ओइरो : सीताराम नेपाल (लघुकथा)      

ओइरो :  सीताराम नेपाल (लघुकथा)      
कपन अनलाइनकाठमाण्डौ ,कार्तिक १८।

‘बाफ रे ! हिजोदेखि नै आएको आएकै छ । शुभकामना त चिनेकाले, नातेदारले मात्र दिनु नि ! चिन्दै नचिनेकाले पनि पठाएका छन् ।’ शुभबहादुरले नव वर्षको पहिलो दिनको विहानै मान्यजन, नातेदार, साथीहरूलाई शुभकामना दिएपछि फेसबुक, मेसेन्जर, भाइबर, व्हाटस्एप आदिमा आफूलाई आएको शुभकामना हेरेर दङ्ग पर्दै सोच्यो ।

उसको नजर उसलाई प्राप्त कार्डहरूमा पनि पर्यो । एक से एक रङ्गिचङ्गी र डिजाइनका कार्डहरू हेर्दै गयो ।
‘सामाजिक सन्जालमा जस्तै चिनारू भन्दा धेरै अचिनारूले शुभकामना पठाएका रहेछन् ।’ खर्चमा मितव्ययी हुनुपर्ने मान्यता राख्ने साकाहारी शुभबहादुरले यस्तो कार्यलाई वाहियातको फजुल खर्च गरिएको ठान्यो ।
‘जे मा पनि तडकभडक, जे मा पनि उल्फा खर्च, के भएको हामी नेपालीलाई ?’ सोच्दासोच्दै उसले पोहोरसम्मको यस्तो पर्व, चाहाडबाडको कुरा सम्झ्यो । ‘हाडनाता पर्ने र सीमित घनिस्ट साथीहरूले मात्र शुभकामना दिएका थिए। यसपालि यो ओइरो किन ?’ ऊ सोचिरहेकै बेलामा उसको श्रीमती ऊनेर पुगी र भनी –‘यसपालि हजुरलाई शुभकामनाको ओइरो किन लागेको हजुरलाई थाहा छ ?’
‘तिमी भन त किन हो ?’
‘किनभने हजुर यसपालि सत्तामा हुनुहुन्छ ! हजुरलाई नयाँ वर्ष उल्लासमय बनाउन सहयोग पुगोस् भनेर कार्डका साथमा बिदेशी ठेकेदारका एजेन्सीहरूले रेडलेबल, ब्लुलेबल, के के हो के के,  प्याकेजका प्याकेज पठाएका रहेछन् । यी यो चाङ हेर्नुस् त ! के गर्नु हजुलाई मन नपरेपनि फर्काउन नमिल्ने । चाख्ने होइन त एक एक पेग !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।