मुक्तक चार : ऋषिराम भुसाल
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ९।
नेपालीका लागि रमाइलो पल हुन सक्यो भने
हाम्रा कठिनाइहरू सजिलै हल हुन सक्यो भने
हामी गर्वले बाँच्नेछौ जित हारतिर नलागौं कोही,
नेपालीकै जित हुनेछ देश सफल हुन सक्यो भने ।
चुनौती स्वीकार्नेहरू भोजनको जोहो सजिलै गर्न सक्छन्
रूख चढ्न,भीरमा हिँड्न र उर्लदो भेल पनि तर्न सक्छन्
जोखिम मोल्नेहरूले कहिलेकाहीँ हार ब्यहोर्नु परे तापनि,
साहसीहरूले नै उँचाइ छुन्छन्, प्रतिस्पर्धामा ठहर्न सक्छन् ।
समाजमै हुन्छन् अरूका जान्ने आफ्ना कुरा लुकाउने पनि
खोजे भेटिन्छन् सर्वत्र अरूको प्रगतिमा सिर झुकाउने पनि
रिस गर्ने र अरूका लागि हुरुक्क हुने मान्छे पनि छन् यतै,
समाजमै छन् अरूका निम्ति आफ्नो ज्यान सुकाउने पनि ।
बाँच्नका लागि कष्ट खेप्नु पर्छ,उध्रिएको मन सिउनु पनि पर्छ
सागर पुग्नुपूर्व खहरेले झैं ढुङ्गासँग छाँट्टिदै जिउनु पनि पर्छ
असहजतालाई सहजतामा ढाल्न कठिनाइ झेल्नै पर्छ सबैले,
अमृतका थोपा प्राप्तिका लागि विषका थोपा पिउनु पनि पर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
