परदेश किन ? : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं ,माघ १७।

 

१. हिमशैल चुली लहरा पहरा छहरा
सबबाट विदा कसरी लिनु बन्न बरा
अब भाइ यतै गर काम बसी घरको
किन गर्नु सधैँ सपना जपना परको ।

२. श्रम फुल्दछ यैँ सुनझैँ परदेश कता ?
बरु बेच्दछु मै बिजुली भन भाइ म ता
झलमल्ल हुने घर नै ममता छ भने
सुख स्वर्ग छ यै घरमा समता छ भने ।

३. प्रिय दूर गए कसरी रहलिन् जननी ?
रिपु पस्दछ झन् घरमा कसरी सहने ?
पहिचान ढले धनले पनि दिन्छ र के ?
वय बित्छ उतै घर कुर्छ बसी कसले ?

४. भय छैन यहाँ सब भाइ तथा बहिनी
भर खेत गरा घरमा दुख भो नभनी
परिवारसँगै नरहे सुख शान्ति कता ?
कति सुन्नु अहो ! परका घटना ननिका ?

५. जय गान कहाँ ? अपमान छ साँध मिची
जब हुन्न युवा तब खोज्दछ पेल्न थिची
छ तिमी रहँदा घर यो दरिलो भरिलो
किन हैन भन्यौ ? भर दिन्छ जुवा र हलो ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।