काठमाडौं क्षेत्र नं ४ को कांग्रेस अधिवेशनः के हुनुपर्छ ? कस्तो हुनुपर्छ ?

काठमाडौं क्षेत्र नं ४ को कांग्रेस अधिवेशनः के हुनुपर्छ ? कस्तो हुनुपर्छ ?

केशव पाठक

नेपाली कांग्रेसको आसन्न महाधिवेशन केवल पार्टीको आन्तरिक कार्यक्रम मात्र होइन; यो उसले आफूलाई कस्तो पार्टीका रूपमा पुनःपरिभाषित गर्न खोजिरहेको छ भन्ने राजनीतिक संकेत पनि हो ।

त्यसमाथि, यदि त्यो अधिवेशन गगन थापाको चुनावी क्षेत्र काठमाडौँ-४ जस्तो राजनीतिक रूपमा सचेत, आलोचनात्मक र भविष्य–केन्द्रित समाजमा हुँदैछ भने त्यो झनै साधारण हुन सक्दैन । केन्द्रिय सभापतिका लागि दावि गरिरहेका महामन्त्री गगन थापाको चुनावी क्षेत्रमा हुने अधिवेशन र यसले दिने सन्देष विशेष खाले हुनुपर्छ ।

क्षेत्र नं ४ को यस अधिवेशनले केवल पदाधिकारी चयन गर्ने नभई क्षेत्र नं ४ मा कांग्रेसको भविष्य, नेतृत्वको दिशा र राजनीतिक नैतिकता को परीक्षा पनि हो । लगातार स्थानीय निकाय चुनावमा कमजोर प्रदर्शन गर्दै आइरहेको नेपाली कांग्रेस क्षेत्र नं ४ ले आत्मालोचनासहित नयाँ सोच, शैली एवम् नेतृत्व् चयनमा जान सकेन भने आउँदा दिन यस क्षेत्रमा कांग्रेसलाई झनै प्रत्यूत्पादक हुनेछ । विशेषगरी क्षेत्र नं ४ कांग्रेसभित्रकै एकाध दोगला चरित्रका नेताहरुलाई सदाको लागि विदा गर्नेदेखि भुत्ते भैसकेका मौकापरस्त कतिपय नेताहरूलाई रिटायर्डमेन्ट प्लानसम्म यस अधिवेशनले तय गर्नपर्ने देखिन्छ ।

गगन थापाको चुनावी क्षेत्र कुनै साधारण निर्वाचन क्षेत्र हुँदै होइन । यो क्षेत्र  नेपालको शिक्षित मध्यम वर्गको केन्द्र हो । गगन थापाकै चुनावी क्षेत्र भएकाले युवाको राजनीतिक चेतनाको उत्तम प्रयोगशाला पनि हो ।  यो प्रश्न गर्ने नागरिकको भूगोल हो भने अझै ख्याल गर्न पर्ने कुरा ‘पुरानो राजनीति’ प्रति सबैभन्दा कम धैर्य भएको क्षेत्रमध्ये काठमाडौं क्षेत्र नं ४ लाई लिन सकिन्छ । त्यसैले यहाँ हुने कांग्रेस अधिवेशनले एउटा स्पष्ट सन्देश दिनुपर्छ— “कांग्रेस अब केवल इतिहासको पार्टी होइन, भविष्यको दावेदार हो ।”  यदि यही क्षेत्रमा पनि अधिवेशन पुरानै ढाँचामा सीमित भयो भने, त्यो गगन थापाको राजनीतिक सन्देशमाथि अप्रत्यक्ष प्रश्न उठ्नेछ ।

 के हुनु हुँदैन ? : अधिवेशनका पुराना रोगहरू के हुन् ?

सबैभन्दा पहिले, यो अधिवेशनमा के–केहुनु हुँदैनभन्ने स्पष्ट हुन जरुरी छ । यस क्षेत्रमा चुनाव र महाधिवेशनमा मात्र फोनको स्विच अन गरेर गुटको राजनीति गर्ने एकाध नेता क्यान्सरका रूपमा देखिन्छन् । उनीहरूको काम नै अधिवेशनलाई गुटको प्रतिस्पर्धा बनाउन हो अनि गगन थापाबिरोधी मत सिर्जना गर्नु हो । कांग्रेसको १२ औं महाधिवेशनबाट सुरू भएको यो रोगले यस अधिवेशनमा पनि काम गर्न सक्छ । जसले राम्रा मानिसहरू नेतृत्वमा आउने बाटाहरू बन्द गर्न सक्छन् । गगनको क्षेत्रमा हुने अधिवेशन यदि फेरि पनि ‘कसको मानिस कति’ भन्ने गणनामा सीमित भयो भने, त्यो अधिवेशनले कुनै राजनीतिक अर्थ राख्दैन ।

इकाईदेखि नगर, प्रदेश अनि क्षेत्रमा राम्रा मानिस आउन नदिन एकथरी ०६४ सालदेखि “भाग मलाई नै चाहियो !” भनेर रोई कराई गरिरहने तथाकथित नेताहरू प्राप्तिका गणित आफूतिर ढल्किएन भने दोगला चरित्रको राजनीति गर्नेको खेमातिर लाग्ने अनि भोज भतेर, ताली र गालीमा रमाउने पूरानो रोग यस क्षेत्रमा सक्रिय हुनेछ । यस रोगबाट क्षेत्र नं ४ लाई मुक्त गर्न नीति, दृष्टि र योजनाका आधारमा इकाई नेतृत्वदेखि महाधिवेशन प्रतिनिधि चयन गर्न पर्छ ।

क्षेत्र नं ४  कांग्रेसले यसपटक जेनजी अभियानलाई आत्मसात गर्दै युवालाई ब्यानर बोकेर उभ्याउने

तर निर्णय प्रक्रियाबाट टाढा राख्ने संस्कारबाट मुक्त गराउन आवश्यक । त्यसका लागि महाधिवेशन प्रतिनिधिमा युवाहरू पठाउन आवश्यक छ। यसअघि महाधिवेशन प्रतिनिधि भएका तथा बिभिन्न अरू तहमा पदाधिकारी भएकाहरूको कामको मूल्यांकन गरेर मात्र उनीहरूलाई  दोहोर्याउने वा बढुवा गर्न आवश्यक छ । अधिवेशन र चुनावमा आएर बार्गेनिङ गर्ने, सामाजिक सन्जालमा नानाथरी लेख्नेदेखि सँधै पद मलाई नै चाहिन्छ भने जसरी तनाव दिनेहरूलाई यस अधिवेशनले निश्चित बिदा दिनु पर्छ ।

 कस्तो हुनुपर्छ ? : अधिवेशनको न्यूनतम राजनीतिक स्तर

इकाईदेखि प्रदेश र महाधिवेशन प्रतिनिधि बन्नका लागि उसका योग्यताको आधार तय गर्नुपर्छ । उसले पार्टीमा नियमितरूपमा अथक मेहनत गरेको प्रमाण नभैकन नेतृत्व दिने तरिका अपनाइनु हुन्न । फलानोको मानिस भनेकै भरमा उ प्रतिनिधि हुने पुरानो संस्कार क्षेत्र नं ४ ले यसैपालाबाट छाड्नुपर्छ । क्षेत्रीय प्रतिनिधि बन्नका लागि  नेताका निकट र आफ्ना मान्छे  महाधिवेशन प्रतिनिधि  बनाउने नाममा जो पायो त्यही ल्याउने क्रम पूर्णतः रोकिनु पर्छ ।

राजनीतिक बहस, छलफल तथा संगठन बनाउन सक्ने मानिसलाईमात्र क्षेत्रीय प्रतिनिधि बनाउनु पर्छ  । क्षेत्रीय प्रतिनिधिहरू केवल नेता बनाउनका लागि नभै स्वयम् नेता बन्नका लागि पनि हो भन्ने आधारमा तय हुनुपर्छ । मूल्यांकनको संस्कार यसैपालादेखि सुरू गरेर यसअघि भएका संगठनात्मक तथा स्थानीय तह चुनावमा भएका कमि कमजोरीमा  कसले के काम गर्‍यो ? को कहाँ चुक्यो ? कसले कति  जनविश्वास घटाउन मद्धत पुर्यायो ? जस्ता प्रश्नहरूको इमानदार समीक्षा हुनुपर्छ ।

गगन थापाको क्षेत्रबाट सबैले यही अपेक्षा गर्नपर्छ कि आलोचना स्वीकार्ने राजनीति क्षेत्र नं ४ को संस्कृति हो । आत्मालोचना गर्ने संस्कार क्षेत्र नं ४ को हो  । बुद्धिजिवी तथा युवाहरूलाई प्रोत्साहन गर्ने संस्कार क्षेत्र नं ४ को हो । दोगला चरित्रका तथाकथित नेताहरूको पत्तासाफ गर्ने संस्कार क्षेत्र नं ४ ले सुरू गर्यो । स्थानीय मुद्धाहरूमा स्पष्ट रोडम्याप भएका व्यक्तिमात्र नेतृत्वमा ल्याउने संस्कार क्षेत्र ४ बाट सुरूबाट भयो ।

विकासदेखि विनाससम्मका सबैखाले सामाजिक, भौतिक तथा अन्य स्थानीय विषयको सामाधान गर्ने नेतृत्व क्षेत्र नं ४ को हो भन्ने अवधारणमा अधिवेशन भएन भने त्यो अधिवेशनले ‘गगन एजेन्डा’ बोक्नेवाला छैन ।  क्षेत्र नं ४ को सन्देशले देशलाई प्रभावित पार्ने सन्देश नदिएसम्म सभापतिमा गगन थापाको पलडा भारी हुनेवाला छैन भनेर स्वयम् गगन थापादेखि यहाँका सबै नेता कार्यकर्ताले सोच्न आवश्यक छ ।

कांग्रेसको १५ औं महाधिवेशनमा क्षेत्र नं ४ को अधिवेशन गगन थापाको लागि पनि एउटा मौन परीक्षा हो । यसको सम्भावित नतिजाले उनी स्वयंलाई सभापति पदका उम्मेदवार नबनाउन पनि सक्छ । त्यसैले क्षेत्र नं ४ को अधिवेशन गगन थापाको विचार, शैली र राजनीतिक संस्कारको प्रतिबिम्ब बन्न पर्छ । यसमा स्वयम् उनको भूमिका पनि महत्वपूर्ण छ ।

यसका लागि क्षेत्र नं ४ अन्तर्गतका सबै तहको अधिवेशन, समावेशी हुनपर्छ,  बहस–केन्द्रित हुनपर्छ, बौद्धिक व्यक्तिहरू समेटिएको हुनपर्छ,  गुटभन्दा माथिको हुनुपर्छ, युवालाई निर्णायक भूमिकामा ल्याउने खालको हुनपर्छ तथा दोगला चरित्रका नेतालाई समग्रमा पाखा लगाउने हुनुपर्छ ।  क्षेत्र नं ४ को अधिवेशनमा  यति भयो भने मात्र गगन थापाको राजनीतिक दर्शनको विजय मानिनेछ । यदि त्यसो हुन सकेन क्षेत्र नं ४ का नेता कार्यकर्ताहरू सुध्रिन चाहेनन् भने यसको पहिलो असर गगन थापालाई पर्छ । उनले बोलेका ‘संस्थागत सुधार’ का कुरा प्रश्नको घेरामा पर्छ ।

गगन थापाको चुनावी क्षेत्रमा हुने कांग्रेस अधिवेशन  खुला र पारदर्शी हुन आवश्यक छ ।  अधिवेशन  बहस–केन्द्रित बौद्धिक हुनुको साथै युवा–नेतृत्व उन्मुख हुनुपर्छ । क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन प्रतिनिधि चयनमा बौद्धिक व्यक्तित्वहरू समेटिनुको साथै अधिवेशन पूर्णतः नीतिमा आधारित हुनुपर्छ । त्यसैगरी  अधिवेशनको आधार स्थानीय नागरिकसँग संवादयुक्त अधिवशेनपश्चात सबै नेतृत्व स्थानीय चुनावमा काम लाग्ने हुनु पर्यो ।  यो अधिवेशनले क्षेत्र नं ४ र बुढानीलकण्ठ नगरपालिकामा  कांग्रेसले “हामी संघर्षका लागि होइन, शासनका लागि तयार छौँ” भन्ने सन्देश दिनुपर्छ ।

अन्त्यमा: क्षेत्र नं ४ को अधिवेशन एउटा अवसर हो, औपचारिकता होइन  भन्ने भावना  केन्द्रित हुन आवश्यक छ । यहाँका धेरै कुरा फिल्टर हुन आवश्यक छ । केही मानिसहरू जो ऐजेरू बनेर बसेका छन् उनीहरूलाई जगैदेखि निमिट्यान्ट पार्नेदेखि केहि मानिस जो पार्टी संगठनलाई लामो यात्रा गर्न विशेष आवश्यक छ उनीहरूलाई विशिष्ट स्थान दिन यो अधिवेशन सक्षम हुनुपर्छ । 

नेपाली कांग्रेस आज इतिहासको भार र भविष्यको अपेक्षाबीच उभिएको छ । गगन थापाको चुनावी क्षेत्रमा हुने अधिवेशन त्यो द्वन्द्व समाधान गर्ने एउटा दुर्लभ अवसर हो । यदि क्षेत्र नं ४ र बुढानीलकण्ठ कांग्रेसले यस अवसरलाई गुमायो भने भोलि दोष त समयलाई वा गगन थापालाई दिन सकिएला, तर अन्ततः नालयक आफै बनिने निश्चित छ । यदि क्षेत्र नं ४ कांग्रेसले यस अवसरलाई सदुपयोग गर्‍यो भने यही अधिवेशन पार्टीको पुनर्जागरणको प्रारम्भ बिन्दु बन्न सक्छ । यहाँनिर एउटा स्पष्ट प्रश्न छ- क्षेत्र नं ४ कांग्रेस यो अधिवेशनलाई संस्कार बदल्ने अवसर बनाउँछ, कि फेरि एकचोटि औपचारिकता मै सीमित गर्छ?

 

तपाइँको प्रतिक्रिया ।