मुक्तक चार : सुरेश बि सी
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ९ ।
इज्जत बेइज्जत सब थोक कमाउँछन्
उपचारै नहुने त्यो कस्तो रोग कमाउँछन्
अरूलाई भ्रष्टाचार गर्नु हुँदैन भन्नेहरूले नै,
भ्रष्टाचार गरेरै दिनको करोड कमाउँछन् ।
सत्य कुरा जहिल्यै नि सत्य हुन्छ झुट हुँदैन
मिलेर बसेकाहरू बीचमा कहिल्यै फुट हुँदैन
तपाईं के चीजको घमण्ड गर्नु हुन्छ ? महोदय,
सबले एक दिन मर्नु पर्छ कसैलाई छुट हुँदैन ।
कुरा काट्ने, खाडल खन्ने आफ्नाहरू हुन्
अप्ठ्यारो पर्दा, बाधक बन्ने आफ्नाहरू हुन्
उभिनै परे तपाईं कसको पक्षमा उभिनु हुन्छ ?
आफन्तले आफन्त, छोड्यो भन्ने आफ्नाहरू हुन् ।
आफ्नो जिन्दगी आफैलाई बेकाम लागेको छ
हुन त चन्द्रमालाई पनि पूर्णिमाको लगाम लागेको छ
तपाईं कहाँ जाने हतार गर्दै हुनुहुन्छ ? महोदय ,
यहाँ चिहानमा पनि मुर्दाहरूको चक्काजाम लागेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
