आमाविनाको घर : त्रिलोचन आचार्य (कविता )

आमाविनाको घर : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९।

।१।
माटो यो सब सृष्टिको चहकिलो आमाविना हुन्छ र ?
मैलिन्छन् रचना सबै तर यहाँ, आमा सधैँ सुन्दर
को हिँड्ने पथमा ?सिकाउन भनी आमा नआए यहाँ ?
पैसाले सब आउला तर भनून्, पाइन्छ आमा कहाँ ?
।२।
आफैँ जोखिममा परेर कसले सन्तान जन्माउँछ ?
आफैँ भोक खपेर नित्य कसले सन्तान हुर्काउँछ ?
झुत्रे आफु रहेर लाउँछ भनी नाना किनी दिन्छ को ?
होला यो हकबाट बञ्चित बरा ! आमाविना बाँच्छ जो
।३।
टाढा जानु हुँदैन रुन्छ मन त्यो आएन नानी भनी
को थाल्ने कखरा सिकाउन कसै होला नि ज्ञानी भनी
सिङ्गै रात सुतेन को ? व्यथित भै नानी नसुत्दा–रुँदा
मान्छे हो भन को निदाउछ ? यहाँ आमा बिरामी हुँदा
।४।
मान्छेको घर खै कहाँ छ भन हे ? आमा जहाँ त्यैँ घर
मान्छेमा भय जाग्छ जान्छ त कहाँ ? आमा हुँदा त्यो डर
आमाकै व्यवहारमा छ घरको हाँसो खुसी वैभव
आमाकै अनुहारमा छ घरको सञ्चो बिसञ्चो सब
।५।
यो मेरो तन चालढाल उनकै सत्प्रेमको तस्वीर
बग्दैछन् छहरा बनेर ममता आमासँगै झर्झर
हुन्छन् ईश्वर नै कतै यदिभने आमा स्वयं ईश्वर
जाऊँ मन्दिर घुम्न आखिर कहाँ ? छोडेर आमा घर
।६।
सारा विश्व जितौँ न आखिर अहा ! आमाविना भन्छ को ?
यी मेरा कविता प्रफुल्लित बनी आमाविना सुन्छ को ?
आमा एक गुमेर गुम्दछ भने सद्भावको सागर
मान्छेको परिकल्पना छ र कहाँ ? ’आमाविनाको घर’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।