रामकृष्ण के. सी. संगको राजनीतिक वार्ता

कपनको राजनीतिमा पदमा रहे पनि नरहे पनि प्रभावशाली व्यक्तिको रुपमा रामकृष्ण के.सी.लाई लिइन्छ । प्रजातान्त्रिक विचारका के.सी. ०३५ सालमा पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएपछि नेपालमा उठेको प्रजातान्त्रिक स्वरसँगै नेबिसंघ भए । ०३५ सालमै १५ सुत्रीय माग राखेर कपनको ग्राम शिक्षा मन्दिर स्कूलमा भएको २० दिने हडतालको नेतृत्व लिएपछि रामकृष्ण के.सी. राजनीति उन्मुख भएका हुन् । प्रजातन्त्रसँगै विकसित खुल्ला राजनीतिमा ने.का.लाई कपनको इतिहासमा सबैभन्दा लामो नेतृत्व गरेका यी व्यक्तिलाई कपनमा चलाख र कुटनीतिक मान्छे भनेर चिन्नेहरुको पनि कमि छैन । तर केही वर्ष यता एकाएक रामकृष्ण के.सी. राजनीतिबाट बाहिरिएका जस्तो देखिन्छन् । के उनी साँच्चै राजनीतिबाट बाहिरिएका हुन् ? कि राजनीतिले उनलाई बाहिर बनाएको हो ? कपन अनलाइनले उनीसँग गरेको वार्ता ः

प्रश्न ः ०३५ सालमा ग्राम शिक्षा स्कूलमा आन्दोलन गर्दा त सानै हुनुहुन्थ्यो नि राजनीतिक चेतना थियो ?

रामकृष्ण के.सी.ः त्यो बेलाको आन्दोलन पाकिस्तानबाट प्रेरित थियो । जुल्फिकर अलि भुट्टोलाई मारिए पछि नेबिसंघले देशभरी आन्दोलन चर्काएपछि त्यसको प्रभाव काठमाडौंमा नै भएको नाताले हामीलाई अलि चाँडै पर्यो । स्कूलमा धेरै कुराको अभाव थियो त्यहि भएर स्कूल राम्रो बनाउन यो हड्ताल गरिएको थियो । म सात कक्षामा पढ्थेँ ।

प्रश्न ः ०३६ पछि ०४६ सम्म कुनै राजनीति क्रियाकलापमा सक्रिय हुनु भयो ?

 

 

 

रामकृष्ण के.सी.ः०३८ सालमा चुनाव भयो । यो चुनावमा म जनपक्षीय उम्मेदवारलाई सहयोग गर्न सहभागी भएँ । ०३६ सालमा निलोको पक्षमा पोस्टर पम्ल्पेट गरियो । त्यो बेलाको चिनिएको बहुदलवादी थिएँ म सानै भए पनि । त्यहि भएर जोगमेहर श्रेष्ठ र भुवनमानलाई हराउन तथा नानीमैया दाहाल र पद्मरत्न तुलाधारलाई जिताउन सक्रिय भइयो । त्यसैगरी ०४२ को चुनावमा पनि पद्मरत्न तुलाधर र विमलमानलाई जिताउन सक्रिय रहेँ ।

प्रश्नः स्थानीय राजनीतिमा चाहिँ त्यो बेला कस्तो सक्रियता थियो ?

रामकृष्ण के.सी. ः ठूला चुनावहरुमा बहुदल तथा जनपक्षीयहरुलाई जिताउन सहभागी भएपछि ०४३ सालमा गाउँ पञ्चायतको चुनाव भयो । यो चुनावमा विकासवादी भएको नाताले आत्माराम पौडेलका पक्षमा लागियो । विकासको पक्ष भनेको चाहिँ त्यो बेलामा शिवपुरीको पानी ल्याउने कामका मुख्य व्यक्तिमध्ये आत्माराम पौडेल हुनभएकोले पानी र विकासका लागि उहाँको पक्षमा हिँडियो । उहाँलाई ७० मतले जितायौं त्यो चुनावमा ।

प्रश्नः ०४६ सालका जनआन्दोलनमा के गर्नु भयो ?

रामकृष्ण के.सी. ः म त्यो बेला ठेक्कापट्टाको काम गर्थेँ । कपनबाट सक्रिय बहुदलवादीको नाममा आफूलाई पनि अगाडि बढाएको थिएँ । त्रिचन्द्र अगाडि पुलिसको लौरोले मेरो टाउको लागेको चोट अझै छ । त्यो आन्दोलनमा हामी ५० जनाजति युवाहरु सक्रिय थियौं । हामीलाई भैरवबहादुर कार्कीले केही आर्थिक सहयोग पनि गर्नु भएको थियो आन्दोलन गर्नका लागि ।

प्रश्नः ०४६ को जनआन्दोलनमा त्यो बेला हिँड्दा आज कपनमा राजनीति गर्ने वा कपनमा चिनिएको कोही नाम सक्रिय थिए ?

रामकृष्ण के.सी. ः त्यतिबेला सक्रिय हुनेहरुमा वडा नं. १ बाट केशव भट्टराई, विष्णु सापकोटा, नवराज सापकोटा लगायत सक्रिय थिए । त्यसैगरी ४ नं. वडाका धनबहादुर तामाङ, रामचन्द्र लामा सक्रिय थिए । त्यसैगरी कृष्णप्रसाद चालिसे, सेनविक्रम खड्का, पूर्णबहादुर खड्काको नाम अझ अग्रणी नाम हो । सेनविक्रम खड्का र पूर्णबहादुर खड्का त ०३७ सालमा निलोको तर्फबाट कपनका बुथ प्रतिनिधि थिए । आज उहाँहरुलाई सम्झिने वा सम्झाउने प्रयास सम्म हामीले गर्न सकेका छैनौँ ।

प्रश्न ः ०४६ सम्म आइपुग्दा कुनै राजनीतिक पार्टीका सदस्यता लिनु भयो ?

रामकृष्ण के.सी. ः मैले कुनै राजनीतिक पार्टीको सदस्यता लिइन । देखिनका लागि पद्मरत्न तुलाधरहरुको सहयोगमा लागे पनि म कुनै कम्युनिस्ट पार्टीको सदस्य भइन । म यी मुभमेन्टमा बस् देशमा प्रजातन्त्र आउनुपर्छ भन्नका लागि समाहित थिएँ । त्यसैले म कसैको सदस्य भइँन ।

प्रश्नः कुनबेला चाहिँ यहाँ राजनीतिक पार्टीको सदस्य हुनु भयो त ?

रामकृष्ण के.सी.ः ०४६ सम्म आइपुग्दा राजनीति बुझिसकेको थिएँ मैले, त्यसैले आफूलाई प्रजातान्त्रिक भनेर अगाडि बढाउन चाहन्थेँ तर ०४६ को परिवर्तनपछि मलाई ने.का.का साथीहरुले यो प्रगतिशील विचारधाराको मान्छे हो भनेर आफुतिर लिन चाहेनन् । अनि म राजनीतिको कुनै न कुनै हिस्सामा त आफूलाई समाहित गर्नै पर्यो भनेर माले भएँ । ०४७ को चुनावमा मल्ल के सुन्दरलाई सहयोग गरेँ ।

प्रश्नः अब ०४९ को स्थानीय चुनावको प्रसंगमा जाउँ, तपाई एमाले भएर जित्ने वित्तिकै कांग्रेसतिर जानु भयो, किन यस्तो गर्नु भयो ?

रामकृष्ण के.सी. ः यो चुनावको गजबको प्रसंग छ मसँग । शुरुमा एमालेको जिल्ला कमिटिले गाविसको अध्यक्ष टिकट मलाई दिइएको थियो । तर यहाँ स्थानीयरुपमा मलाई गारो पारियो । यो एमाले हुँदै होइन भनेर केही एमालेहरुले भनेपछि मैले नै मीठाराम अधिकारीलाई प्रस्ताव गरेँ । त्यतिमात्रै हैन मैले वडा नं. ४ को टिकट लिँदा पनि जबर्जस्ति थुतेर लिएको थिएँ । वातावरण यस्तो थियो कि एमालेले मलाई कांग्रेस भन्ने अनि कांग्रेसले एमाले भन्ने ।

प्रश्नः अध्यक्षको टिकट पाएको मान्छे कसरी वडाध्यक्ष भए पनि पुग्छ भन्न सक्ने अवस्था आयोे ?

रामकृष्ण के.सी. ः मलाई राजनीतिमा जसरी पनि सहभागि हुनु थियो । राजनीतिमा केही गरेर देखाउने चाहना थियो । त्यसैले वडाध्यक्ष भने पनि लिएर आफूलाई प्लेटफर्म विकास गर्न चाहँे । अनि एमालेबाट निर्वाचित हुने वित्तिकै कांग्रेसमा प्रवेश गरेँ ।

प्रश्न ः यसरी कांग्रेस प्रवेश गर्दा राजनीतिक नैतिकताको कुरा आउँदैनथ्यो ?

रामकृष्ण के.सी. ः म त राजनीतिक रुपमा नै कांग्रेस थिएँ । त्यसेैले मलाई यो कार्यबाट ठीकै हुन्छ जस्तो लाग्यो । एमालेका साथीहरुले पनि कहिले पनि मलाई एमाले मान्दैनथे ।

प्रश्न ः कांग्रेसले पनि यहाँलाई आफ्नो मान्दैनथ्यो नि, किन कांग्रेसमा जानु भो त ?

रामकृष्ण के.सी. ः कांग्रेसका साथीहरुले मसँग डराएर कांग्रेस बनाउन चाहिरहनु भएको थिएन । म कांग्रेस भएँ भने सबैको अस्तित्व सकिन्छ भन्ने डर उहाँहरुलाई थियो । म कांग्रेस हुँ भन्ने के कुराले पनि प्रस्ट गर्छ भने म निर्वाचित भएर कांग्रेसमा प्रवेश गरेको १५ दिनपछि ने.का. जिल्ला कार्यसमिति तथा स्वयम् प्रकाशमान सिंह कपनमा आएर मलाई कपनको सभापति बनाए । कपनमा त्यतिखेर इकाई सभापति पद खाली थियो ।

प्रश्न ः कांग्रेसको राजनीति शुरु गरेपछि कुन कुन पदमा आफूलाई समाहित गर्नु भयो ?

रामकृष्ण के.सी. ः मैले ०५९ सालदेखि ०५८ सम्म इकाइ सभापति भएँ । ०५१ सालदेखि नै क्षेत्रीय सदस्य भएँ । पार्टी फुटेपछि पनि कुनै लाइनमा लागिन । दुवै कांग्रेस मेरै हो जस्तो लाग्थ्यो ।

प्रश्न ः तपाईं त प्रजातान्त्रिक कांग्रेसको कित्तामा हैन र ?

रामकृष्ण के.सी. ः धेरैलाई यो भ्रम चाहिँ परेको हो । यो भ्रमको कारण म प्रकाशमान सिंह र चक्रबहादुर ठकुरीसँग व्यक्तिगतरुपमा नजिक भएकोले भएको हो । तर म खुलेर कुनै पनि समूहमा लागिन । ०६२–०६३ को आन्दोलनमा कपन चुनिखेल क्षेत्रको आन्दोलन हाँक्ने क्रममा म कपनबाट दुवै कांग्रेसको तर्फबाट सहकमाण्डर थिएँ । म रुखको पक्षधर थिएँ, छु र रहनेछु ।

प्रश्न ः तपाईलाई राजनीति चाहिँ आफ्नो हितको लागि मात्र उपयोग गर्नु भयो भन्ने आरोप लाग्ने गर्छ, केही भन्नु छ यसको बारे ?

रामकृष्ण के.सी. ः यो एकदमै अनावश्यक आरोप हो । मैले ०४० सालदेखि नै ठेक्कापट्टाको काम थालेको हँु । म सामान्यतया गरिब थिइँन । आर्थिकरुपमा मजबुत नै थिएँ । तर जसै मैले राजनीति पूर्णरुपमा थालेँ म आफ्नो व्यवसायलाई त्यति ध्यान दिन सकिन । एकसमय यस्तो पनि आयो, मैले त्रिज्योतिमा पढ्ने मेरा बच्चाहरुको मासिक शुल्क तिर्न पनि ६ महिना एकवर्षका लागि अनुरोध गर्नुपथ्र्यो । यदि तपाईँले भनेजस्तो मैले हितका लागि राजनीतिको उपयोग गर्न सक्थें भने यस्तो अवस्था आउँदैनथ्यो ?

प्रश्न ः तपाईंले कपन कांग्रेसको नेतृत्व गरेपछि भएको स्थानीय चुनावमा कांग्रेसले हार्यो । खासै तपाईंले केही गर्न सक्नु भएन छ नि हैन ?

रामकृष्ण के.सी. ः हेर्नुस् त्यतिबेला ने.का.ले देशभरी जित्न नसकेको बेला थियो । तैपनि कपनमा जम्मा ४२ मतले अध्यक्षमा चुनाव हार्नु भनेको देशभरीको स्थतिलाई नियाल्दा कपनमा ने.का. को राम्रो प्रदर्शन थियो त्यो । त्यति मात्रै हैन हामीले बहुमत वडाध्यक्ष पनि जितेका थियौं । ५ वटा वडामा हाम्रो नेतृत्व थियो । हामीले त्यो चुनावमा राम्रो प्रदर्शन गरेका हौं ।

प्रश्न ः कपनमा ने.का. को संगठन दरिलो नहुनुको कारण के हो ?

रामकृष्ण के.सी. ः हामी साथीहरुबीच सम्बन्ध राम्रो नहुनु । एकले अर्कालाई पछार्नेमात्र काम गर्नुजस्ता कुराले हाम्रो संगठनमा समस्या देखिएको हो । त्यसो त राम्रै छ संगठन तैपनि खुट्टा तान्ने प्रवृतिले हामी कमजोर भएको जस्तो देखिएको हो । केही केही साथीहरुको साह्रै नराम्रो मनोभाव छ । उनीहरु हामीहरु निष्कृय भए वा बनाउन सके आफ्नै मात्र हालिमुहाली हुन्थ्यो भन्ने सोच्छन् । दुःख लाग्छ ।

प्रश्न ः यतिखेर पनि कांग्रेस एक त छैन । फुटेको पनि छैन । आफूलाई कतातिरको हुँ जस्तो लाग्छ ?

रामकृष्ण के.सी. ः म कुनै क्याटागोरीमा छैन । म सबै नेताहरुसँग नजिक छु । प्रकाशमान सिंह, नविन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित सबैसँग नजिक छु जस्तो लाग्छ । यता चक्रबहादुर ठकुरीसँग पनि नजिकै छु अनि गगन थापासँग पनि नजिकै छु । म कांग्रेस हुँ । यो उ केही छैन । मैले गएको कपनको अधिवेशनमा पनि कसैसँग कुनै लबिगं गरिन । आफ्नो लागि भोटसम्म माग्न हिँडिन म । त्यसैले कसैले मलाई ट्याग लगाको मन पनि पर्दैन ।

प्रश्न ः गएको अधिवेशनमा चाहिँ यहाँलाई म जितिहाल्छु भन्ने भ्रम भएर सक्रिय हुनु भएन कि अब राजनीति यत्ति हो भनेर अलि विस्मित हुनु भएको हो ?

रामकृष्ण के.सी. ः हैन त्यस्तो केही हैन, म लबिंग भित्र बस्न नचाहेको मात्र हो । राजनीति मेरो पर्याय भैसकेको छ त्यसैले राजनीतिबाट हट्न सक्दिन । जित्नु हार्नुसँग मेरो त्यस्तो खासै भ्रम केही थिएन । जित हार भनेको भैहाल्छ ।

प्रश्नः कपनमा ने.का.को सबैभन्दा लामो सभापति चलाउने मान्छेले पछिल्लो समय विनोद चालिसे र राजाराम बुढाथोकीबीच कपन बिभाजित भैरहँदा यसरी पार्टी बिभाजनतिर लानु हुँदैन भनेर केही नयाँ उपाय खोज्न सक्नु भएन तपाईंले ? तपाईंहरुको जिम्मेवारी हुँदैन यस्तो कामको चाहिँ ?

रामकृष्ण के.सी. ः केही साथीहरुले विनोद चालिसे र राजाराम बुढाथोकीबीच कपन बाँडिदा मलाई इकाई चलाउन भनेका पनि थिए । तर मैले राजारामलाई यसपाला चान्स दिनुपर्छ भनेर पहिला नै भनेकोले अब फेरि राजारामजी तपाईं ब्याक हुनुस् भन्न सक्ने अवस्थामा म रहिन । विनोद चालिसेलाई हामी हटाउँछु तँ राजाराम बुढाथोकीलाई हटा भनेर केही साथीहरुले पटक पटक भनेका हुन् ।

प्रश्न ः आजको जस्तो ठूलो कपन भैसक्दा चाहिँ विनोद चालिसे वा राजाराम बुढाथोकीजस्ता कम राजनीति र कुटनीतिक अभ्यास गरेका व्यक्तिभन्दा पुरानै पुस्ताका मानिस सभापति बनाउन सकेको भए के हुन्थ्यो ?

रामकृष्ण के.सी. ः नयाँ पुस्ता ल्याएर समस्या भएको हैन । नयाँ पुस्ता त ल्याइयो तर नयाँले पुरानालाई साथ लिएर हिँड्न जानेन । समस्या त्यो मात्र हो ।

प्रश्न ः यो अधिवेशमा राजाराम बुढाथोकीलाई किन समर्थन गर्नु भयो ?

रामकृष्ण के.सी. ः राजाराम तथा विनोद दुवै मेरा समान दुरीका भाइ हुन् । कसैलाई काखापाखा गर्नु पर्ने मेरो केही छैन । त्यतिखेरको माहौलमा विनोद चालिसेभन्दा राजाराम बुढाथोकी अनुभवी भएका कारण साथै उसले गणतन्त्रको आन्दोलनलगायत क्षेत्रमा देखाएको कुशलताले उसको पक्ष लिएको मात्र हँु । अब यो कार्यकालमा विनोद चालिसेले आफूलाई अब्बल बनाउन सके भने म उसको पक्षमा पनि वकालत गर्छु । कसैसँग मेरो रिसराग छैन ।

प्रश्न ः हारजीत भयो । अब विनोद चालिसेलाई किन समर्थन गर्न नसकेको यहाँहरुले ? प्रजातान्त्रिक प्रकृया भनेको त जित्नेलाई सघाउने हैन र ?

रामकृष्ण के.सी. ः हामीले नसघाएको हैन । विनोद चालिसेले हाम्रो सहयोग नचाहेको हो । हाम्रो सहयोग लिए वा मागे आफू सानोे हुने हो कि भन्ने भ्रमले विनोद चालिसेले हाम्रो साथ चाहेनन् । सिनियरलाई साथमा लिएर हिँडे भने जुनियरको अस्तित्व रहँदैन भन्ने लागेर यस्तो भएको हो जस्तो लाग्छ मलाई ।

प्रश्न ः कपन कांग्रेसको यो अवस्था देखेर चित्त दुख्दैन यहाँलाई ? यो अवस्थालाई सम्हाल्न केही गर्नु पर्छ जस्तो लाग्दैन ?

रामकृष्ण के.सी. ः म ०४९ देखि ०६७ सम्म ने.का. को कुनै न कुनै पदीय महत्वमा बसेर काम गरेको मान्छे हुँ । मलाई चित्त नदुखे कसलाई दुख्छ ? यो त रुन मन लाग्ने कुरो हो । कांग्रेश भएर नै म भएको हुँ । र कांग्रेशको संगठन भए मात्र मेरो अस्तित्व रहन्छ । तर मैले के गरुँ ? मलाई के चाहियो भन्न जाउँ ?

प्रश्न ः अब राजनीतिबाट बिदा हुने त ?

रामकृष्ण के.सी. ः हैन राजनीतिबाट रामकृष्ण के.सी. हट्ने त कुरो नै हुँदैन तर यहाँको राजनीतिले कताकता मलाई हटाउन खोजेको चाहिँ हो । पार्टीले मलाई काम दिन सकेन । म त मलाई काम दिनुस् मसँग फुर्सद पनि छ भनिरहेको छु । मलाई कतै बसेर काम गर्ने अवसर त हुनु पर्यो नि ? तर विस्तारै मेरो सकारात्मक सकृयता देख्नुहुनेछ यहाँहरुले ।

– केशव पाठक
फोटो – सागर बैजु

तपाइँको प्रतिक्रिया ।