्त्रको सुखद अनुभूतिमा तुषारापात र बज्रपात चल्नेछ अनि फेरि सरकार भताुभुङ्ग हुनेगरि ढल्नेछ, अनि फेरि लागु हुनेछ यो उखान( “ कुवाको भ्यागुता जति उफ्रेपनि कुवामै खस्ने हो ।”

त्यसैले आज हामी नेपाली सम्पूर्ण जनताहरु पुनः जाग्ने बेला आएको छ, शान्ति प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न एकजुट हुने र नेतृत्व वर्गलाई दबाब दिने समय आएको । गाउँगाउँबाट, बस्तीबस्तीबाट उठी जनताको चाहना बमोजिमको संघियता र संविधान बनाउन र परिमार्जन गर्न लगाउनुपर्छ ।
युद्ध राम्रो र शान्ति नराम्रो कहिल्यै हुन सक्दैन । शान्तिले नै प्रजातन्त्र बलियो र संस्थागत हुने हो । हामी सबै जनताहरु मिलेर शान्ति र प्रजातन्त्रलाई दिगो बनाउनु छ । शान्तिप्रिय देश नेपाल भनेर विश्वमा नाम कमाउनु छ । नेपालमा भएका स्रोत र साधनको समुचित प्रयोग र परिचालन गरी औधोगिक क्रान्ति ल्याइ बिदेसिएका नेपाली जनताहरुलाई नेपालभित्रै आकर्षक रोजगारी दिलाई देश समृद्ध बनाउँनुछ । चन्द्र छुने लक्ष्य समाउनु छ अनि जप्नुछ यो मन्त्र( “ ॐ असतोमा सद्गमय, तमसोमा ज्योर्तिगमय, मृत्र्योमा अमृतम् गमय । ॐ शान्ति, शान्ति, शान्तिही……… ।

(नगरकोटी  बु.न.पा. ११, जगडोल निवासी हुन्  )

तपाइँको प्रतिक्रिया ।