छुट : राजु क्षत्री ‘अपुरो (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १८।
झल्याँस्स बिउँझिएँ । वरिपरि हेरेँ । सबै बाहिर बसेर गफ गर्दै रहेछन् । यथार्थता बुझेँ, हामी चढेको बस बिग्रीएको निकै बेर भइसकेको रहेछ । सामान लिन गएको खलासी आउनमा अझ ढिलो हुन सक्ने जानकारी पाएँ । युवकहरूको भिँडमा सामेल हुँदै गफ्फिदै थिएँ , केही परदेखि मलाई एउटी युवतिले बाराम्बार छड्के नजरले हेरिरहेको आभास पाएँ । दायाँबायाँका युवकहरूलाई नजर लगाएँ । सबैभन्दा खाइलाग्दो र हुनेखाने घरको जस्तो देखिने म नै रहेछु । मलाइ नै हो भन्ने पूर्ण विश्वास भएपछि उसको मुहार नियालेर हेरेँ । मायालु अनुहार भएकी उसको सुन्दरतामा कुनै खोट पाइनँ । हाम्रा आँखा चार हुन थाले । लाग्यो, सायद यहि नै प्रेम होला । यो बस बिग्रेको
हाम्रो भेट हुनलाई पो रहेछ !
उसले इशारा गरी । उसका साथी हलल हाँस्न थाले भने मेरा अपरिचित मित्रहरू पनि ‘लौ ! आज हिरोले हिरोनी फेला पार्यो’ भन्दै गिज्याउन थाले।
आमाको सुन्दर बुहारी भित्र्याउने सपना साकार हुन लागेको महशुस गर्दै उसको नजिक पुगेँ ।हामी समीप भयौ । सोधेँ – ‘कहाँ सम्म पुग्ने ?’
‘मुग्लिङ सम्म’, मिठासपूर्ण छोटो उत्तर ।
ड्राइभरले गाडी स्टार्ट गर्यो । खलासीले आवाज लगायो । हतारमा मैले भनेँ – ‘पोखरा नै जाऔँ न हुन्न ?’
उसले भनी, ‘यतै मुग्लिङमा बसे हुन्न र ?’
अक्मकिँदै मैले भनें, तर…..!
उसले भनी, “चिन्ता नलिनुस् । अरूसँग दश हजार लिएपनि तपाइँलाई दुई हजार छुट दिउँला नि त !“
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।