करेलाको तरकारी र निमको अचार : शालिग्राम ढकाल
कपन अनलाइन
काठमाडौं, असोज १२।
करेलाको तरकारी,
निमको अचार
जिब्रोले छोएपछि तीतो लाग्छ,
तर शरीरले बुझेपछि औषधि बन्छ ।
सायद सत्य पनि यस्तै रहेछ
सुन्दा तीतो,
भोग्दा कठोर,
तर आत्मामा पसिसकेपछि
मानिसलाई मानिस बनाउने औषधि ।
आजको यो ब्रह्माण्ड हेरूँ
आकाशमा ताराहरू उस्तै छन्,
चन्द्रमा उस्तै शीतल छ,
सूर्य उस्तै आगो बोकेर उदाउँछ;
तर मानिसको मनचाहिँ
कति बदलिएको छ !
हामीले मिठासको बजार सजाएका छौँ,
झूटलाई सुगन्ध लगाएका छौँ,
स्वार्थलाई प्रेमको नाम दिएका छौँ,
र सत्यलाई
करेला सम्झेर
थालको कुनामा पन्छाएका छौँ ।
हामीलाई गुलियो कुरा चाहिन्छ,
गुलियो प्रशंसा चाहिन्छ,
गुलियो भ्रम चाहिन्छ
तर कसैले
निमको अचारझैँ
तीतो सत्य हाम्रो सामु राखिदियो भने
हामी ऐनासँगै रिसाउँछौँ ।
करेला तीतो छ भनेर
करेलाले आफ्नो धर्म छोड्दैन ।
निम तीतो छ भनेर
निमले औषधि हुन अस्वीकार गर्दैन ।
तर मान्छे
मान्छेचाहिँ कहिलेकाहीँ
सत्यभन्दा मीठो झूट रोज्छ,
आत्माभन्दा ठूलो अहंकार रोज्छ,
र जीवनभन्दा ठूलो
देखावटी संसार रोज्छ ।
यो ब्रह्माण्डको अन्तहीन यात्रामा
हामी सबै यात्री हौँ
कोही धन बोकेर हिँडेको छ,
कोही पद बोकेर,
कोही नाम बोकेर,
कोही घमण्ड बोकेर ।
तर अन्तिम साँझ
जब सबै परिचयहरू
आकाशको धुलोजस्तै उडेर जानेछन्,
त्यतिबेला बाँकी रहनेछ
हामीले कति सत्य बाँचेका थियौँ,
कति मन बचाएका थियौँ,
र कति आँसु
अरूको आँखाबाट पुछेका थियौँ ।
त्यसैले,
आज फेरि भान्सामा करेला पाक्न देऊ,
निमको अचार सँगै राख्न देऊ ।
जिब्रोले तीतो माने पनि
मनले सत्य चिन्न सकोस् ।
किनकि
मिठो झूटले केही क्षण
हामीलाई हँसाउन सक्छ,
तर तीतो सत्यले
सम्पूर्ण जीवन बचाउन सक्छ ।
करेलाको तरकारी
निमको अचार
यी केवल स्वाद होइनन्,
समयले दिएको एउटा मौन शिक्षा हुन्
“तीतो भएर पनि सत्य बन्नू,
एक्लो भएर पनि सत्यमा उभिनू;
किनकि यो विशाल ब्रह्माण्डमा
सबैभन्दा दुर्लभ स्वाद
सत्यको स्वाद हो ।”
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
