अञ्जुले थापेको ढडिया : रामकुमार पण्डित (पुस्तक समीक्षा)

अञ्जुले थापेको ढडिया : रामकुमार पण्डित (पुस्तक समीक्षा)

कपन अनलाइन

काठमाडौं ,साउन २।

साहित्य जगतमा चीर परिचित नाम हो अञ्जु शर्मा थपलिया । शङ्खुवासभामा जन्मिएकी स्रष्टा अञ्जु शर्मा, हाल काठमाडौँको रातो पुलमा बसोबास गर्दै आएकी छन् । काठमाडौँमा हुने विविध साहित्यिक कार्यक्रमहरूमा उनीसँग मेरो भेटघाट हुन्छ । यही साहित्यिक कार्यक्रम मार्फत नै उनीसँग मेरो केही वर्षअघि देखि चिनजान भएको हो । विशेषगरी लघुकथाको कार्यक्रममा उनको राम्रो उपस्थिति हुन्छ । मिलनसार स्रष्टा अञ्जुले हालसम्म तीनवटा पुस्तक पाठकमाझ ल्याइसकेकी छन् ।
पहिलो पुस्तक चिनेको मान्छे लघुकथा सङ्ग्रह २०७९ दोस्रो पुस्तक छोरीको वेदना काव्यसङ्ग्रह २०७९ र पछिल्लो पुस्तक ढडिया लघुकथा सङ्ग्रह २०८१ हो । यहाँ ढडिया लघुकथा सङ्ग्रहको बारेमा सामान्य चर्चा गर्ने प्रयास गर्दैछु ।
नेपाली साहित्यमा कवितापछि सबैभन्दा धेरै लेखिने उपविधाको रूपमा लघुकथा अहिले देखिएको छ । यसको प्रमाणको रूपमा खुद अञ्जु शर्मालाई पाउन सकिन्छ, जसको यो ढडिया दोस्रो लघुकथा सङ्ग्रह हो । विपरीत भावको अन्त्य वा व्यङ्ग्यात्मक प्रस्तुति रहने लघुकथाले पढिसकेपछि पाठकलाई झड्का दिन्छ । एकछिन सोचमग्न बनाउँछ । यसैकारण लघुकथाको पाठक बढेको पाइन्छ । आजको व्यस्त समयमा एउटा पूर्ण स्वादको लघुकथाले पाठकको समयलाई सम्मान गर्न सक्दछ । यस सङ्ग्रहभित्र विविध विषयवस्तुका ६२ वटा लघुकथाहरू सङ्ग्रहीत छन् । राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको विसङ्गतिहरूलाई चड्कन हान्दै लघुकथाको रचना भएको देखिन्छ ।
यसै सन्दर्भमा लघुकथासङ्ग्रह ढडियाको लघुकथाहरूमध्ये अन्तिम सजाय शीर्षकको लघुकथाले देशलाई कर्मचारी र राजनीतिज्ञ मिलेर बलात्कार गरेको भनी व्यङ्ग्य गरिएको छ । गणतन्त्र शीर्षकको लघुकथाले नव सामन्त र तानाशाह भएर गणतन्त्रकै धज्जी उडाएको बताउँछ । गल्ती शीर्षकको लघुकथाले देशभित्रका सम्बद्ध सबै पक्षहरू एक से एक फटाहा भएको ओकल्छ । गमलामा धान रोपेर कृषि क्रान्ति गर्छु भन्ने नेताहरूप्रति व्यङ्ग गर्छ क्रान्ति शीर्षकको लघुकथाले ।
त्यस्तैगरी प्रकृति विनाशको चिन्ता गर्दछ प्रकृति सम्मान शीर्षकको लघुकथाले । किसानलाई सम्मान गर्नुपर्छ भन्ने भाव व्यक्त भएको छ, किसान शीर्षक लघुकथामा । वनविनाश भएपछि जङ्गली जनावरहरू बसाइ सर्ने कुरा व्यक्त गर्दछ यात्रा शीर्षकको लघुकथाले । मान्छेले विकासको नाममा प्रकृतिकै विनाश गरेको तथ्य प्रकट हुन्छ गुनासो शीर्षकको लघुकथामा । मान्छेकै मासु हारालुस गरेर सिंहदरबार भित्र खाइरहेका छन् भनेर व्यङ्ग गर्दछ बधशाला लघुकथाले । चुनावमा पैसा र कपडा बाँडेर भोट किन्ने चलनप्रति व्यङ्ग्य प्रहार गर्छ चुनाव शीर्षककै लघुकथाले ।
उपरोक्त विषयवस्तुको अलावा स्रष्टा अञ्जु शर्माको कलम मार्फत वैदेशिक रोजगारी र त्यसले निम्ताएको यौन विचलनप्रति सशक्त आवाज उठेको पाइन्छ । रामकलीको चोलीभित्र पति विदेशमा काम गर्न जाँदा पत्नी स्वदेशभित्र वेश्यावृत्तिमा लाग्ने गर्दछिन् । भोक शीर्षकमा पत्नी पोइल जान्छिन् । दुर्बलता शीर्षकमा पुरुषको यौन दुर्बलताको साथसाथै नपुङ्सकता भएको रहस्य खुल्दछ । नमेटिने घाउ शीर्षकमा नेपाली महिला वैदेशिक रोजगारीमा जाँदा उतै साहुबाट बलात्कारमा पर्छे । विकृति शीर्षकभित्र पति विदेशमा गएर एचआइभी सार्छ भने पत्नी स्वदेश भित्रै पोइल जान्छे । यसैगरी अनैतिक लघुकथामा साथीकी पत्नीसँग यौन सम्पर्क भएको हुन्छ । हिंसा लघुकथामा वैदेशिक रोजगारीमा गएका महिलाहरू यौन हिंसामा पर्छन् भनी खुलाइएको छ ।
यसरी विविध विषयवस्तु समेटिएको यस लघुकथा सङ्ग्रहका लघुकथाले कतै कथित अनमेल जातीय विवाहको विरोध गर्ने विरुद्ध जाइलाग्छ । कतै अन्तर्राष्ट्रिय विवाहको पक्षमा वकालत गर्दछ । कतै साहित्यमा राजनीति घुसेको प्रमाण देखाउँछ, जसले गर्दा निष्पक्ष साहित्यकारले भन्दा राजनीतिमा कलम चलाउनेले पुरस्कार पाएको देखिन्छ । पुस्तकको नामाकरणसँग मिल्ने लघुकथा ढडियाले सिंहदरबार भित्र बाम माछा जस्ता उत्कृष्ट मानव बस्दैनन्, बरु पाहा जस्तो कप्टीहरू बस्छन् भनेर व्यङ्ग्य गरेको छ ।
यस सङ्ग्रह भित्रका लघुकथाको सकारात्मक पक्षलाई हेर्दाखेरी कतिपय लघुकथाहरू प्रतीकात्मक शैलीमा लेखिएका छन् । कतिपय लघुकथाहरू उठान, विकास, बैठान, पात्र चरित्र, आयाम, शीर्षक आदिको दृष्टिकोणबाट हेर्दाखेरी उत्कृष्ट साबित हुन्छन् । कतिपय लघुकथाले गम्भीर विषयवस्तु पाठक माझ ल्याएको छ ।सबैको सबै सिर्जना उत्कृष्ट हुँदैन । केही न केही कमजोरी सबैको हुन्छ । पाठकबाट अमूल्य माया र सुझाव पाउँछु कि भन्दै स्रष्टा अञ्जु शर्माले ढडिया थापेकी छन् । उनलाई अन्तमा आफ्ना कमजोरीहरूलाई सुधार गर्दै आगामी दिनमा अझ सशक्त लघुकथाहरू सिर्जना गर्ने शक्ति मिलोस् भन्दै शुभकामना भन्दछु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।