कदर : डा. छायादत्त न्यौपाने (लघुकथा)

कदर : डा. छायादत्त न्यौपाने (लघुकथा)

कपन अनलाइन

काठमाडौं ,साउन २।

हिँडेपछि हो यात्रा सुरु हुने । खुरुखुरु हिँडेसी गन्तव्यमा पुगिन्छ । ठिक समयमा गन्तव्य भेट्ने यात्री सफल हुन् । बाटो अप्ठ्यारो देखेर पछि हट्ने वा गन्तव्य फेर्ने त लाछी हुन् । बाटो बदल्ने गन्तव्यहारा हुन् ।यी सम्झौतापरस्त पहिरोमा बहकिने व्यवहार र योजनाका आलाकाँचा । यस्तै हुन्थे हाम्रा हजुरबाआमाका सल्लाह ।
एक दिन चौतारोमा सुस्ताउँदै गरेका विन्दासलाई हजुरबाआमाको त्यस्तै सल्लाहले बिउँझायो । उनले भने– मुख्य कामको योजना र अभ्यासमा दत्तचित्त नभई बेर्थ तर्कमा अलमलिएको छु म । हिजोदेखि अनावश्यक बहसमा सहभागी हुँदै हिँडेर अहिलेसम्म खै कसले के भेटे र भोलि भेट्छन् ? उफ् ! म पनि के केमा अल्झिरा ! हैट,यो भन्दा मनहुसी के होला र ?
थाहा हुनुपर्ने मलाई ! लमकेको हात्ती, कुकुर भुके भनेर हरेक कुकुरको पछि लाग्यो भने त्यो गन्तव्यमा कहिले पुग्छ ? फेरि कुकुरको पछिपछि लाग्ने केको हात्ती, कुकुरकै साथी भो नि ! पुर्खाले बनाएको –काग कराउँदै गर्छ ,पिना सुक्दै जान्छ, कुकुर भुक्दै गर्छ हात्ती लमकिरहन्छ, क्या घतिला छन् हगि , यी उखानहरू !
हुन पनि हो नि ! नबिराउनु नडराउनु, स्वार्थहीन विवेकी कदम उठाएर नीति नियम मानेपछि हिँड्नेले बाटामा भेटेजति सबैका सबै कुराको जबाफ दिइरहनु आवश्यक हुन्न र साध्य पनि लाग्दैन । ठिक समयमा उठेका सान्दर्भिक जिज्ञासाको कदर ठिक समयमा ठिक शैलीले गर्ने हो ।
एकातिर खोला अर्कोतिर पुल हाल्दै हिँड्ने ? अँ हँ, यस्तो हुन्न । यस्तो बेथिति त बढारेर आँगन स्वच्छ सफा पार्ने हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।