द्वारकाको द्वारतिर लम्किँदा : कलाधर काफ्ले
कपन अनलाइन
काठमाडौं, असोज १२।
काठमाडौं, असोज १२।
एउटा अफ्रिकी उखान छ – ‘तिमी छिटो जान चाहन्छौ भने एक्लै जाउ, टाढा जान चाहन्छौ भने सँगै जाऔँ ।’ हुन पनि द्वारका भनेको हाम्रो लागि टाढाको तीर्थस्थल हो । झन्डै दुई दशकअगाडि पारिवारिक समूहमा त्यतातिर यात्रा गर्ने जोहो गरिएको थियो तर आफू एउटा प्राज्ञिक कार्यमा जेलिनु परेकाले त्यतिबेला द्वारका जाने अवसर गुम्यो । यसपालि फेरि त्यहाँ जाने प्रसङ्ग चल्यो । एक पटक द्वारका पुग्ने मेरो चिर प्रतीक्षित आकाङ्क्षा पूर्ण हुने आशा जागृत भयो । यसैले विलम्ब नगरी काठमाडौँ ठमेलस्थित अग्र्यानिक वल्र्ड ट्राभेल एन्ड टुर प्रालिको व्यवस्थापनमा काठमाडौँ–मुम्बई–काठमाडौँसम्मको जावत–आवत नेपाल वायुसेवा निगमको आरए बाट गर्ने र मुम्बईदेखि मुम्बईसम्मको यातायात र बसोबासको व्यवस्था स्थानीय ट्राभेल एजेन्टले नै मिलाउने तय पनि गरियो ।
हाम्रो ११ दिने तीर्थे भ्रमणका लागि सात जना महिला –अम्बिका अधिकारी, दीपा गौतम, नितु बस्नेत, रञ्जु शर्मा, विजया खतिवडा, शारदा काफ्ले र शिवादेवी काफ्ले) र पाँच जना पुरुष –झम्कप्रसाद सिटौला, टेकप्रसाद घिमिरे, माधवप्रसाद अधिकारी, प्रा.डा. वासुदेव काफ्ले र पङ्क्तिकार) सहित जम्मा १२ जनाको भ्रमणटोली बन्यो । २०८० साल कार्तिक १२ गतेका दिन काठमाडौँबाट मुम्बईतर्फ प्रस्थान गरेको हाम्रो टोली कार्तिक १३ गते अपरान्ह २ बजे अगावै भारत गुजरातको द्वारकास्थित होटल सुन्दर प्यालेसको हाताभित्र प्रवेश गरिसकेको थियो ।
हामी आ–आफ्ना झिटीगुन्टासहित फटाफट बसबाट ओल्र्यौं र सरासर होटलको फ्रन्टडेस्कमा पुगेर कोठाको साँचो लियौँ । होटलका कोठाहरू सामान्य सुविधासहितका मझौला किसिमका देखिए । हामी वास्तवमा निद्रा, भोक र थकाइले कचल्टिएका थियौँ । यसैले केही बेर सुस्तायौँ । त्यसपछि शौचादि स्नानादि कर्मबाट निवृत्त पनि भयौँ अनि तुरुन्तै होटलको लवीमा जम्मा भयौँ । आश्चर्य ! हाम्रा टोलीप्रमुख माधव अधिकारीसहित ६ जना साथीहरू त हामीलाई कुनै जानकारी नै नदिई यसअघि नै बाहिर निस्कनु भएको सूचना पायौँ । अब के गर्ने?
हामी बाँकी ६ जना थियौँ । यसो बुझ्दा द्वारिकाधीशको मन्दिर नजिकै रहेको थाहा पायौँ । त्यसो भए सर्वप्रथम देव–दर्शन नै गर्ने र त्यसपछि घुमघाम गर्ने कुरामा मतैक्य भयाँै र हामी पनि होटलको हाताबाट बाहिरियौँ । बाटोको अवस्था र बाटोको दायाँ–बायाँका घरहरूको बनोट अनि ठाउँठाउँमा कुनै लम्पसार परिरहेका र कुनै बाटो न घाटो यसै तेर्सो परिरहेका साँढेहरूको बिगबिगी देख्दा द्वारिकापुरी त साच्चिकै पुरातन नगरी भएको आभास पाइयो । यत्तिकैमा देवदर्शन अघि नजिकै बगिरहेकी गोमती नदीमा गएर पञ्चस्नान गर्ने प्रसङ्ग पनि चल्यो । हामी सिँढी ओर्लँदै सोझै गोमतीतर्फ हानियौँ ।
गोमती शब्द सुन्नेबित्तिकै म त झसङ्ग भएँ । अगुल्टोले पोलेको कुकुर बिजुलीदेखि क्वाईं भनेझैँ भयो । वागमतीमा बग्ने मलमूत्रको लेदो र त्यहाँबाट व्याप्त हुने दुर्गन्ध सम्झिँदा अत्यन्तै पीडा बोध भयो । म सरासर गोमतीको किनारमा पुगेर ठिङ्ग उभिएँ । दुर्गन्धको पटक्कै अनुभव भएन । एक अञ्जुली पानी हातमा लिएर हेरेँ, कञ्चन देखियो । एक फुट जति खुट्टा डुबाएर हेर्दा पैताला छर्लङ्गै देख्न सकियो । कुरो स्पष्ट भयो, गोमती नदीको जल सफा थियो । द्वारकापुरीजस्तो घना बस्तीको फेदीहुँदै बगेकी गोमती कञ्चन देख्दा त्यसप्रति असाध्दै श्रद्धाभाव जागृत भयो । तत्पश्चात पञ्चस्नानबाट निवृत्त भइयो ।
गोमतीको किनारमा उँट व्यवसायी बग्रेल्ली देखिए । प्रतिव्यक्त्ति रु १००।– मा त्यहाँका प्रमुख घाटहरूमा घुमाइदिने उनीहरूले बाचा पनि गरेका थिए । तर हामी त्यतिबेला उँट चढ्नु भन्दा पनि हाम्रा साथीहरूको खोजीमा व्यग्र थियौँ । यसैले हामी मन्दिरतिरै सोझियौँ ।
गोमतीको किनारदेखि नै प्रारम्भ भएको सिँढी चढ्दै द्वारकाधीशको द्वारनेर पुगियो तर द्वार बन्द थियो, खुल्ने समय भएकै थिएन । एकातिर हरियो तुलसीको माला बेच्नेको लाम थियो भने अर्कोतिर दर्शनार्थीहरूको भिड पनि बढ्दैगरेको देखिन्थ्यो । यसैबीच हराइरहेका हाम्रा साथीहरूसँग पनि त्यहीँ नै ट्वाक्क भेट भयो । मैले माधवजीसँग अलि खरो लवजमै सोधेँ –‘किन यतिखेर ? कता हराइरहनु भएको ?’ खिस्स हाँस्दै उहाँले भन्नुभयो –‘हामी उँट चढ्नतिर लाग्यौँ ।’ मैले तत्कालै प्रतिक्रिया जनाएँ– ‘हामी पनि त चढ्थ्यौँ नि ऊँट ।’ ‘ल, त्यसो भए उँट चढ्न इच्छुक जति सबै आउनुहोस्’ भन्दै माधवजी त हिँडीहाल्नु भयो । म, भाइ वासु र शिवा पछि लाग्यौँ ।
हामी मन्दिर परिसरबाट बाहिरियौँ अनि पुरातन द्वारका नगरीको सामान्य अवलोकन गर्दै अरब सागरको किनारमा पुग्यौँ र त्यहीँ रोकियौँ । अलिकति अगाडि जाने हो भने त्यहाँबाट पाकिस्तानी सिमाना देख्न सकिने प्रसङ्ग पनि चलेको थियो तर हामी गएनौँ । जहाँ हामी उभिएका थियौँ त्यहाँ द्वारकाको ठूलो भू–भाग धनुषाकार पारेर अरब सागरले खप्लक्कै खाएको दृष्टिगत भयो । त्यस भूभागको बचाउका निम्ति त्यहाँ रिटेनिङ वालका रूपमा अजङ्गका हजारौँ ढुङ्गाहरू र लाखौँलाख सिमेन्टका तीन चोसे ब्लकहरू ओछ्याइएका देखिए । हुन त त्यतिबेला समुद्रको सतह निकै तल देखिएको थियो । तर समुद्र बढेर निकै माथि आउने र छालले सबै कुरा बढारेर लैजाने गरेका चिन्हहरू पनि त्यहाँ देख्न पाइएको थियो । झट्ट हेर्दा अहो ! त्यो बृहत् निर्माण कार्य कसरी सम्भव भयो होला भने जस्तो पनि लागेकै हो ।
हामी उभिएकै ठाउँको नगिचै पूर्वतिर मनलाई अलि खिन्न पार्ने किसिमका दृश्यहरू देख्नुप¥यो । ती के भने त्यहाँ दुइटा विद्युत शव–दाहनगृह मौजुद देखिए । विद्युत न आएका बेला प्रयोग गर्नका लागि सयौँ टन दाउरा चाङ लगाएर राखेको पनि दृष्टिगत भयो । मानव जातिको मृतक शरीरलाई खरानी पार्ने स्थल देख्दा संवेदनशील हृदय अलि विचलित त हुने नै भयो नि !
यताउति हेर्दा त्यहीँनेर एकजना उँट व्यवसायी देखियो जो माधवजीसँग पूर्वपरिचित भइसकेको थियो । ऊ हामीतिर आयो, हामी ऊ भएतिर गयौँ । कुराकानी हुँदा भाइ वासु र म मात्र प्रतिव्यक्ति भाडा रु. ४०÷– तिर्ने गरी उँट चढ्ने भयौँ । उँट अलि पर थचक्क बसिरहेको थियो अनि आँखा चिम्लेर मस्तसँग उघ्राइरहेको देखिन्थ्यो । उँट व्यवसायीले बस्ने ठाउँ ठिकठाक पा¥यो, हामी उँटमाथि थचक्क बस्यौँ । उँटले उठ्ने सुरसार नै गरेन । सायद दिनभर भारी बोक्दा बोक्दा थकाइले चूर भएर होला, ऊ उठ्नै मानेन ।
हामी वस्तुभाउलाई खुसी पार्न पिठ्यूँमा ढ्याप्प धाप मार्ने गर्छौँ । उँट मालिक त उँटलाई फकाउन उसको लेप्रिएको ओठ पो सुमसुम्याउन पुग्छ । पहिलो पटक सुमसुम्याउँछ, उँट उठ्दैन । दोस्रो पटक सुम्सुम्याउँछ, उँट उठ्न खोज्छ, सक्दैन । तेस्रो पटक अलि धेरै बेरसम्म सुमसुम्याए प्छि उँटले क्रन्दनयुक्त ‘क्वाँ’ आवाज निकाल्दै बल्लतल्ल उठ्छ र बिस्तारै उसको मालिकको पछिलाग्न थाल्दछ । जसोतसो हाम्रो १० मिनेटको घुमाइ त पूरा भयो तर मलाई भने किन–किन त्यो मसानघाटको सेरोफेरोमा भएको हाम्रो उँट चढाइ पटक्कै चैनयुक्त्त भएन ।
उँटको चढाइ पश्चात् हामी फटाफट मन्दिरतिरै लम्कियौँ । द्वारकाधीशको द्वार खुलिसकेको देखियो । एकेक वटा तुलसी (हरियो) को माला हातमा लियौँ र लामो सिँढी चढ्दै गेटभित्र प्रवेश ग¥यौँ । महिला र पुरुष पङ्क्तिबद्ध हुने छुट्टाछुट्टै कक्ष त थिए तर दर्शनार्थीहरूको भिडमभिड र ठेलमठेल पनि सुरु भइसकेको देखियो ।
भिडमा उभिन मात्र सक्नुपर्छ, आफैँ हिडिन्छ भनेझैँ हामी पनि स्वचालित हुँदै स्टिलको ठेलोसम्म पुग्यौँ र मालालाई त्यही ठेलोमाथि विसर्जन ग¥यौँ । ठेलोभन्दा पूर्वतर्फको फराकिलो अनि कलात्मक कक्षको केन्द्रमा मुरलीवादनको मुद्रामा विराजित कृष्ण वर्णका कृष्णजीलाई नमन गर्दै त्यहाँबाट बाहिरियौँ ।
हामी हाम्रो होटलमा जान छोटो र साँघुरो बाटोमा प्रवेश ग¥यौँ । अहो ! त्यहाँ त एउटा जङ्गी शिववाहन तेर्सो परेर ठिङ्ग उभिरहेको पो देखियो । न जानु न फर्किनु, अचकचमा परियो । हाम्रो समूहबाट फ्याट्टै एउटा आवाज सुनियो– ‘फकौँ, फराकिलै बाटो जाउँ, पाँच मिनट बढी समय लागेर के फरक प¥यो ?’ यसैबीच त्यहाँ त एउटा अचम्मै भयो । हाम्रो समस्या बुझेझैँ गरी त्यो बूढो साँढे त बिस्तारै सोझियो अनि अलिकति बाटो बन्यो । हामीले पनि त्यो बसाहाले पक्कै पनि हामीलाई नै निकास दिएको अनुमान लगायौँ । लामा–लामा सिङ भएको त्यो भीमकाय साँढे अत्यन्तै डरलाग्दो देखिए पनि स्वभाव भने शान्त प्रकृतिको लाग्दथ्यो । यसैले एकेक गरेर छिर्ने आँट गरियो । त्यति बेला त्यो साँढे डुक्रेको भए, हुँकार मात्र छोडेको भए पनि हाम्रो हालत के हुन्थ्यो ? अवश्य पनि हाम्रो सातोपुत्लो उड्थ्यो होला ! तर त्यसो भएन । किनभने जीवनमा हामीजस्ता हजारौँ यात्रुको आवत–जावतबाट अभ्यस्त भएको त्यो बसाहाले वास्तवमा हाम्रो हिँडाइप्रति कुनै प्रतिक्रिया नै देखाएन । किन ? किनकि त्यो त नन्दी थियो, शिववाहन नन्दी ।
हामीले कृष्ण मन्दिरमा हुने सायङ्कालीन आरतीमा सामेल हुने निधो गरेका थियौँ । यसैले समय मिलाएर हामी होटलबाट फेरि बाहिरियौँ । मोबाइल फोनसहित मन्दिर प्रवेश निषेध थियो । सम्झने केही साथीहरूको फोन होटलमै राखियो, नसम्झने मजस्तो होस प्रसादहरूको फोन खल्तीमै सुतिरहेको पाइयो । फोन राख्नेगरेको एक हलवाईसँग सोध्दा उसले मोबाइल फोन राखेको पैसा नलाग्ने तर प्रत्येक मोबाइलवालाले रु १००÷– को मिठाई किन्नै पर्ने सर्त सुनायो । स्पष्टताका लागि मैले ४÷५ मोबाइल एउटै झोलामा राख्ने र त्यस वापत रु १००÷– को प्रसाद किन्ने कुरा गर्दा हलवाई बेस्सरी झोक्किदै भन्यो– ‘नहीँ होगा ।’
त्यहाँ मिठाई किन्नु भनेको आखिर कृष्णार्पणका लागि न हो । मलाई लाग्यो, त्यतिखेर मुठी कस्नुभन्दा दिल फुकाउनु राम्रो हो । यसैले मैले पनि हलवाईलाई मेरो मोबाइल राख्न दिएँ र एउटा अलि राम्रै प्रसादको प्याकेट लिएर मन्दिरतिर हुर्रिएँ । अहो ! मन्दिर परिसरमा त ठेलमठेल सुरु भइसकेको देखियो । जे भए पनि आफू पनि पङ्क्तिबद्ध भइयो ।स्वचालित रूपमा म ठेलैनेर पुगेँ र हातमा रहेको प्रसादको प्याकेटलाई ठेलोमाथि राखेर कृष्णलाई अर्पण गरेँ अनि श्रीहरिलाई नमन गर्दै पलभरमा त्यहाँबाट बाहिरिएँ । दश कदम मात्र म के दूरस्थ भएको थिएँ, पछाडिबाट एक जना मन्दिरको सेवकले ‘साहेब, आपका प्रसाद’ भन्दै मेरो पाखुरामा कोट्यायो र एउटा प्याकेट मेरो हातमा थमाएर ऊ फरक्क फक्र्यो । मेरो हातमा त्यही प्याकेट देखेँ जुन मैले कृष्णजीलाई अर्पण गरेको थिएँ । किन हो कुन्नि ? त्यतिबेला मलाई औधी प्रसन्नताको अनुभव भयो ।
हाम्रा केही साथीहरू मन्दिर परिसरको एउटा कुनोमा टुक्रुक्क बसिरहनु भएको देखेँ, म पनि त्यहीँ गएर मिसिएँ अनि त्यहीँको एक पेटीनेर पद्मासनमा बसेँ । मन्दिरको सेरोफेरो झल्झलाकार देखिन्छ । मन्दिरको भित्रीभागमा प्रज्वलित मधुर दीपहरूबाट निसृत प्रकाश अत्यन्त मनोरम लाग्दछ । आरती गायनबाट प्रवाहित श्रुतिमधुर धुन सुन्दा उपस्थित जनसमुदाय नै मन्त्रमुग्ध भएको अनुभूति हुन्छ । यसरी आरती गायनको सुमधुर धुन र ध्वनी अनि स्वर र सङ्गीत सुन्दासुन्दै समय त रकेटको गतिमा हुर्रिरहेको हामीलाई पत्तै हुँदैन । यसैबीच मेरो हातमा रहेको प्रसादको प्याकेटले मेरो ध्यान भङ्ग भयो । मैले हतपत त्यो प्याकेट खोलेँ र प्रसाद ग्रहण गरिदिन आग्रह गरेँ । साथीहरूले कृपापूर्वक प्रसाद ग्रहण गुर्नभयो अनि त्यो मेरा लागि निकै खुसीको विषय बन्यो ।
हामीले रात्रिकालीन भोजनपछि मात्र होटलमा फर्किने सल्लाह ग¥यौँ । यसो हेर्दा मन्दिर परिसरसँगै जोडिएको एउटा प्रसादालय देखियो । अहा ! कति सुन्दर नाउँ, प्रसादालय । त्यो त अरू केही नभएर आखिर हाम्रो खोजीमा रहेको भोजनालय नै भएको पो बुझियो । सोधपुछ गर्दा निःशुल्क भोजनालय भन्न पनि नमिल्ने, सःशुल्क भोजनालय भन्न पनि नसकिने, स्वरुचि भोजनका लागि जम्मा ३०÷– रुपियाँ ! अहो, कति सस्तो ? त्यहाँको चलनअनुसार हामी काउन्टरतिर हानियौँ । पाँचोटा काउन्टर सबै भरिभराउ । जे भए पनि क्यूमै बसेर जनही तीस रूपियाँको टिकट काट्यौँ, टिकट देखाएर थाली लियौँ । खाद्यपदार्थ वितरकले हाम्रो थालीमा फटाफट खिचडी, रोटी, दुईथरी तरकारी, कडी अनि अन्य परिकार पनि राखिदियो । खाइयो, थपी थपी खाइयो अनि तृप्त भइयो । प्रसङ्गले खिचडी त हाम्रा भारतीय मित्रहरूको राष्ट्रिय खाना भएको जानकारी पनि पाइयो । त्यति मात्र कहाँ हो र ? कुनै समय द्वारकाधीशले त्यसै ठाउँमा खिचडी खानुभएको कथा सुन्दा त्यो त हामीलाई साँच्चिकै एउटा प्रसन्नताको विषय पनि बन्यो । रात्रिभोजनपछि हामी होटलतिर सोझियौँ अनि हाम्रो दोस्रो दिन (कार्तिक १३ गते) को भ्रमण पनि त्यहीँ नै टुङ्गिन पुग्यो ।
कार्तिक १४ गतेको दिन पनि बिहायो । पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहान सबेरै हामी होटलबाट बाहिरियौँ र सोझै गोमतीको किनारमा पुग्यौँ । परमात्माको आज्ञानुसार स्वर्गबाट पृथ्वीमा अवतरण गरेकी गोमतीमा स्नान गर्ने मानिसलाई बैकुण्ठलोक प्राप्त हुने र मत्र्यलोकमा पुनः जन्मिरहुन नपर्ने एउटा पौराणिक कथन पनि सुन्ने अवसर पायौँ । जे भए पनि हामीले आ–आफ्ना रीत र परम्परानुसार कसैले पञ्चस्नान त कसैले पूर्णस्नान ग¥यौँ । नढाँटी भन्नुपर्दा मैलेचाहिँ त्यस कञ्चन गोमतीमा स्वच्छताका लागि पनि निःसङ्कोच पूर्णस्नान गरेँ ।
कुनै पनि तीर्थयात्रीले तीर्थस्थलमा गएर गर्नुपर्ने मुख्य कृत्य हुन्– देवदर्शन र पितृतर्पण । हिजो हामीले द्वारिकापुरीलाई स्पर्श गर्नेबित्तिकै कृष्ण दर्शन ग¥यौँ । आज हामी पितृतर्पणका लागि गोमतीका किनारमा भेला भएका छौँ ।
हाम्रोे भ्रमणटोलीका सदस्य श्री टेकप्रसाद घिमिरे तर्पणादि कर्मसम्बन्धी हतौडीको जानकार हुनुहुन्थ्यो । उहाँलाई तत्सम्बन्धी कतिपय सूत्र मुखाग्र थिए भने कतिपय मन्त्र लिपिबद्ध भएका पनि देखिन्थे । घिमिरेजीले मन्त्रोच्चारण गर्नुभयो, हामीले आ–आफ्ना पितृहरूलाई स्मरण ग¥यौँ । तर्पण कर्म समाप्त भयो । केही साथीहरू त पिण्डदानतिर पनि लाग्नुभयो । जे भए पनि हामीले पवित्र नदी गोमतीको किनारमा दुई घण्टाको समय राम्रैसँग व्यतीत गरेका थियौँ ।
गोमती किनारमा हाम्रो तर्पणादि कर्मको समापन भएपछि हामी देवदर्शनका लागि स्वर्गद्वारतिर उन्मुख भयौँ । स्मरणीय छ, पौराणिक कथानुसार कृष्ण मन्दिरदेखि द्वारिकानगरीतिर जाने मूलद्वारलाई ‘मोक्षद्वार’ र गोमती घाटतिर जाने मूलद्वारलाई ‘स्वर्गद्वार’ भनिन्छ । हामी गोमतीघाटदेखि छपन्न पाइटे लामो सिँढी चढेर स्वर्गद्वारबाट प्रवेश ग¥यौँ र द्वारिकानाथ मन्दिरको प्राङ्गणमा पुगेर पङ्क्तिबद्ध भयौँ । सर्वप्रथम त तीन फिट अग्ला द्वारिकानाथको दर्शन ग¥यौँ । तत्पश्चात मन्दिर परिक्रमा गर्दै त्यहाँस्थित सम्पूर्ण देवगणमा नमन गर्दै हामी त्यहाँबाट बाहिरियौँ । त्यस दिन हामी आतुरतामा थियाँै, यसैले सोझै होटल सुन्दर प्यालेसतिर लम्कियौँ । बिहानको नौ बज्दानबज्दै हामी होटलको प्राङ्गणमा पुगिसकेका थियौँ ।
भाइ वासुदेव काफ्ले र पङ्क्तिकारले संयुक्त्त रूपमा भ्रमणटोलीका सम्पूर्ण सदस्यज्यूहरूलाई बिहानको जलपानका लागि अनुरोध गर्दा उहाँहरू सबैले स्वीकार गर्दै होटल सुन्दर प्यालेसकै रेस्टुराँमा स्वरुचि जलपान ग्रहण गरिदिनु भयो । हामी कृतकृत्य भयौँ, ज्यादै खुसी लाग्यो । मलाई लागेको अलि अनौठो कुरो, जलपानका लागि तयार पारिएका खाद्य पदार्थमध्ये एउटा प्रमुख खाद्य परिकारमा हरियो अनि पूर्ण रूपमा तारेको सिङ्गै खुर्सानीको चाङ् देखियो । खुर्सानी धेरै पिरो नभए पनि त्यहाँका मानिसलाई अत्यधिक तिखा (पिरो) रुचिकर हुने कुरो सहजै अनुमान गर्न सकिन्थ्यो ।
दिउँसोको समयमा द्वारकाको सेरोफेरोमा अवस्थित शिवालय देवालय अनि मठमन्दिरको दर्शन–अवलोकन गर्ने र त्यसपछि हामी अर्कैं गन्तव्यतर्फ लाग्ने कार्यक्रम थियो । यसैले हामी आ–आफ्ना भिटीगुन्टा तयार पार्ने तरखरमा थियौँ । यसैबीच हाम्रो बस पनि होटलको हाताभित्र प्रवेश गरेको देखियो । हाम्रा सबै सामान बसभित्र थन्किए । सुखद बसाइका लागि हामीले होटल सुन्दर प्यालेसलाई धन्यवाद दियौँ अनि द्वारकाधीशलाई पुनः एकपटक नमन गर्दै होटलबाट बाहिरियौँ ।
द्वारकाको पुरातन नगरीको घनाबस्ती छिचोल्दै हाम्रो बस मूल बाटोमा पुग्यो अनि एक रफ्तारको गतिमा गुड्न थाल्यो । हामी दायाँ–बायाँ आँखा नचाउन थाल्यौँ । कतै बलौटे सामुद्रिक किनार त कतै बञ्जर भूमि लम्पसार परेका देखिए । यसैबीच झन्डै बीस किलोमिटरको गुडाइ पश्चात हाम्रो बस एउटा लाम्चो सागर तटमा पुगेर टक्क रोकियो । त्यो नै सुदामापुरी थियो । कृष्णका बालसखा सुदामाका नामबाट सुपरिचित स्थान, सुदामापुरी । अहो ! त्यहाँ त एउटा मेला नै जस्तो पो देखियो । वास्तवमा त्यो कुनै मेला नभएर मानिसहरूको भेला थियो, श्रीकृष्णको दर्शनका लागि बेटद्वारिका जान हिडेका हामीजस्तै तीर्थयात्रीहरूको भेला ।
यात्रुहरूकै भिडको बीचबीचमा पनि बिक्रिका लागि राखिएका भुजा (गोलफुकी) र मलका साना–ठूला प्याकेटका चाङ देखिन्थे । प्रायः सबै यात्रुका हातमा त्यस्ता प्याकेटहरू झुन्डिएका देखिए । पङ्क्तिकारले पनि एकेक वटा प्याकेट किन्यो । यसो बुझ्दा त्यो चामलको प्याकेट त सुदामाको कनिकाको प्रतीक भएको पो जानकारी मिल्यो । अझै स्पष्ट गरौँ । सुदामाले आफ्ना बालसखा कृष्णजीलाई भेट गर्न जाँदा लगेको कोसेलीको प्रतीक । जनजिब्रोमा झुण्डिएको ‘सुदामाको कनिका’ नामक हृदयस्पर्शी कथाको एउटा वस्तु । अझ भनौँ, अति शक्त्तिशाली र अति निरीह वा अति सम्पन्न र अति विपन्न साथीहरूबीच भएको आत्मीय मित्रताको उत्कृष्ट नमुनाको एउटा कथा । कोसेलीका रूपमा कृष्णजीलाई एक मुठी चामल अर्पण गरेर समृद्धि प्राप्त गर्ने अभिलाषा राख्दै कृष्णको दर्शनार्थ लम्किरहेका यात्रुहरूको बृहत् ताँती ।
हामी हतार–हतारमा अगाडि बढ्यौँ र लुँडिएर डुङ्गा चढ्ने लाइनमा उभियौँ । यसैबीच त्यहाँ एउटा अप्रिय घटना घट्यो । एउटा कुकुरले क्वाइँ, क्वाइँ गर्दै अत्यन्तै पीडादायी आवाज निकाल्यो । त्यति नै बेला हाम्रो भ्रमण टोलीकी एक जना सदस्य विजया खतिवडाको गोलीगाँठोनेर कुकुरले दाँत गाडेर रगतै निकालेको देखियो । आफूले कुकुरलाई छुँदै नछोएको भन्ने विजयाको भनाइ पनि सुनियो । यसो बुझ्दा त्यहाँ त ‘राम गिरी गाँजा खाने, गोविन्द गिरीलाई लाग्ने’ उखान चरितार्थ भएजस्तो लाग्यो । कुकुर अलि पर गयो र ठ्यास्स बस्यो । उसले बडो गहिरो दृष्टिले हामीलाई नै क्वारक्वार्ती हेरिरहेको देखियो । हामीलाई लाग्यो, कुकुर सद्धे हो तर उसलाई अरू कसैले कुल्चेको पीडाको प्रतिव्रिmया स्वरूप हामीलाई टोक्यो । जे होस्, फर्किँदा रेविजको उपचार गर्ने तय गर्दै डुङ्गातिर लागियो । आश्चर्य ! विजयामा त न कुनै ऐया आत्थु न तनाव, न कसैप्रति गुनासो । सहिष्णुताको साँच्चिकै एउटा नमुना देख्न पाइयो त्यहाँ ।
हामी जुन डुङ्गामा चढेका थियौँ, त्यो मोटरबोट थियो । देख्दैमा पुरानो ढाँचाको अनि अलि जीर्णजस्तो देखिन्थ्यो । सुरक्षाका लागि डुङ्गाको बिटमा दर्जनौ थोत्रा टायर झुण्ड्याइएका देखिन्थे । डुङ्गाको बीच भागमा थुप्रै लाइफ ज्याकेट थुप््रयाइएका त थिए तर कसैले पनि प्रयोग गरेका थिएनन् । डुङ्गा जसै चलायमान भयो, त्यहाँ एउटा रमाइलो दृश्य देखाप¥यो । त्यो के भने पल्केको झिल्के घरीघरी मिल्के भनेझैँ त्यहाँ त खरानी रङका थुप्रै–थुपै्र सामुद्रिक चराहरू देखापर्न थाले । हामीले किनेको गोलफुकीको बल्ल काम आयो । सबैजसो यात्रुले मुठीका मुठी गोलफुकी डुङ्गा बाहिर फ्याँक्ने र पानीमा तैरिरहेका ती गोलफुकीका दानालाई ती सामुद्रिक चराले टपाटप टिपेको दृश्य हेर्न लायक थियो । रमाइलो भयो । माछाहरू पनि गोलफुकी खान त्यसरी नै झुम्मिन्छन् भन्ने कुरो त सुनियो तर त्यस्तो दृश्य देख्न भने पाइएन । जे होस्, जलचर नभचर दुवैलाई थोरै भए पनि चाहारा खुवाउन पाइएकोमा ज्यादै खुसी लाग्यो ।
चराको चारा पनि रित्तियो, आफ्नो गन्तव्यस्थल पनि नजिकिदै गएको देखियो । झन्डै पाँच किलोमिटरको खाडीको दूरी पार गर्दै हाम्रो डुङ्गा पनि बेटद्वारिका नामक टापुको एक छेउमा पुगेर टक्क रोकियो । हामी फटाफट ओर्लियौँ र सरासर श्रीकृष्णजी विराजमान रणछोड रायको दरबारतिर लम्कियौँ ।
मध्यान्हको समय । टन्टलापुर घाम । निश्चल हावा ।समुद्र सतहभन्दा केही फिटमात्र उचाइ रहेको बेटद्वारिकामा औधी उष्णताको अनुभव गरियो । खलखली पसिनाका धारा बग्न थाले । उता रणछोड दरबार भव्य र विशाल देखिन्थ्यो । दरबारको यत्रतत्र देवीदेवताका मूर्ति स्थापित भएका देखिन्थे । देवदर्शनका लागि लालायित यात्रुहरूबीच शान्तिपूर्ण तरिकाले ठेलमठेल र भिडमभिड चलिरहेको देखियो । साँच्चै भन्ने हो भने दर्शनार्थीहरूको त्यस्तो खचाखच त गोमती द्वारिकाधीशको मन्दिरमा पनि देखिएको थिएन ।
हामी घुचेटिँदा घुचेटिँदै हातमा उत्तानो पारेर शङ्ख धारण गरेका कृष्णजीको विशाल मूर्तिको नगिचै पुग्यौँ, आफ्नै समृद्धिको कामना गर्दै कोसेली स्वरूप हातमा रहेको एक मुठी चामल अर्पण ग¥यौँ अनि श्रीहरिलाई नमन गर्दै त्यहाँबाट बाहिरियौँ । रणछोड दरबारको सेरोफेरोमा सयौँ मठमन्दिर रहेको जानकारी मिल्यो । जहाँ भगवान कृष्ण बसेका हुन्छन्, त्यहाँ अनगिन्ती देवीदेवता रहनु स्वाभाविक पनि हो । कवि शिरोमणि लेखनाथ पौड्यालले ‘कृष्णका तटको ढुङ्गो देवता कहलाउँछ’ यसै भनेका होलान् त ?
हामी त्यहाँका भगवान शङ्खोद्धार मन्दिर अनि हनुमान लगायत ३÷४ अन्य मन्दिरमा त टेम्पो लिएरै पुग्यौँ, दर्शन–अवलोकन पनि ग¥यौँ । बेटद्वारिकालाई शङ्खोद्धार तीर्थका रूपमा सम्बोधन गर्ने गरिएको कुरो पनि अवगत भयो । तर बेटद्वारिकामा रहेका देव मन्दिरहरूमा न पुगेर साध्य न बुझेर वा पुजेर नै साध्य । यसैले बाह्र राजा एकै स्वस्ति भनेझैँ त्यहाँका सबै देवीदेवतालाई एकमुष्ट नमस्कार गर्दै फर्कने तरखरमा लाग्यौँ ।
बाटोको एउटा मझौला पसलमा मानिसहरूको घुँइचो देखियो । सोडा–पानी वा मीठापानी बेच्ने ठाउँ थियो त्यो । दुई जना पसलेलाई सोडापानी बेच्दैमा भ्याइनभ्याइ थियो । एक छेउमा सोडापानी खाएका हजारौँ जुठा ग्लासको थुप्रो पनि देखियो । पङ्क्तिकारले पनि रु. ३०÷– तिरेर एक ग्लास मीठा पानी खाएकै हो । ओहो ! त्यो सोडा पानी मलाई यति मीठो लाग्यो कि जीवनमा कहिल्यै पनि र कतै पनि त्यति स्वादिलो मीठापानी खान नपाएको अनुभूत भयो । हुन त साग बेचेर महल ठड्याउने र चिया फेटेर अरबपति बन्नेको कथा त सुनिएकै थियो, त्यहाँ त प्रत्यक्ष देख्न पाइयो । व्यापार अपार’ भनेको यही होइन र ?
हामी सुदामापुरीबाट जसरी बेटद्वारिका पुगेका थियौँ, त्यसै गरी बेटद्वारिकाबाट सुदामापुरी फक्यौँ । सुदामापुरीबाट घुँइकिएको हाम्रो बस बाटोमा पर्ने ‘गोपी तालाब’ नेर पुगेर टक्क रोकियो । कृष्णजीले गोपिनीहरूका लागि रचना गर्नुभएको सो गोलाकार तलाउमा गोपिनीहरूले स्नान गरेका र कृष्णजीले उनीहरूका वस्त्र लुकाएर लीला गर्नुभएको पौराणिक कथन छ । गोपी तालाबमा स्नान गर्नाले ठूलो पुण्य मिल्ने भनाइ त सुनिएको थियो तर त्यसलाई स्पर्शसम्म त गरियो, स्नान गर्न भने समयले हामीलाई अनुमति दिएन ।
गोपी तालाबबाट हामी नागेश्वर ज्योतिर्लिङ्ग मन्दिरको हातामै पुग्यौँ । फराकिलो भूभागमा फैलिएको नागेश्वर महादेवको मन्दिर अत्यन्तै सुन्दर देखियो । त्यहाँको कुशल व्यवस्थापनका कारण सहज किसिमले शिवजीको दर्शन पाइयो । भू–सतहभन्दा केही गहिरो भागमा अवस्थित नागेश्वर ज्योतिर्लिङ्ग प्रत्यक्ष रूपमा देख्न पाइयो, हर्षविभोर भइयो । स्मरणीय छ, भारतका १२ ज्योतिर्लिङ्गमध्ये यो शिव मन्दिर नागेश्वर ज्योतिर्लिङ्गका रूपमा सुप्रसिद्ध मानिन्छ ।
नागेश्वर शिवमन्दिरको फराकिलो हाताको एकातिर विशाल बुद्धमूर्ति अवस्थित छ । पद्मासनमा बसेर ध्यानमग्न रहेको त्यो नवनिर्मित बुद्धमूर्ति अत्यन्तै मनमोहक लाग्दछ । द्वारकाधीशको क्षेत्रभित्र सुप्रसिद्ध ज्योतिर्लिङ्ग, ज्योतिर्लिङ्ग नगिचै विशाल बुद्धमूर्तिकै स्थापनालाई निश्चय पनि धार्मिक सहिष्णुताको एउटा ज्वलन्त नमुना मान्न सकिन्छ ।
शिवलिङ्गको स्थापनाले लौकिक कथासँग सम्बन्ध राख्दछ भने ज्योतिर्लिङ्गको व्युत्पत्ति पौराणिक कथामा आधारित मानिन्छ । यसैले सबै ज्योतिर्लिङ्ग शिवलिङ्ग हुन् भने सबै शिवलिङ्ग ज्योतिर्लिङ्ग होइनन् । नागेश्वर ज्योतिर्लिङ्गको प्रकटीकरणको पौराणिक कथा सङ्क्षेपमा यसरी उल्लेख भएको पाइन्छ–
सतीदेवीले दक्षप्रजापतिको यज्ञमा हाम फालेर प्राणत्याग गरेपछि शिवजी विरक्त्तिएर भौतारिँदै विशाल अमर्दक तालनेर पुगेर आफूलाई भस्म गराए । धेरै समयपछि पाण्डवहरू घुम्दैफिर्दै त्यहीँ पुगेका थिए । एक दिन पाण्डवहरूले उनीहरूद्वारा पालिएकी एक गाईले त्यही तालमा दूधको धारा बगाएको देखे । तिनीहरूले तालको पानी बाहिर निकाल्दा तालको बीचभागमा पानी उम्लिरहेको देखियो । भीमले आफ्नो गदाले त्यसलाई प्रहार गर्दा पानी दबियो र त्यहाँबाट रगतको धारा बग्न थाल्यो अनि पिँधमा भगवान शङ्करको ज्योतिर्लिङ्ग प्रकट भयो ।
ताल नजिकैको बनमा दारूक र दारूका नामका राक्षस बस्दथे । तिनीहरूले आसपास उत्पात मच्चाउँदै ऋषिगण, देवगण सबैलाई बन्धक बनाए । कैद पर्नेहरूमध्ये एक जना सुप्रिय नामको व्यक्त्ति शिवभक्त थियो जो शिवजीको पूजार्चना नगरी खाना खाँदैनथ्यो । राक्षसहरूले त्यो कुरा थाहा पाएपछि उसलाई मार्ने आदेश दिए । सुप्रियले त्यो थाहा पायो र शिव आराधना ग¥यो । शिवजी तत्क्षण प्रकट भएर राक्षसगणको विनाश गर्नुभयो । तदुपरान्त शिवजीको नाम नागेश्वर ज्योतिर्लिङ्ग रहन गयो ।
यसरी नागेश्वर ज्योतिर्लिङ्गको सङ्क्षिप्त जानकारी पश्चात हामी हाम्रो कार्यक्रमअनुसार शिवराजपुर सागरतटतर्फ सोझियौँ । समथरिलो त्यो सागर तट पौडी खेल्न वा नौका विहारका लागि उपयुक्त्त लाग्यो । सयौँ मानिसहरू त्यहाँ स–साना वैयक्त्तिक र अलि ठूला रङ्गीचङ्गी व्यावसायिक डुङ्गाहरूसँग क्रिडारत देखिए । हामीले पनि त्यो सागरतटमा उभिएर पैतालासम्म डुबायौँ । ससाना छालका लहरबाट केही भिजाइ पनि खायौँ, ज्यादै रमाइलो लाग्यो । विलम्ब नगरी त्यहाँबाट हामी रुक्मिणी मन्दिरतिर हानियौँ ।
हो, हामी श्रीकृष्णका आठ पटरानीमध्येकी एक रुक्मिणी देवीको बासस्थानको अवलोकनार्थ मन्दिरको प्राङ्गणमै पुगेर टक्क रोकियौँ । गोमतीको वर्तमान जगतमन्दिरभन्दा पनि पुरानो मानिने रुक्मिणी मन्दिर निकै गहकिलो बनोट भएको अनि अत्यन्तै कलात्मक देखियो । बनावटमा ढुङ्गाको आधिक्यता देखिएको त्यो मन्दिरको अवलोकन गर्दागर्दै एक पटक त मलाई हाम्रो कृष्णमन्दिरको पनि सम्झना आएको हो । अत्यन्तै महत्वपूर्ण अवस्थितिमा रहेको रुक्मिणी मन्दिरमा संरक्षणको अपर्याप्तता देखियो । समष्टिमा भन्नुपर्दा त्यो मन्दिर जीर्णोद्धार र श्रृङ्गारपटारको पर्खाइमा रहेको अनुभूत भयो ।
रुक्मिणी मन्दिरको अवलोकन पश्चात हाम्रो भ्रमण टोलीका नेता माधवप्रसाद अधिकारी बस चालक (जो स्थानीय थियो) र बेटद्वारिका जाँदा बाटोमा कुकुरको टोकाइबाट घाइते भएकी भ्रमण टोलीकी सदस्य विजया खतिवडालाई लिएर रेबिज विरुद्धको सुई (खोप) लगाउने स्वास्थ्य संस्थाको खोजीमा लाग्नुभयो । हामीहरू उहाँहरूको पर्खाइमा रह्यौँ । प्रतीक्षारत रहँदारहँदै म तरङ्गिन थालेँ, द्वारिकापुरीमा आएर वास्तवमा मैले के बुझेँ ? सोच्दासोच्दै मैले जे बुझेँ, त्यसलाई बुँदागत रूपमा यसरी टिपोट गरेँ –
१. हामी काठमाडौँदेखि द्वारकासम्म कुनै आमोदप्रमोद वा मनोरञ्जन, दृश्यावलोकन, व्यापार वा व्यवसायका लागि गएका थिएनौ । हाम्रो मूलभूत उद्देश्य तीर्थाटन नै थियो । तीर्थाटन अनि तीर्थमा गरिने कृत्यहरू–देवदर्शन र पितृ तर्पणको महत्वबारे पौराणिक कथा, उपकथा र पटकथामा निर्देशित गरिएकाले प्रस्तुत लेख त्यसैको सेरोफेरोमा सीमित रहेको यथार्थलाई पाठकले आत्मसात गरेमा मात्र लेखन र पठन दुवै सार्थक हुन सक्ने मेरो बुझाइ रह्यो ।
२. मथुरामा यादव वंशका कृष्ण अनि दैत्यराज जरासन्ध र कालयवनबीच चलिरहेको द्वन्द्वका कारण आफ्ना केही बन्धुबान्धवसहित द्वापरयुगको अन्त्यमा श्रीकृष्ण हालको गुजरात राज्यस्थित जामनगर जिल्लाको पश्चिमी सामुद्रिक (अरब सागर) तट अर्थात आफ्नो पुख्र्यौली थलोतिर लागे ।
३. त्यतिबेला त्यस ठाउँलाई कुशस्थल वा कुशस्थली भनिन्थ्यो । कुनै समय दैत्यराज कुशद्वारा शासन गरिएको हुनाले त्यसलाई कुशस्थली भनिएको हो । त्यतिबेला त्यो ठाउँ वनप्रदेश थियो ।
४. श्रीकृष्णको आज्ञाले महान् वास्तुशास्त्री विश्वकर्माले त्यस ठाउँमा अत्यन्त सुन्दर नगरी ‘द्वारकापुरी’ निर्माण गरे । भनिन्छ, उनले एकै रातमा द्वारकापुरी निर्माण गरी द्वारावती नगरीको स्थापना गरेका थिए ।
५. विज्ञहरूले द्वारकालाई यसरी अथ्र्याउने गरेका छन्–द्वार भनेको ढोका र का को गूढार्थ ब्रह्म हो । यसैले द्वारका भन्नाले ब्रह्मसम्म पुग्ने ढोका जनाउँछ । अर्को शब्दमा भन्नुपर्द कर्म–बन्धनबाट मुक्ति प्राप्त गर्ने ढोका हो द्वारका ।
६. द्वारकालाई अनेकौँ नामबाट सम्बोधन गर्ने चलन व्याप्त छ । सरसरती अध्ययन गर्दा पनि यो नगरी द्वारिका, अनन्तनगरी, द्वारिकापुरी, द्वारिकानगरी, द्वारिकाधीश नगरी, त्रिविक्रम क्षेत्र, कुशस्थली, द्वारावती, कृष्णपुरी, कृष्णधाम, लोकद्वार, सुवर्ण नगरी आदि नामबाट सुपरिचित भएको बुझिन्छ ।
७. ‘द्वारका’ भारतका चार मुक्त्तिधाम (द्वारका धाम, बदरीनाथ धाम, रामेश्वर धाम र जगन्नाथ धाम) मध्ये एक हो भने सात मोक्षपुरी (अयोध्या, मथुरा, काशी, काँचीपुरम्, अवन्तिका (उज्जैन), जगन्नाथ पुरी र द्वारकापुरी) मध्ये पनि एक मोक्षपुरीका रूपमा सुप्रसिद्ध छ ।
८. द्वारकामा पुगेपछि मात्र मलाई त्यहाँ तीन द्वारिका रहेको जानकारी मिल्यो । तीमध्ये मूल द्वारिका भन्नाले सुदामापुरी बुझिदो रहेछ र त्यसका बारेमा केही कुरा माथि नै उल्लेख गरिसकिएको छ । दोस्रो हो बेटद्वारिका । रणछोड मन्दिर अनि शङ्खद्धार मन्दिर रहेको क्षेत्र नै बेटद्वारिका भएको कुरा पनि माथि नै उल्लेख गरिसकिएको छ । तेस्रो हो द्वारावती द्वारिका जुन गोमती द्वारिका नामले पनि सुपरिचित छ । गोमती नदी र अरब सागरको दोभानमा रहेको जगतविख्यात कृष्ण मन्दिरको सेरोफेरोमा अवस्थित द्वारकापुरीलाई गोमती द्वारकाका नामले सम्बोधन गर्ने गरिन्छ ।
९. अब सङ्क्षेपमै भए पनि गोमती नदीका बारेमा केही कुरा उल्लेख गर्नु सान्दर्भिक हुनेछ । पुराणमा वर्णित गङ्गाका सात धारा मध्ये एक धाराको रूपमा मानिएकी नदी हुन् गोमती । परमात्माका आज्ञाले महर्षि वशिष्टको पछि लागेर पृथ्वीतल (पश्चिमी समुद्रको नजिकै) मा प्रवाहित भएकी नदी हुन् गोमती । यसको किनारमा मरिचि, अत्रि, अङ्गिरा, पुल र क्रुत जस्ता ऋषिहरूले बास गरेका र दुर्वासा ऋषिले यसमा स्नान गरेको भन्ने पौराणिक कथन छ ।
१०. कृष्णको देहोत्सर्गपछि द्वारका समुद्रमा डुब्यो । ईसाको पहिलो वा दोस्रो शताब्दीमा स्थापना भएको अनुमान गरिएको दोस्रो द्वारकालाई पनि समुद्रले निल्यो । तेस्रो पटक निर्माण भएको वर्तमान द्वारिकापुरी ईसाको छैटौँ शताब्दीतिर स्थापना भएको मानिन्छ ।
११. द्वारिकास्थित कृष्णचन्द्रको वर्तमान जगतमन्दिरको निर्माणकाल अनिश्चित छ । एकातिर दुई–दुईपटक द्वारिका समुद्रमा डुब्दा पनि, ठूलाठूला भूकम्पहरूको धक्काबाट पनि अनि सन् १९६५ मा पाकिस्तानसँग भएको युद्धमा मन्दिरमाथि बम वर्षा गर्दा पनि मन्दिरमा खासै क्षति नभएको भनाइ पाइन्छ भने अर्कोतिर मन्दिर कृष्णका नाति व्रजनाभले विश्वकर्माको सहायताले एकै रातमा बनाएको, मन्दिर बाह्रौँ वा तेह्रौँ शताब्दीमा निर्माण भएको, मन्दिरको निर्माण २५०० वर्षअगाडि भएको, मन्दिर १६ ह्रौँ शताब्दीमा निर्माण भएको, पुरातत्वको भनाइअनुसार मन्दिरको निर्माण १२०० वर्षअगाडि भएको आदि इत्यादि भनाइ पाइएकाले यो धर्मशास्त्री, आध्यात्मिक व्यक्त्तित्व, पुरातत्वविद्, इतिहास र भूगोलका ज्ञाता, प्रागैतिहासिक अन्वेशक आदि विज्ञहरूको समूहबाट निक्र्यौल हुनुपर्ने विषय हो भन्ने यो पङ्क्तिकारको जिकिर रह्यो ।
१२. पाठकवृन्द, अब म द्वारकाको कृष्ण मन्दिरबारे दुई÷चार कुरा पस्कने जमर्को गर्दै छु । वास्तवमा द्वारकापुरीको मुख्य आकर्षणको केन्द्र भनेकै कृष्णचन्द्रको जगतमन्दिर नै हो । एक सय सत्तरी फिट अग्लो सो मन्दिर गोमतीको किनारबाट अवलोकन गर्दा अत्यन्तै सुन्दर र भव्य देखिन्छ । सात तला भएको यस मन्दिरलाई बहत्तर वटा चारपाटे खम्बाहरूले अड्याएका छन् । भनिन्छ, मन्दिरमा फहराइरहने अट्ठाइस मिटर लामो ध्वजा बीस कोस टाढाबाट पनि छर्लङ्गै देख्न सकिन्छ । फलाम र काठको प्रयोग बिना निर्माण गरिएको सो कृष्ण मन्दिरको भित्रीभाग पशुदेह भएका मानवमुखी परी, पखेटा भएका हात्ती, जैन तथा बौद्ध धर्मसम्बन्धी कलाकृति अनि ग्रीक र इरानी शिल्पकलाबाट आच्छादित छ भन्ने जानकारहरूको भनाइ पाइन्छ ।
१३. कृष्णको देहोत्सर्गबाट उत्पन्न हुने रिक्त्तताले सिर्जना हुन सक्ने त्रासदीपूर्ण वातावरणको गुनासोसहित ऋषिगण ब्रह्माजीकहाँ पुग्दा ब्रह्माले प्रह्लादलाई देखाए । ऋषिगणले आफ्नो गुनासो प्रह्लादसमक्ष प्रकट गरे । प्रह्लादले पनि सम्झाउँदै भने– ‘हे ऋषिगण, शङ्ख, चक्र, गदा, पद्य धारण गरेका चतुर्मुखी श्रीकृष्णले कलियुगभरि द्वारावतीमा नै बास गर्ने र द्वारका बाहेक अन्यत्र कतै पनि मिल्न नसक्ने भएकाले गोमतीमा स्नान अनि द्वारकास्थित जगतविख्यात कृष्ण मन्दिरमा विराजित श्रीकृष्णको दर्शन गर्नाले वैकुण्ठलोक प्राप्त हुन्छ ।’ प्रह्लादले ऋषिहरूलाई गोमती नदी, द्वारिकापुरी र श्रीकृष्णको महिमागान यसरी सुनाए–
नदी न गोमती तुल्या, कृष्ण तुल्यो न देवता ।
स्वर्ग पाताल भूमध्यै द्वारका न समा पुरि ।।
अर्थात–गोमती नदी समान अरू कुनै नदी नै हुँदैन । यसैगरी कृष्ण समान अरू कुनै देवता पनि पाइदैन । स्वर्ग, पाताल र पृथ्वीमा द्वारकापुरी समान अन्य कुनै पनि पुरी (नगरी) हुँदैन । भनिन्छ, त्यसपछि ऋषिगण द्वारावतीतर्फ नै फिर्दा भए ।
लामो पर्खाइ पश्चात औषधोपचार गरेर हाम्रा साथीहरू फर्किनु भयो । मेरो सोचाइको तरङ्ग पनि टुट्यो । त्यसपछि हामी हाम्रो अर्को गन्तव्यका लागि रुक्मिणी मन्दिर परिसरबाट सोझै द्वारका रेल्वे स्टेसनतिर सोझियौँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।