त्याग :नन्दलाल आचार्य ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १६ ।
अस्ताचलतिर सूर्य ढल्कँदा आमाले आँगनमा अनौठो विष्फोट गरिन्– “अबदेखि म शून्य भएँ !”
यी शब्दको मर्म कसैले भेउ पाउन सकेनन् । सधैँ ’हुन्छ’ र ’हवस्’ मा बाँधिएकी स्त्रीले एकाएक ’शून्य’ हुने घोषणा गर्दा घरका भित्ताहरू समेत अकमक्क परे । आमालाई वृद्धावस्थाको सनक लाग्यो भन्ने ठाने सन्तानले । तर यसभित्र एउटा गहिरो रहस्य लुकेको थियो ।
हिजोसम्म यो घर ममताले तातिन्थ्यो, भान्सामा भविष्यका सपना पाक्थे । तर आज तिनै हात उपेक्षाको ठिहीले काँपिरहेका थिए । सन्तानका पद र कुर्सी यति अग्ला भए कि त्यहाँबाट आँगनकी आमा धमिलो देखिन थालिन् । “हामीलाई स्पेस चाहियो आमा !” उनीहरूको यो वाक्य आमाको अस्तित्वबाट मुक्ति खोज्ने हतियार बन्यो ।
अन्ततः उनले त्यागको निर्णय गरेकी थिइन् । भित्ताको बनावटी मुस्कानयुक्त तस्बिर झिकेर उनले टेबुलमा एउटा सादा कागज राखिन्, जसमा अक्षर होइन, एउटा रित्तो घेरा अर्थात् ‘शून्य’ मात्र थियो । त्यतिकैमा साँझ पर्यो, तर घरमा ‘उज्यालो’ बलेन । भान्सा चिसो भयो, न्यानो स्पर्श हरायो । उनीहरूले महसुस गरे– आमाले घर छोडेकी थिइनन्, आफूभित्रको ’आमा’ लाई नै विसर्जन गरिदिएकी थिइन् ।
अन्ततः तीमध्ये एक सन्तानले भने शिर झुकाउँदै भन्यो– “सन्तानले आमा त्याग्दा एउटा सम्बन्ध टुट्छ, तर आमाले ममता त्याग्दा सिङ्गो संसार अनाथ बन्छ ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
