नगपालिका भएको आभाष किन हुन सकेन ?
कपन अनलाइन, ५ असोज, २०७३/दृष्टिकोण/
-तेज रोक्का
बुढानिलकण्ठ नगरपालिका बनेको साविक ६ वटा गाविस नगरपालिकाको संरचनामा विकसित हुनु अघि केही प्राविधिक विकासको विषयमा तयारी गर्न सकेको भए नगरको विकास कसरी गर्ने बारेमा अहिले हामीले टाउको दुखाउन पर्दैनथ्यो । सरकारले धमाधमजस्तै स्वरुपमा गरेको नगरपालिका घोषणा आफैमा सतही नै थियो तर पनि नगरपालिकाभित्र आफु परेकामा जनताहरु भने खुसी थिए र अझै छन् पनि । यो खुशीसँग साँटिएको छ विकासको सपना । विकास नहुने हो भने गाविस र नगरपालिकामा कुनै तात्विक भिन्नता रहनेछैन । फरक वा भिन्नता नबुझाउने हो वा बोध गर्न नपाउने हो भने चाँडै नगरपालिका मानिसमा निराशा छाउने छ ।
जनतामा अहिले छाएको खुशी विकास हुने भयो भनेर हो । यद्यपि नगर बनेको २ वर्ष पुग्न लाग्दाको लामो समय बित्दा पनि नगर हुनुको बोध नहुँदा नगरवासीमा भएको गर्व कोरा भ्रम हो कि भन्नेतिर जाँदै गरेको देखिन्छ ।विकास र सुविधा बिना (पक्की सडक, खानेपानी, बिजुली, टेलिफोन, ढल निर्माण, शिक्षा, स्वास्थ्य लगायतका मानव विकास लागि आधारभूत सुविधा) नगरपालिका हुनुको बोध हुन सक्दैन । ती चिजहरुको अनुभूति नहुने हो भने गाविस हुनु र नगरपालिका हुन अर्थहिन छ ।
बुढानिलकण्ठ नगरपालिका भैसकेकेपछि पुगनपुग २ वर्षमा कतिपय स्थानमा सडकको यति बेहाल छ कि कहिलेकाँहि आफू काठमाडौं छ भन्नेसमेत बिर्सिन सकिने अबस्थामा बेहाल छ । धारा छन् पानी आउँदैन हैन, यहाँ धारा नै छैन । नगरमा पानीको पाइपलाइनसम्म बिछ्याउने सम्भावना खोजिएको छैन । नगरपालिकाको कतिपय क्षेत्रमा वर्षायाममा डुबानको समस्या बिकराल छ । साना ठूला वर्षे खोलाहरुमा तटबन्धका कुनै गतिला योजना छैनन् । खोल्साहरुलाई बाटो बनाएर जग्गाको भाउ बढाउने दाउमा ढल बनाइँदा ढलमा वर्षे पानी नअट्दाको समस्या झन् विकराल छ । पूराना गाविसले भवन निर्माण संहिता बनाएर बस्ती विकास गोरेटो कोर्ने काम नगर्दा बस्ती त्यस्तै कुरुप छ ।
घरबहाल कर, जग्गाको पोत, जग्गा पास, घरको नक्सा पास,एकीकृत सम्पत्ती कर लगायतका कर मात्र तिर्न पर्दा पनि वर्षामा हिलोले गाडी घरमा नपुग्ने वा बुढाबुढी, बालबालिका हिँड्नसमेत नसक्ने अवस्थामा बाटो बेहाल भैरहेको अवस्थामा नगरवासीमा आफूले तिरेको करमा लुट पो भैरहेको छ कि भन्नु अनुभूति भैसकेको छ । सुविधा र विकास बिनाको नगरपालिका घोषणा हुँदा के को खुसी भन्ने कुरा जुन दिन जनतामा प्रश्न बनेर आउन थाल्छ ती दिनका लागि सोच्ने बेला भने ढिलो हुँदैछ । विशेष गरेर स्थानीय तहमा राजनीति गर्ने दलहरुले आफूलाई सक्षमता देखाउन पछि परिरहेको देखिन्छ । नेताहरुलाई नगरवासीले मेरो टोललाई बरु गाविसमा राख तर, विकासका कुनै पूर्वाधार बिना नगरपालिका घोषाणा गरेर आफूमाथि अनावश्यक करको भार बढाउन पाइदैन भन्ने धारणा राख्न थाले भने के होला भन्ने दृष्टिले पनि सोच्न आवश्यक भैसकेको छ ।
गाविस र नगरपालिकामा के भिन्नता छ ? गाविसलाई कति मापदण्ड पुरा भयो भने नगरपालिका घोषणा गर्ने? त्यो मापदण्डको आधार के लाई बनाउने ? भन्ने सामान्य प्रश्न सामान्य मान्छेले बुझ्ने नगरपालिकामा वा स्थानीयस्तरमा राजनीति गर्नेहरुसँग साध्यो भने के उत्तर दिने ? उत्तरको तयारी भएको देखिदैन । नजिकैको महानगरपालिको बेहाल अवस्थालाई हेरेर गुरुयोजना बनाएर आफूलाई विकासको पथमा लैजान पर्ने बेला सोच्न ढिलो गर्नु हुन्न । संभावित स्थानीय निकायको चुनावमा के सोच लिएर दलहरु नगरवासीकोमा जाने भन्ने कोणबाट सोच्न सकियो भने हामी विकासको पथमा हिँड्न सकिनेछ । अझै पनि रुख, सूर्य, हँसिया हथौडा वा अरु केहीको नाममा मात्र चुनावमा हिँड्ने सोचलाई हटाएर विकासको लामो गोरेटो लिएर जनतामा जाने तयारीमा दलहरु लागे नगरको विकासको खाका अहिलेदेखि नै कोरिने आशा गर्न सकिन्थ्यो ।
आवश्यकताका आधारमा प्राथमिकता निर्धारण भएर विकासका योजना बन्ने गर्दछन् । बुनपा बनेको अहिलेसम्म भनसुन र पहुँचका भरमा योजनाको प्राथमिकीकररण हुने गरेको छ देखिन्छ । नगरपालिकामा जसको बोली बिक्छ, विकास त्यहीँ भएको मानिएको छ । ग्रावेलदेखि कालोपत्रेसम्म त्यही पथमा दौडिएको छ । खानेपानीदेखि ढलसम्म त्यही दादागिरी शैलीको सिमामा सिमित छ । स्थानीय निकायको संयन्त्रमा रहेका दलका प्रतिनिधिहरूबीच विकासवादी सोचको अभाव तथा सानातिना बजेटमै सिमित हुँदा बुनपा ठाँउ, सीमा, भूगोल र निकटताले सुगम भएपनि विकासका हिसावले दुर्गमका वस्ती भन्दा जर्जर छ अविकसित छ ।
नियमको कुरा गर्ने हो भने नगरपालिका योजना मात्र पारित गर्छ, जो सबै प्रकृया पुरा गरेर आएका हुन्छन् । वडा नागरीक मञ्चको भेलाबाट छनौट भएका योजनाहरू मात्र परिषदमा पारित हुनुपर्ने हो तर, यहाँ त वडा नागरीक भेलामा छनौट नभएका योजनाहरू झ्यालबाट परिषदमा पारित हुन्छन् । वडा भेला त नाटक मञ्चनको किस्सा मात्र बन्ने गरेको छ । नगरपालिकाको आन्तरिक आम्दानीको नियमित स्रोत भरपर्दाे श्रोत भनेको घरजग्गा मात्र भएकोले दीर्घकालिन श्रोत कसरी निर्माण गर्ने सोच विकास भएको छैन । नगरपालिका घोषणा गर्ने बित्तिकै स्रोतमा बढोत्तरी हुने सम्भावना पनि छैन ।
डेढ दशकदेखि जननिर्वा्चित पदाधिकारी नभएको स्थानीय निकायको नाम र स्वरुप जे जे फेरिए पनि बजेट र कार्यशैली नफेरिँदासम्म त्यसले जनतालाई खुशीयाली दिन सकेको छैन नगरपालिकामा बसोबास गर्न पाएकोमा मख्ख भइरहने अबस्थामा रहेन अब । नगरपालिका घोषणा मात्र पर्याप्त हुँदैन । त्यसको स्थायित्वका लागि विकास पहिलो बिन्दु हो । विकासका लागि आवश्यक बजेट, आवश्यताका आधारमा योजनाको प्राथमिकीकरण र इमान्दारीपूर्वक बजेट परिचालन ।
नगरपालिकालगायत स्थानीय निकायमा जनप्रतिनिधि नभएको डेढ दशक बित्दा दलहरूलाई जनताका लागि गरेका कामहरूको फेहरिस्त सुनाउने अवसर मिलेको छैन । यस्तो बेला नगरपालिकाभित्र रहेका नगरको विकासमा योगदान दिनसक्ने तथा नगर योजनाका विज्ञहरुको समूहलाई एकिकृत गरी योजना तथा लक्ष्यहरु निर्माण गर्न प्रभावकारी भूमिका खेल्न सुरुवाती कदम चाल्न सकिन्छ ।
(लेखक विकास अभियान्ता तथा समाजिक कार्यकर्ता हुन्)