प्रभु ! मेरो बचपन फर्काइदेऊ :राजेश आधिकारी (कविता )

प्रभु ! मेरो बचपन फर्काइदेऊ :राजेश आधिकारी (कविता )

कपन अनलाइन

काठमाडौं ,मंसिर १३।

लगौंटिया साथीहरुसँग बरालिदै
हातमा गुलेली अनि
कट्टुका इँजारघर भरी
कमेरे मट्यांग्रा बोकेर
उन्मुक्त अल्लारे भै
डाँडा पाखा अनि बन फाँट
चहार्दाका ती स्वप्निल स्मृतिले
चस्काई रहँदा, झस्काई रहँदा
मिठो सपनामा हराउन पुग्छु
बितेका ती मधुपलहरु सम्झदै
कुत्कुती र भावुकता बिच
घरीे भक्कानिन थाल्छु
घरीे मुस्कुराउन थाल्छु
लुटेरा बर्तमान ! मेरो अतित नखोसिदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ

स्वर्णिम बालापनका पलहरुमा
खोलाका दहहरुमा निर्वस्त्र पौडेर
स्वर्गानन्दिय शितलता लुटियो
आमाका सुर्के थैली र सन्दुकबाट
संचित द्रब्य लामोहात गरेर
खोपी र गुच्चामा उडाइयो
खोला र वनबिहारमा बरालिएर
शानले खिर्रोपाते पान चपाउँदै
बडोपनको सुखानुभुती गरियो
नाङ्लाको कुँडुले बाहनलाई
छाताको घुंग्रे करङले ठेलेर
सिँगाने ओठले सीटी फुक्दै
गाडी कुदाई खेल खेलियो
निश्ठुरी बिपना! मेरो सपना घुराइदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ

झुम्रे गोल, गुच्चा, पाङ्रा
अनि डन्डिबियो खेलाईमा रमेका
मेरा चन्चले बाल्यकालहरु
अनिच्छामै शान्त बनिदिए
बुबु, लिटो र मामका स्वादहरुमा
भिजेको मेरो लपलपे जिब्रो
नअघाई भोको बनिदियो
अबोध चकचकमा रमाउने
मेरो धुन्धुकारी बालकपन
रहरै नपुगी भद्र भैदियो
हिलोमाटोमा नांगैभुतुंगै खेल्ने
मेरो निर्लज्ज बालत्व
परिबन्दको दास भैदियो
तानाशाह समयचक्र ! मेरो अतित फर्काइदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ

ढाकाको पेटे भोटोभित्र धड्किने
नटखट बाल धड्कनहरु अनि
कटकटे नाक र लिसे जुल्फी लिएर
फुत्रुङ फुत्रुङ हिड्दै खोपिएका पदचापहरु
समयको तुफानले मेटाइसके
लाड्प्यारको कवच पहिरेर
तोते बोलिले संसार मागेर
पाएको त्यो बरदानी क्षणले
मलाई बिदाई गरिसक्यो
घुर्क्याईको अचुक अस्त्रले
मागहरुलाई तारो हानेर
लक्षभेदित ती सुखद पलहरु
मेरो हिरासतबाट भागिसके
कठोर बिपना ! मेरो सपना नलुटिदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ

भगवानले मसँग भिक्षा मागे
म उनिलाई निसर्त
समय यात्राको भिख दिन्थें
जुन वरदानी दातव्यमा
एउटा बृद्द यात्राी रथ चढेर
बाल्यकालिन संसारमा पुग्न सकोस
त्यो ऐस्वर्य कालखन्डमा
चिन्तारहित खुशीको धुले आँगनमा
लडिबुडी गर्दै खेल्न पुगोस
त्राशरहित बिपनामा पनि
स्वप्निल यथार्थताको खुशीमा रमोस
मात्रृस्तनको अमृत पानसँगै
लोरी सुन्दै निदाउन पाओस
समय सारिणी ! कृपया उल्टो घुमिदेऊ
हे प्रभु! मेरो बचपन फर्काइदेऊ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।