“एक मुठी घाम “प्रकाशित

“एक मुठी घाम “प्रकाशित

कपन अनलाइन

काठमाण्डौ,बैशाख २०।

इन्द्रकुमार श्रेष्ठ सरित् विगत साढे चार दशकदेखि कवि, कथाकार, उपन्यासकार र गीतकारको रुपमा स्थापित अनि चर्चित स्रष्टा हुन् । सरित् साहित्यिक पत्रकारिता र सम्पादन कर्ममा पनि सकृय छन् । उनै स्रष्टा सरित्को समग्रमा पन्ध्रौं र विधागत हिसावले लघुकथाको भने पहिलो कृति ‘एक मुठी घाम’ हालै प्रकाशित भएको छ ।

डाइनामिक बुना इन्क र ब्लाइन्ड कोप्र्स (सियाटल, अमेरिका) द्वारा प्रकाशित यस लघुकथासङ्ग्रहमा सरित्का ४१ थान लघुकथाहरु सङ्ग्रहित छन् । सङ्ग्रहमा संग्रहित अधिकांश लघुकथाहरु समसामयिक राजनीतिक परिवेशमा लेखिएका छन् । राजनैतिक परिवर्तन, जनताका अपेक्षा, महंगी, भ्रष्टाचार, बेथितिमाथि नै अधिकांश लघुकथाहरु केन्द्रित छन्भने देशमा विद्यमान भ्रष्ट राजनीति र भ्रष्ट नेताहरुको पनि उछितो काढिएको छ ।

त्यसबाहेक जनतामा देखिएको चरम निराशा र जनताले नयाँपनको अपेक्षा गरेका कथाहरु पनि छन् । विशेषतः सरित्का लघुकथाले २०४६ सालको परिवर्तनदेखि गणतन्त्रसम्मको समयावधिलाई बोलेको छ जहाँ नेपालको सन्दर्भमा विचार, आस्था, परिवर्तन, चाहना र परिणतिका विविध तस्विर देख्न सकिन्छ ,। आख्यानकारको परिचयमा स्थापित स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित्को यस कृतिमा प्राडा गोपीन्द्र पौडेल र कथाकार नारायण तिवारीको भूमिका रहेको छ ।

लघुकथा के हो ? र, कस्तो हुनुपर्छ भन्ने विषयमा प्राडा पौडेलको गहन भूमिका रहेको छभने नेपाली साहित्यमा लघुकथाको विकासक्रमको बारेमा कथाकार तिवारीको भूमिकामा उल्लेख गरिएको छ। सरल भाषा, आकर्षक शैली र समसामयिक विषयवस्तुको छनौट गरेर लेखिएका कथाकार इन्द्रकुमार श्रेष्ठ सरित्का एक्चालीस ओटा लघुकथाहरुको सङ्ग्रह ’एक मुठी घाम’ पाठकमाझ आइसकेको छ । यस सङ्ग्रहलाई पाठकहरुले पक्कै पनि रुचाउने छन् भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।