गजल : बसन्ता बराल

कपन अनलाइन

काठमाडौं ,मंसिर १३।

चामल रहेछ अन्तै, पीठो बजारमा छ
दौडिन्छ पाइताला, टीका निधारमा छ ।

गुण हुन्न सुन्छु जसको, उसकै हुँकार ठूलो
बेसार लाग्छ आफ्नै सस्तो प्रचारमा छ ।

बग्दो नदी छ उस्तै, आफ्नै छ वेग उसको
यो छाल वेग आफ्नो, भुल्दै किनारमा छ ।

जित्ने छँदैछ कछुवा, हार्दैछ यो खरायो
लम्की रहेछ हात्ती, घोडा हतारमा छ ।

दीयो बलेको चम्की निभ्ने भएर बेला
हो, मृत्यु आइसक्यो युगको सँघारमा छ ।

मुर्दा जलाउने नै आदत बनेछ उसको
मर्दैछ आज दुनियाँ, चीता तयारमा छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।