झट्ट जा ! (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १७ / त्रिलोचनआचार्य
न छो त्यो हातले हाम्रीआमाको हात जा पर
न आ नजिक बिस्तारै तँ गर्छस् घात, जा पर
जा छिमेकी उसै पस्छन् यता के हेर्न ? जा पर
जा त्यो नाटक चल्दैन के खोज्छस् चोर्न ? जा पर ।
जा आफ्नै खोरिया खन्नू साँध भन्दा उतै तँ जा
पस्लास् आँखा छली भित्रै, यता हैन उतै तँ जा
जा उतैबाट सुनिन्छ जे छ भन्नु बताइदे
जा विश्वास टुट्यो तेरी आमालाई सुनाइदे ।
देखिनस् साँधको ढुङ्गो ? किन नाग्छस् ? परै तँ जा
नसोधी घर अर्काको पस्नु हुन्न, घरै तँ जा
बुढापाकाहरूलाई सोध्नू रीति खुरुक्क जा
जान्न भन्छस् अझै, टिप्दै फालिद्युँला, जुरुक्क जा ।
मिच्छस् यताउता हेर्दै छेउ–कुनाथपक्क, जा
चिमोट्छस्, चस्स फेरि त्यो घाउ दुख्छ चसक्क, जा
छाला यो वीर पुर्खाको, च्यात्न दिन्न किमार्थ जा
भाँडभैलो गरे शान्ति भङ्ग हुन्छ तसर्थ जा ।
जा जा अमर भक्तिका नाती जाग्लान् लुकेर जा
कूदृष्टि कहिल्यै राख्ने छैन भन्दै झुकेर जा
कोर्यौ रगतले नक्सा माटोमाथि सुनेर जा
लुटेको धनले कैल्यै भलो हुन्नबुझेर जा ।
जान्नस् भने निकालेरै ठोक्छौँ पर्खाल टन्न जा
माटो यो शत्रुले टेक्दा धेरै दुख्छ सहन्न, जा
कालीपारी उतैको पो रहेछ नि ! तँ भन्न जा
गर्छन् भाइउतै रोप्ने गोड्ने टिप्ने, तँखन्न जा ।
लिपु र लिम्पिया रुन्छन्, छाती यो दुख्छ पोल्छ जा
फर्की जा घर गै पढ्नू सुगौली सन्धि बोल्छ जा
जा जा कपटले छाती खुल्दै–खुल्दैन, सट्ट जा
जा भाइ झूटको बालीफल्दै–फल्दैन, झट्ट जा ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक