निष्ठुरी आँधीबेहरी र जलप्रपात : प्रमोद नेपाल ( कविता )
कपन अनलाइन
काठमाडौं, असोज १२।
बगैँचाभरि मुस्कुराइरहेका
थरीथरीका ती अनगिन्ती फूलहरू
अकस्मात आएको
निष्ठुरी आँधीबेहरी र जल प्रपातले
क्रुरताको हद पार गर्दै
कलिला कोपिलासहित चुँडेर लग्यो ।
क्षणभरमै सोत्तर भए ती बोटबिरुवाहरू
झरेका पत्रहरूमा रोइरहेथ्यो प्रकृति
अहिले त केवल बाँकी छ त्यहाँ,
एउटा उराठलाग्दो र उजाडिएको बारी ।
हरे ! मगमग सुवास छरिरहने
छपक्क फुली धर्ती नै शोभायमान पार्ने
हेर्दा मनै लोभ्याइरहने
सानातिना झोक्काहरूमा पनि अडिग रही
ऊर्जावान् बनी चेतना बाँडिरहने
जातजातका ती सुकुमार फूलहरू !
खै, कसको कुदृष्टि लागेर यो स्वर्गमा
समयको बेगवान् र निर्दयी हावाहुरीले,
अँध्यारो दिशातिर
कता हो कता उडाएर लग्यो !
फुलेका डालीहरू देखेर आनन्द मान्ने
थोरै माथिको त्यो सल्लाको रुख
अचेल टोलाइरहन्छ
त्यहीँ रहेको धुपिको रुख पनि
उदास देखिन्छ गुमेको बगैँचा सम्झेर,
तर आँधीको यो ताण्डव सधैं रहिरहने छैन,
न त यो उजाडपन नै शाश्वत सत्य हो ।
झरेका केही फूलहरू हिलोमा बिलाए पनि,
बलिया जराहरू अझै जीवितै रही
धैर्यताको काखमा श्वास फेर्दैछन् होलान्
र, हिलोले छोपेका बोटहरू
उचित समयमा
आँधीबेहरीको क्रुर प्रहारलाई चिर्दै
भोलि फेरि नयाँ पालुवाहरू पलाउने
विश्वासमा छन् होलान् ।
एउटै उस्तै समय
सधैँ कहाँ रहन्छ र ?
विश्वास छ यो भग्नावशेषबाटै
पुनर्जन्म हुनेछ
अति सुन्दर फुलबारीको
अनि,
फेरि एकपटक
रङ्गीचङ्गी फूलहरूले सुवासित हुनेछन्
वरिपरिका वातावरण
बिल्कुलै फरक र नौलोपनको आभाष दिँदै ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
