थकाली समुदायको महान पर्व ‘ल्हफेव’ सुरु

कपन अनलाइन

कोबाङ (मुस्ताङ), १५ पुस । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको आदिवासी थकाली समुदायको महान पर्व ‘ल्हफेव’ आजदेखि सुरु भएको छ । हरेक १२ वर्षमा आयोजना हुने यो पर्वलाई मुस्ताङीले महाकुम्भ मेलाका रुपमा मनाउने गर्छन् । ल्हफेव अर्थात् देउता उदानेर निस्कने यो पर्व मुस्ताङको संस्कृतिको अभिन्न पाटो मानिन्छ । यो पर्व यस वर्ष परेको छ । यही मौकामा संसारभरका थकाली यतिबेला आफ्नो थातथलो फर्केका छन् ।

मुस्ताङको कोबाङमा आयोजित उक्त मेलाको आज उद्घाटन गर्दै वाणिज्यमन्त्री रोमी गौचन थकालीले यस पर्वले थकाली समुदायलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने बताए। उनले आफ्नै परम्परा र संस्कृतिबाट समाजलाई एकताबद्ध गर्दै अघि बढेको यो समुदायको पहिचान र परम्परामाथि विभिन्न पक्षबाट प्रहार भएको बताउँदै त्यसलाई रोक्न थकाली समुदाय नै एक हुनुपर्ने विचार व्यक्त गरे ।

“थकालीको पहिचान शालिनता, सरलता र इमान्दारिता हो, मुस्ताङको विकास पनि हाम्रो समुदायको उपज हो यसलाई जोगाई अन्य समुदायलाई पनि माथि उकास्न लाग्नुपर्छ”– उनले भने। कोबाङमा चल्ने १७ दिने पर्वको प्रत्येक दिनको आ–आफ्नै विशेषता छ । कोही मौलिक परिकार बनाउँदै, कोही रथ तान्ने मेलामा सहभागी हुँदै त कोही चाहिँ पाहुनापातलाई सत्कार गर्दै भेटिनेछन् ।

ल्हफेव मूल आयोजक समितिका अनुसार दैनिक पूजा, रथयात्रा, कविता प्रतियोगिता, खुला म्याराथन दौड, तारो हान्ने खेलदेखि स्वास्थ्य शिविर, कन्सर्ट र सुन्दरी प्रतियोगितासम्मको कार्यक्रम हुनेछ । मेलामा सहभागी लक्ष्मी गौचनले यो पर्व मुस्ताङकै मौलिक सांस्कृतिक चिनारी भएको बताए ।

हिमालपारिको जिल्ला मुस्ताङ अनुपम प्राकृतिक सुन्दरतासँगै संस्कृति र सभ्यताको उत्कृष्ट गन्तव्य मानिन्छ, । धार्मिक सांस्कृतिक विविधतासँगै चम्किला हिमालको काखमा अवस्थित मुस्ताङ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य पनि हो । यो पर्वका बेला थकालीका चारवटा देउतालाई बाहिर निकाल्ने र धोइपखाली गरेर रथयात्रा गर्ने चलन छ ।

हरेक बाह्र वर्षमा देवता बाहिर निस्कने र उक्त देवताको दर्शनले पाप र दुःखबाट मुक्ति पाइने विश्वास रहेको मेलमा सहभागी स्थानीय पवन तुलाचनले बताए । थकाली समुदायको चारचन (गौचन, तुलाचन, भट्टचन, शेरचन) का इष्टदेवलाई अन्य समय मन्दिरभित्रै बन्द बाकसभित्र राखेर पूजा गरिन्छ । चन्द्र पात्रोअनुसार हरेक १२ वर्षको प्रल्हो (बाँदर वर्ष) को अन्त्यमा देउता निकालिन्छ र झन्डै एक महिनासम्म धुमधामको जात्रा मनाइन्छ । देउता निकाल्ने र रथयात्रा गर्ने थलोमा भने लौरो टेक्न, घोडा चढ्न, सुसेली हाल्न र रातो टीका लाउन नपाउने चलन छ ।

मेलामा सहभागी हुन जापानबाट आउनुभएका शरदकुमार गौचनले संसारभर छरिएका थकाली समुदायको एकता र पारिवारिक खुसीको मिलन गराउने पर्व भएको बताउनुभयो । सुरुमा प्रचारप्रसार अभावमा मुस्ताङ वरपरका बाहेक कसैले जानकारी नपाएको र पछिल्लो समय पर्यटकको समेत चासोको विषय बनेको थकाली समुदायको दाबी छ ।

आदिमकालदेखि समाजले प्राप्त गरेको ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदाको स्थापित ल्हफेव पर्व थकाली जनजातिको विशिष्ट मौलिक पहिचान र अस्तित्वसँग जोडिएको थकाली सेवा समाजका अध्यक्ष कृष्णाकुमारी गौचनले बताउनुभयो । चारचनका पाँडेद्वारा वाचित चार देव र चार आदि पुर्खाको मर्मस्पर्शी यात्रागाथा श्रवण गराउनु यस पर्वको अर्को महत्वपूर्ण पाटो हो । 

तपाइँको प्रतिक्रिया ।