तिम्रो साथ : निद्रा देउजा राजवंशी (कविता )

तिम्रो साथ : निद्रा देउजा राजवंशी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २० ।

मलाई चोट लाग्दा तिमीलाई दुख्छ
तिमीलाई दुख्दाखेरि मेरो आँसु झर्छ
धेरै धेरै सुन्दर छ हाम्रो सम्बन्ध
बिती गए पत्तै नपाई पचास वसन्त ।

प्रयास भयो छर्नलाई सबैतिर खुसी
भा’छैन है भुल कतै कर्तव्यलाई बिर्सी
गुमेका छन् अहिले सबका चेहरामा कान्ति
सोच्छु– किन फैलिरहेछ दुःख,अशान्ति ।

मैले पाएँ तिमीलाई धेरै खुसी छु
सारा मेरा खुसी जति तिमीमै अर्पिन्छु
तिमी नै हौ मेरो खुसी तिमी नै जीवन
तिमीमै त बगेको छ मेरो सारा मन ।

दुःखमा ’नि आँसु बनी तिमीमा नै बस्न
खुसीका ती पलहरू तिमीलाई नै बाँड्न
हर्षित छु तिमीलाई जीवनसाथी पाउँदा
बिति गए वर्षौंवर्ष तिमीसँगै रमाउँदा ।

तिमीबाटै मैले पाएँ सुख अनि शान्ति
जीवन भयो मेरो आज अनमोल प्राप्ति
जिन्दगी नै धन्य भयो गुनासो केही छैन
नछुटी साथ अघि बढोस् बाँकी जीवन ।

अँगालेर तिमीलाई बढि रा’छु अघि
तिमीसँगै गर्छु बाँकी उकाली ओराली
हाम्रो जीवन विपना र सपनाको संसार
तिमी साथ भएपछि खुसी छु म अपार ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।