धर्मान्ध : डा. टीकाराम पोखरेल (लघुकथा)

धर्मान्ध : डा. टीकाराम पोखरेल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,भाद्र २९।

कृष्णजन्माष्टमीको दिन एकाबिहानै नुहाइधुवाई सकेर ‘श्रीकृष्ण गोविन्द हरेमुरारि, हे नाथ नारायण वासुदेव’ भन्दै कृष्णभक्त बाजे पूजासामग्री पसल पुगे ।
गञ्जी र कछाड लगाएर पसल अगाडि उभिएका बाजेले पसलेतिर पैसा तेस्र्याउँदै भने– ‘साहुजी मलाई मयुर प्वाँख दिनुस् त ।’
‘मेरोमा मयुर प्वाँख त छैन त ।’ साहुजीले प्रत्युत्तर फर्काए ।
त्यही बेला सडकमा हिँडिरहेको एउटा लुते कुकुर कृष्णभक्त बाजेको नजिक आएर उनलाई सुँघ्न खोज्यो । हेर्दा धेरै दिनदेखि खान नपाएको जस्तो देखिने त्यो कुकुरले बाजेसँग केही खाने कुराको आस गरे झैँ देखिन्थ्यो ।
‘च्या ! डाम्ना । नुहाइधुवाई गरेर कृष्णजन्माष्टमीको व्रत बस्न लागेको मान्छेलाई डाम्नाले छुन आएर झण्डै व्रत भङ्ग गरिदियो ।’ बाजेले कुकुरलाई धपाउँदै भने ।
बाजेको गालीले कुकुर अलि पर स¥यो ।
‘अनि किन नराखेको मयुर प्वाँख ? आज कृष्ण अष्टमीको दिन, कृष्णको प्रिय कुरा मयुरप्वाँख पनि नराख्ने कस्तो पूजा सामग्री पसल हो साहुजी तपाईँको ?’ बाजेले पूजापसलेसँग असन्तुष्टि पोखे ।
पसले र बाजेको कुरा एक वातवारणप्रेमी युवकले सुनिरहेको थियो । युवकले बाजेतिर फर्केर भन्यो– ‘साहुजीले प्वाँखको व्यापार नगरेर ठीकै त गर्नु भो । हेर्नुस् बाजे, तपाईँहरू जस्तै प्वाँखप्रेमीहरूले गर्दा प्वाँँख आपूर्तिकर्ताद्वारा आज कयौँ निर्दोष मयुरहरू मारिएका छन् । यसरी निर्दोष प्राणी मारिनुमा प्वाँख व्यापारी मात्र होइन, तपाईँहरू जस्ता प्वाँखप्रेमी पनि कम्ता दोषी हुनुहुन्न । फेरि कृष्णले मलाई प्वाँख चढाए मात्र म खुसी हुन्छु भनेर पनि त कतै भन्नु भएको जस्तो मलाई त लाग्दैन ।’
‘मलाई धेरै शास्त्रको बखान नगर भाइ । तिमीहरू उम्रिँदैका तीनपाते धर्मविरोधिहरूलाई धर्म के हो र धर्म कसरी हुन्छ भन्ने के थाहा ? सुन भाइ, ती मयुरहरूले कृष्णका लागि जीवन आहुती गर्न पाउनु भनेको अहोभाग्य हो ।’ बाजेले अलि रिसाएको स्वरमा भने ।
‘ए बाजे ! कुनै देवताको मन्दिरमा नरबली चढाए देवता खुसी हुन्छन्, नरबली चढ्न पाउने मान्छे पनि अहोभाग्यशाली हो भनेर कसैले भन्यो भने तपाईँ नरबली चढ्न तयार हुनुहुन्छ ?’ युवकले बाजेको भनाइमा कडा प्रतिरोध ग¥यो ।
युवकको कुरा सुनेर कृष्णभक्त बाजे अमिलो मुख लगाउँदै मयुरको प्वाँख खोज्न अर्को पूजा सामग्री पसलतिर दौडिए ।
प्वाँखका लागि मारिएका मयुरका आत्माहरूले धर्मान्धहरूलाई धिक्कारिरहेका थिए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।