मैले बुझेको योग !
कपन अनलाइन
काठमाडौं ,असार १३/गोविन्दशरण उपाध्याय
अथ योगानुशासन् (अर्थात् योग अनुशासन हो भने बाक्यबाट महर्षि पतञ्जलिले करिव २८०० वर्ष अगाडी लेखेको योगसूत्र आरम्भ हुन्छ । चार अध्यायभित्र केवल १९५ सूत्रमा रहेको यो सानो पुस्तक आज विश्वले चासो राख्ने रचना बनेको छ ।
दर्शन, मनोविज्ञान तथा स्वास्थ्य विज्ञानको यो अपूर्व ग्रन्थले धेरैलाई प्रेरणा दिएको छ । योगमा रुचि राख्नेहरूले योग सूत्रका विषयमा जानेको राम्रो हुन्छ ।
कमसेकम महर्षि पतंजलिका स्वदेशी हामी बन्धुहरूले योगदर्शनमा आफ्नो स्वामित्व खोज्नुपर्छ । महर्षि पतञ्जलिको जन्म हाल नेपालले चर्चेको प्राचीन हिमवतखण्डमा भएको थियो भन्ने प्रमाण संस्कृतका प्रकाण्ड विद्वान प्रा.डा. विष्णुराज आत्रेयले प्रस्तुत गरिसकेका छन् । योग दर्शनमा इन्डियाको बलमिचाईको बौद्धिक प्रतिवाद गर्नु पर्छ ।
मैले आफ्नो व्यक्तिगत जीवनमा बर्तुन गरेपछि यम, नियम, आसन, प्राणायाम तथा ध्यानको अभ्यास पिताजीसंग गरेको हुँ । दैनिक तीन पटक सन्ध्या गर्दा हरेक दिन नुहाउनै पर्ने यम, झूटो बोल्न नपाइने नियम, सन्ध्या गर्दा १२ पटक सूर्य नमस्कार गर्नै पर्ने (आसन), सन्ध्या गर्दा नाक समातेर गर्नै पर्ने प्राणायाम आदिको अभ्यास गरेको छु । पिताजीको गुरुकुलका सबै विद्यार्थीले दिनको तीन पटक यी अभ्यास गर्नै पर्थ्यो ।
योगका आठै वटा अङ्ग नजानिँदो तरिकाले जीवनको दैनिकीसँग जोडिएको थियो ।
हामीले योगसूत्रका विषयमा कत्ति पनि नजानेर पनि योगका आठवटै अङ्गहरूको अभ्यास गरिरहेका रहेछौं । प्रत्याहारको अभ्यास त हाम्रो प्रकृतिले नै गराउँथ्यो किनभने तेहा आधुनिक असन्तोष स्वधर्म, संस्कृति, संस्कार र सनातन धर्मप्रतिको गौरव उच्चतर रूपमा जीवित थियो । वेदका मन्त्रहरू घोकेर कण्ठस्थ गर्नु धारणा थियो भने कण्ठस्थ भएका ऋचाहरू तन्मय भएर गाउँदा संसार बिर्सने स्थिति समाधिको अभ्यास थियो । पछि, विश्वविद्यालयले मभित्र भरिदिएको दिएको ‘प्रगतिशीलता’ले उपरोक्त अभ्यासहरू त्याग्न लगायो । तर अहिके पुनः तेही ठाउँमा फर्किने प्रयत्नशील छु ।
हिजो विश्व योग दिवस मानियो । वैदिक संस्कृतिको अनन्य अङ्ग ‘योग’ विश्वव्यापी बनेको छ । हामीले गर्व गर्नुपर्छ । प्रचार–प्रसारका दृष्टिकोण राम्रै हो तर जसचाहिँ केवल इन्डियाले लिएकोछ ।
आजको विश्वले योगको अर्थ आसन अर्थात् हठयोग, श्वासप्रश्वासको अभ्यास अर्थात् प्राणायाम, ध्यान अर्थात् एकाग्रताको अभ्यास र समाधिको अभ्यासका रूपमा गर्छ र यसै गरी बुझाइएको छ । आसन, प्राणायाम र ध्यान योगका यी तिनवटा अङ्गलाई नै आजको विश्वले योग भनेर चिन्छ । यम अर्थात् अहिंसा, सत्य, ब्रह्मचर्य, अस्तेय तथा अपरिग्रको अभ्यास गर्न चाहन्न ।
अर्को शब्दमा आजका योगीहरूले योगको उपयोग र प्रयोग शारीरिक स्वास्थ्यका लागि मात्र उपयोग गरिरहेका छन् । योगदर्शनको पहिलो सिंडीलाई आजको सभ्य–समाजले ‘मानवाधिकार’ विरुद्ध ठान्छ । ब्रह्मचर्यलाई संस्कृत ठान्छ न अहिंसालाई अमहत्वपूर्ण ठान्छ । व्यक्तिगत सुखका लागि अधिकतम भौतिक साधनहरू जोड्ने र अर्काबाट दान लिएर ठूलाठूला आश्रम बनाउने, चिल्ला गाडीहरू चढ्ने, मन गढ़ंते योगिक सिद्धान्तहरू प्रतिपादन गरेर मनमुखी योग सिकाउनेहरू ‘ठूला’ योगी बनेका छन् ।
अब दोस्रो नियमको कुरा गरौँ (नियममा शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वर प्रणीधान) छ बटा क्रियाको अभ्यास गर्नुपर्छ ्र नुहाउनु मात्रै पवित्रता होइन । बढ्दो असन्तोष, शारीरिक तथा मानसिक तपस्याप्रति उदासीनता, स्वाध्यायका तुलनामा रेडिमेड ज्ञान खोज्ने मानसिक प्रबृत्ति र बढ्दो भौतिकवादले योगदर्शनको पहिलो र दोस्रो सोपानलाई ‘अनावश्यक’ बनाएको छ ।
आजको योगभित्र यम र नियम अटाउँदैन । मान्छेहरू न यम चाहन्छन् न नियममै आवद्ध हुन चाहन्छन्, सीधै समाधि प्राप्त गर्न चाहन्छन् । त्यसो नहुँदा ‘योग’ काल्पनिक हो भन्दै ‘प्रगतिशील’ बन्छन् । योगी बन्नु छ तर यम र नियम अस्वीकार्य छन् ।
आजका मान्छेहरू सबैथोक रेडिमेड चाहन्छन् । मान्नैपर्छ (आसन अर्थात् योगको तेस्रो सिंडीका साधकहरूको संसार व्यापक भएको छ । यम र नियम दूवै सिंडी छोडेर तेस्रो अर्थात् आसनमा उफ्रनेहरू थुप्रै छन् । पश्चिमाहरू र पश्चिमाहरूका मानसिक सन्तान नेपाली तथा इन्डियनहरूले आसनको प्रयोजन ‘स्वास्थ्य शरीर र अधिकतम सेक्स पावर’ बढाउने प्रभावकारी साधनका रूपमा बुझेका छन् । सायद, यस्तै भएर होला आसन लोकप्रिय पनि बनेको छ ।
साच्चिकै भन्ने हो भने आजकल योग भनेकै ‘आसन’ भएको छ । ध्यान प्राणायाम आसनका सहयोगी क्रियाकलापमा रुपान्तरित भएका छन् । अर्थात् योगका सबै क्रियाकलापहरूलाई ‘आसन’ले थिचेको छ ।
हिजोका दिन सामाजिक संजालमा ‘आसन’ गरिरहेका फोटोहरू खिचेर ‘योग’ भन्दै राखेको देखिन्छ । आसन समग्रयोग साधनाको तेस्रो सिंडी हो भनेर कसैले लेखेन । मान्छेहरूलाई आसन प्रिय छ तर यम, नियम, प्रत्याहार, धारणा प्रिय छैन । आसन योग हो तर समग्र योग पटक्कै होइन । मन र नियमको अभ्यास नै सम्पदान गरेको आसनले धर्म तथा मोक्षको साधनामा सहयोग गर्दैन तर शारीरिक काम र अर्थाजनलाई अवश्य सघाउँन सक्छ।
योगको विस्तारसंगै प्राणायामको महत्व पनि बढेको छ । श्वासप्रश्वासका अनेकौं विधिहरू विकसित भएका र गरिएका छन् । तर योगदर्शनले तीन प्राणायामको तीन प्रकार वारे मात्र चर्चा गरेको छ (पूरक, कुम्भक र रेचक अर्थात् स्वास भित्र तान्ने, रोक्न सक्ने जति रोक्ने र अनि छोड्ने । गीताले पनि यही क्रमको व्याख्या गर्छ भने सन्ध्यावन्दन गर्नेहरूले नाक समातेर गर्ने प्राणायामले पनि यही सूचित गर्छ ।
प्रत्याहार अर्थात् ज्ञान इन्द्रीय र कर्म इन्द्रीयहरूको प्राकृतिक स्वभावलाई नियन्त्रण गरेर अन्तरमुखी बनाउनु । अन्तरमुखी बनाउनुको अर्थ हो इन्द्रीयहरूको खटन नमानेर आफ्नो खटनमा इन्द्रीयहरूलाई राख्नु ।
आजको मान्छेले ‘नियन्त्रण’ गर्नुलाई आफ्नो स्वतन्त्रताको हनन ठान्छ । विज्ञानमा सफलता चाहनेले विज्ञानका नियमहरू पालन गर्नुपर्छ तर आधुनिकतावादीहरू कुनै पनि नियमहरू पालन नगरी योगी बन्न चाहन्छन्, विश्व ब्रह्माण्डलाई आफ्नुभित्र प्रतिविम्वित गर्न चाहन्छन्, यम, नियम, आसन, प्राणायाम, प्रत्याहार धारणा र सातौं अवस्था अर्थात् ध्यानको अवस्थामा पुगेका बालक ध्रुवले ध्यानमग्न भएर प्राणायाम गर्दा विश्वब्रह्माण्डको प्राणवायु रोकिएको थियो । हामी चमत्कार चाहन्छौं तर चमत्कारी अवस्थामा पुग्नका लागि योगदर्शनकारले बताएका नियमहरू पालन गर्न चाहन्नौं ।
आजको योगा (योग) एस्तो बनेको छ : यम पालना गर्न सकिन्न, नियम मानवाधिकार विरोधी छ, आसन चाहिने गर्नुपर्छ, प्राणायाम पनि उपयोगी छ, प्रत्याहारको पालना गर्यो भने मान्छे खुसी वा सुखी हुनै सक्दैन, धारणा पुरानो जमानाको कुरा हो अहिले गुगल छ, ध्यान उपयोगी तर समाधि काल्पनिकता हो । समग्र योगको कुरा गर्नेहरू अप्रगतिशील ठहरिन्छन् ।
असलमा समग्रयोगको अभ्यास क्रमशः यमदेखि लिएर खुड्कीला चढ्दै समाधिसम्म पुग्नुपर्छ । जम्प गरिएको योगिक अभ्यास क्षणिक सुख दिने वाला त हुन्छ तर धर्म र मोक्ष साधनाका लागि उपयोगी हुँदैन । शरीरका लागि जीवित रहनेवालहरूका लागि आसन, प्राणायाम र ध्यान उपयोगी छ तर जुन शरीर, मन तथा आध्यात्मका अमृत हुन चाहन्छन् उनीहरूले योगदर्शनका हरेक सिंडीहरू क्रमशः चढ्नुपर्छ ।
यो अनुक्रम निम्न प्रकारको हुन्छः –
– समाधि (अर्थात् ईश्वर प्राप्ति)
– ध्यान
– धारणा
– प्रत्याहार
– प्राणायाम
– आसन
– नियम
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक