परदेशमा असारे गीत : त्रिलोचन आचार्य (कविता )

परदेशमा असारे गीत : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन 

काठमाडौं ,असार २७।

छुपुछुपु धान, रोप्ने बेला छायो, फेरि आयो असार
साना लालाबाला, बुढा आमाबाबा,आफु यता कतार
हलगोरु नारी, छेउभित्ता गरी, खेत जोत्ने कसोरी ?
सधैँ साहुले पिर्ने, घरको रिन तिर्ने, भन्दै आइयो यसोरी ।

वल्लापल्ला घरको, पालो पर्म चल्थ्यो, अब ता को आउला र ?
सबै विदेश धाए,शून्यताले छाए, खेताला को पाउला र ?
सम्झना छन् धेर, पोहोर परारतिर, बेठी बाजा घन्कन्थ्यो
भोटो कछाड कसी, खेतको डिलमा बसी,असारे गीत रन्कन्थ्यो ।

साथीभाइ जोडी, छाता घुम ओडी, गाउँदेखि झरिन्थ्यो
मंसिरमा आउला, मुरी मुरी धान,भन्दै बाउसे गरिन्थ्यो
ऐले गर्दा काम, मेशिनझैँ बनी, सम्झनाले सताउँछ
घरको चिल्लिबिल्ली, नजरमा आउँदै, जैल्यै टाउको तताउँछ ।

परदेशआइयो, हण्डर खानु खाइयो, भने नि को सुन्छ र ?
खालीभयो गोठ, बाँझै रह्यो खेत, मनमाशान्ति हुन्छ र ?
लाउरी भैँसी छैन, हलगोरु छैन, व्यवहार के ले टार्दा हुन् ?
असारको पन्ध्र, छैन दहीचिउरा, बाले आँसु झार्दा हुन् ।

खेतै बन्धक राखी, विदेश गयो छोरो, कैले फर्की आउँने हो ?
राम्रो कामपाएको, छ कि छैनहोला, न वादुःखपाउने हो
यतै बस्नु पर्थ्यो , सबै काम सर्थ्यो , हाम्रो आधार हरायो
भन्दै होलान् बाबा, रुँदै होलिन् आमा, मेरो मनै डरायो ।

भोकले यताल्यायो, रोगले कता लान्छ, कोरोनाको व्याधी छ
गरिबिको नासो, विपत्तिको पासो, जताततै आँधी छ
मिच्दै पीर व्यथा, मोड्दै जीवनकथा, फर्केर त्यै खनिन्छ
हिँडेर त्यै बाटो, कोरेर त्यै माटो, आत्मनिर्भर बनिन्छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।