ओखती : डा. हरिप्रसाद भण्डारी (लघुकथा)

ओखती : डा. हरिप्रसाद भण्डारी (लघुकथा)

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ६।

लोग्नेको मलिन अनुहार देखेपछि उजेलीले सोधिन्, “के भयो ?”
दीनानाथ केही बोलेनन् । लामो सास फेर्दै गोठतिर लागे ।
उजेली पछि पछि गइन् ।
“हैन किन नबोल्नुभएको हो ?”
धेरै कर गरेपछि दीनानाथले भने, “आज मन्त्रीकी बुढी रिसाइन् । मैले दिएको दुध खाएर नानीहरू बिरामी भए रे ! झाडा पखाला लाग्यो रे ! असती रैचिन्, झन्डै कुटिनन् ।”
“खाँटी दुध नलैजाऊ, आफ्नो धर्म नछोड भनेकी थिएँ नि मैले, मान्यौ ? त्यसैको फल हो यो ।”
केही समय रोकिएपछि फेरि गनगन गरिन्, “अरू केही होइन, खाँटी दुध नपचेको हो ।”
साहस बटुल्दै दीनानाथ बोले, “यस्तै भएमा श्रीमान्लाई भनेर कारवाही गर्न लगाउँछु भनेकी छिन् ।”
“इस् गर्छिन् कारवाही । उनीहरूको मात्रै राज छ र ?हामीलाई हेप्ने ! हाम्रा मान्छे छैनन् ? हामीले हातमा दही जमाएर बस्छौँ भन्ठानेका छन् तिनीहरूले । हामीले चाह्यौं भने चुनावमा तिनीहरूलाई भुइँमा पछार्न सक्ने शक्ति छ हामीसँग ।”
दीनानाथ भैँसीलाई घाँसपात गर्दै थिए । उनले सुन्ने गरी उजेलीले सम्झाइन्, “नडराउ, त्यसको ओखती मसँग छ ।”
अर्को दिन बिहान उजेलीले दुई माना दुधमा एक माना पानी हाल्दै भनिन्, “यो लैजाऊ, यस्तो दुध खाएपछि कोही बिमार हुँदैनन् ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।