जवाफ : बिष्णु थापा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,भाद्र २९।
“नमस्कार काका ! कता लाग्नु भयो झोला बोकेर ?” मुसुमुसु हाँस्दै माइला राईले दुई हात जोड़े ।
काकाले पनि हात जोड्दै भन्नु भयो, “अलिकति मासु लिऊँ भनेर बजार झरेको । घरमा छोरी ज्वाईं आको छ अलिक मिठो मसिनो त खुवाउनु पर्यो नि !”
“ए, हुन्छ काका ! साँच्ची काकालाई एउटा मनमा लागेको कुरा भनुँ भनेको” माइला राईले मनको कुरा पोखे । “दुई तीन महिना अघि भाइको बिहे एकदमै धुमधामले नै गरिदिनु भयो । गाउँको कुनै घरलाई पनि बोलाउनु छोड्नु भएन । हाम्रो घरमा पनि ठूलो दाइ र आमालाई बोलाउनु भयो । मलाई मात्र किन बोलाउनु भएन ? हामी एउटै आँगनमा बस्छौं । ठूलो दाईको घरमा जानु भयो । एउटै आँगनको मेरो घरमा आउन सक्नु भएन । मलाई साह्रो नियास्रो लागेको छ । मलाई त गाउँको मान्छे नै ठान्नु भएन ।”
काकाले माइला राईको कुरा टुङ्गिएपछि भन्नु भयो, “हेर माइला ! छः सात महिना अघि त हो । हामीले समाजको गठन गर्यौं । घरैपिच्छेको मेम्बरसिपको चन्दाको कुरा गर्दा तिमी आफैले भन्यौ । एउटै घरमा डबल चन्दा कसरी हुन्छ ? चुलो भिन्दै भयो त के भयो, हामी एउटै आँगनमा छौं । आमा अहिले जिउँदै हुनुहुन्छ, । उहाँ नै हाम्रो घरको मूल हुनुहुन्छ । उहाँकै छत्रछायाँमा छौं । यसर्थ हाम्रो घरमा डबल मेम्बरसिप हुने कुरो आएन ।”
तिम्रो कुरो मानिलिएर एउटै मेम्बरसिप लिएर तिमीलाई अलग मानेनौं । एउटै घरमा दुई दुई वटा निम्तो दिने कुरै आएन र ठूलो दाइ र आमालाई निम्तो दिएँ ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
