सेन्टमेरिजको लुट्ने काइदा
कपन अनलाइन
काठमाडौँ,पुस ४ । नेपालमा क्रिश्चियन मिसनरीले सञ्चालन गरेको सेन्टमेरिज कुनै बेला नेपालको शिक्षा क्षेत्रमा नाम कहलिएको स्कुल थियो । जावलखेलस्थित यस स्कुलमा कक्षा एकदेखि १२ सम्म करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् । कुनै बेला नाम कहलिएकै कारण अहिले पनि अभिभावक यो स्कुलमा आफ्ना बच्चा भर्ना गर्न तँछाडमछाड गर्छन् । पुरानो नेम र फेमकै कारण चलेको यो स्कुल विभिन्न शीर्षकमा अभिभावकबाट शुल्क असुल्ने धन्दामा छ ।
१. स्कुल बसका नाममा लुट
विद्यार्थी ओसारपसार गर्न छुट्टै बसको व्यवस्था नगरी ललितपुर यातायातको बस भाडामा लिएको छ । विद्यार्थीलाई लिन जाने बस सधैँ एउटै हुँदैन । ललितपुर यातायातले पालैपालो बस फेर्छ । चालक र सहचालक विद्यार्थीमैत्री हुँदैनन् । केटीहरू मात्र पढ्ने स्कुलका बसचालक र सहचालकले अश्लील शब्द प्रयोग गर्ने र अभिभावकलाई पनि मुख छाड्ने गरेको धेरैको गुनासो छ । एक जना अभिभावकले स्कुलमा यसबारे बताउँदा ‘हाम्रा शिक्षिकाहरूलाई पनि त्यस्तै गर्छन्, के गर्ने होला दिक्कै भइसकियो’ भन्ने जिम्मेवारपूर्ण जवाफ दिएको बताइन्छ । अन्य स्कुलका आफ्नै बस हुन्छन् । ती बसका चालक र सहचालक स्कुलकै स्टाफ हुने भएकाले बोलीचाली र अभिभावकसँगको सम्बन्ध पनि सुमधुर हुन्छ । तर, सेन्टमेरिज स्कुलले चाहिँ आफ्नै बस राखेको छैन । स्कुल बस राख्दा चालक र सहचालकलाई तलव दिनुपर्ने, बसको मर्मत सम्भार, इन्धन शुल्क, स्कुलभित्र पार्किङजस्ता तनाव लिनुभन्दा विद्यार्थीबाट लिएको शुल्कको आधा पैसामा ललितपुर यातायातबाट बस भाडामा लिई बाँकी पैसा खपत गर्छन् । कहिलेकाहीँ विद्यार्थीले बसमा छाडेका टिफिन बक्स, छाता, किताब कहिल्यै भेटिँदैनन् । विद्यार्थीलाई ओरालेर बस दौडिहाल्छ आफ्नो रुटमा प्यासेन्जर बोक्न अनि कहाँबाट भेटियोस् छुटेका सामान †
२. अभिभावकलाई खाजा शुल्क !
नेपालका सबै स्कुलले अभिभावकलाई विद्यालयमा बोलाएर गरिने छलफलमा चिया खाजा खुवाउने गर्छन् । काठमाडौंका सामान्य स्तरका स्कुलले पनि यसरी खुवाएको खाजाको शुल्क लिँदैनन् । तर, सेन्टमेरिजले चाहिँ मज्जैले शुल्क उठाउँछ त्यो पनि अत्यन्त महँगो दरमा । हरेक वर्ष उक्त स्कुलले अभिभावकलाई शिक्षकसँग अन्तक्र्रिया भनेर बोलाउने गरेको छ । त्यसरी बोलाउँदा पहिले नै विद्यार्थीलाई एउटा फर्म पठाइन्छ । फर्ममा कति जना अभिभावक आउने हो सोअनुसार नाम लेख्नुपर्छ । पछि एक जना अभिभावकको ५ सय रुपैयाँका दरले मासिक शुल्कसँगै बिल पठाइन्छ । स्कुलको बिलमै जोडेर खाजा खाएको शुल्क लिने भएकाले कतिपय अभिभावकले त त्यसरी खाजा शुल्क उठाएको थाहा पनि पाउँदैनन् । अभिभावकले विद्यार्थीको शुल्क तिर्नका लागि स्कुलमा जानु पर्दैन । बैंकमा गएर पैसा जम्मा गर्ने भएकाले पनि स्कुलले जथाभावी बिल पठाउने गरेको हो । किनभने शुल्क तिर्ने बेलामा यो कुन शीर्षकको शुल्क हो भनेर अभिभावकले कचकच गर्ने अवस्था रहँदैन ।
३. स्काउटका नाममा संकलन
सेन्टमेरिज स्कुलमा कक्षा ६ देखि स्काउट सिकाइन्छ । हरेक शुक्रबार स्काउट सिक्ने विद्यार्थीले स्कुल समयपछि एक घण्टा बसेर कक्षा लिनुपर्छ । अभिभावकबाट त्यसको छुट्टै शुल्क लिइन्छ । नियमित रूपमा स्कुलको बस प्रयोग गर्ने विद्यार्थीका लागि शुक्रबारको छुट्टै शुल्क लिइन्छ । नियमित रूपमा मासिक दुई हजार बस शुल्क तिरिरहेका विद्यार्थीले महिनाको चारवटा शुक्रबार त्यो पनि बेलुका फर्कनका लागि मात्र थप ५ सय रुपैयाँ लिने गरेको छ । नियमित बस शुल्क र स्काउटको छुट्टै शुल्क बुझाइसकेका अभिभावकले फेरि स्काउट सिकेर फर्केका विद्यार्थीलाई ट्याक्सीकै शुल्क बराबर एकपटक बस चढेर १२५ रुपैयाँका दरले चारवटा शुक्रबार घर फर्केको शुल्क ५ सय रुपैयाँ लिई सेन्टमेरिज स्कुलले अभिभावकलाई पेलिरहेको छ ।
४. हरेक महिना पुस्तकालय शुल्क ?
त्यति मात्र कहाँ हो र ! कक्षा १ देखिका विद्यार्थीबाट पुस्तकालय र कम्प्युटर शुल्क लिइन्छ । सामान्यतः कक्षा ६ पछि मात्र विद्यार्थीले पुस्तकालय प्रयोग गर्छन् । त्यो पनि मुस्किलले वर्षको तीन÷चार पटक त्यहाँ पुग्ने सम्भावना रहन्छ । तर, स्कुलले लिने शुल्कमा चाहिँ हरेक महिना पुस्तकालयबापत भनेर कसिरहेको हुन्छ । अन्य स्कुलले पुस्तकालय शुल्क वर्षको एकपटक मात्र लिन्छन् तर सेन्टमेरिजले चाहिँ हरेक महिना लिन्छ । कम्प्युटरको व्यावहारिक ज्ञान पनि कक्षा ४ पछि मात्र दिने हो तर शुल्कचाहिँ कक्षा १ देखि नै लिइन्छ ।
५. मेलाको व्यापार
सेन्टमेरिज स्कुलले कमाउने अर्को गजबको काइदा बनाएको छ स्कुल हाताभित्र मेला आयोजना गरेर । हरेक वर्ष आयोजना हुने मेलामा अभिभावकबाट प्रवेश शुल्क लिएर मात्र पस्ने व्यवस्था छ । हरेक विद्यार्थीलाई अभिभावकसँग पैसा मागेर बजारबाट किनी विभिन्न सामान ल्याउन निर्देशन दिइन्छ । कोहीबाट खेलौना, कोहीबाट कस्मेटिक सामान, कोहीबाट रुमाल, कोहीबाट स्टेशनरी । विद्यार्थीले किनेर लगेका सामानलाई विभिन्न खेलमा पुरस्कारका रूपमा राखिन्छ । विद्यार्थीले टिकट काटेर कुनै खेलमा भाग लिई पुरस्कार पाएमा उनीहरूले आफैँले लगेको सामान पाउँछन् । कस्तो गबजको काइदा विद्यार्थीकै सामान अनि विद्यार्थीले पैसा तिरेर खेलमा सहभागी भएर पाएको पुरस्कार पनि आफैँले किनेर लगेको सामान ।
६. चन्दा संकलन
गरिब दुःखीहरूको सेवाका लागि भनेर पनि विद्यार्थीबाट नियमित चन्दा संकलन गरिन्छ । त्यसैगरी असहाय विद्यार्थीको अध्ययनमा सहयोग गर्न भनेर पनि चन्दा बटुलिन्छ । तर स्कुलले कति चन्दा संकलन भयो र कतिको सहयोग गरियो भन्ने कुरा कहिल्यै सार्वजनिक गर्दैन । एउटै छानोमुनि कति धेरै व्यापार । वाह ! मान्नैपर्छ यो काइदालाई ।
७. किताब कापी र पोशाकमा कमिसन
सेन्टमेरिज स्कुलले कमिसन लिएर कापी र किताब एउटै पसललाई मात्र बेच्न दिएको छ । कमल पोखरीस्थित कोसेली प्रकाशनले अभिभावकलाई कापी र किताब एकमुष्ट दिन्छ । अन्य पुस्तक पसलेले छुट दिएर किताब बेचिरहेको बेला कोसेलीले चाहिँ अभिभावकबाट किताबमा थप कर पनि असुलिरहेको हुन्छ भने स्कुलको नाम अंकित कापी बजारमूल्यभन्दा अत्यन्त महङ्गो पर्छ । त्यसैगरी पोशाक पनि न्युरोडका दुईवटा पसललाई मात्र बेच्न दिएर मनग्गे आम्दानी गरिरहेको छ ।
– सेनातर्फका पीडित अभिभावकहरू
समाचार साभार : जनआस्था साप्ताहिक