मुक्तक चार : मीना गौतम चौलागाईं ( कविता )

मुक्तक चार :  मीना गौतम चौलागाईं ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९।

अनुहार हेरेर थाहा नहुने तकदिर जस्तै
छामेर थाहा पाउन नसकिने जमिर जस्तै
परिचय सोध्नेलाई जवाफ के दिनु अरू,
बेनाम छ जिन्दगी पनि यो तस्बिर जस्तै ।

उपाय आफैँ निकाल्न सकूँ, समस्यासँग झेल्दाझेल्दै
डराएर भागोस् दुःख सारा, खुसीहरूले पेल्दापेल्दै
देशमा शान्ति, मनमा सुख यत्ति इच्छा बाँकी छ अब,
हाँसी हाँसी प्राण जाओस्, अक्षरसँग खेल्दाखेल्दै ।

शङ्ख र मुरली मुखले फुकिन्छ, सारङ्गीको तार रेट्नुपर्छ
चक समाइ कालोपाटीमा लेख्नेकै हातले फेरि मेट्नुपर्छ
जीवन यात्राको क्रममा आइलाग्छन्, तितामिठा पलहरू,
उपयोगी कुरा समेट्नुपर्छ, अनुपयोगी जति दपेट्नुपर्छ ।

नपाउञ्जेल साक्खै बनेर दुःखको रङसँगै गाढा भइदिन्छ
आपूmले चाहेको प्राप्त गरिसकेपछि फेरि साँढा भइदिन्छ
व्यर्थै हुँदोरहेछ चित्र हेरेर चरित्रको अनुमान लगाउनु पनि,
हाँसोको हिस्सेदार बनेकै मान्छे आँसुसँग टाढा भइदिन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।