ओ घान्द्रुक : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
माच्छापुच्छ्रे नजिक म बसी बोल्न पाऊँ भनेर
बन्दै साथी मन मुटु दुवै खोल्न पाऊँ भनेर
आएको घान्द्रुकतिर चुनी काम छोडेर टाढा
हाँसून् खुल्दै सकल हिमका श्रृङ्खला दिव्य गाढा ।
घुम्दै जाऊ भनिकन ग¥यो पोखराले विदाई
वीरेठाँटी निकट उभियो भेट्नलाई रमाई
कुस्मा बेनी नकुर अहिले पूर्व मोडिन्छ भाइ
ए ! कालो वादल हट सधैँ गर्न खोज्छौ रजाईँ ।
मोदी खोला छङछङ कुद्यो शीघ्र कर्तव्य चुन्दै
यात्री उक्ल्यो हिमगिरि तिरै हेर्नका लागि भन्दै
डाँडागाऊँ तिर पनि पुग्यो तिर्सना साँचिदैन
ढुङ्गा छानो प्रिय छ उसको सम्यता मासिँदैन ।
लुक्छन् होला किन शिखर यी नित्य रुओडेर घुम्टो ?
घोच्छन् हावा किन घरिघरी नित्य मारेर फन्को ?
सेतो बर्कोतिर किन रूची टाकुराको बसेको ?
पानी हो यो किन फुसुफुसू दिव्य चाँदी खसेको ?
राख्दैछस् घान्द्रुक मकन यो पाहुना हो भनेर
छर्ने भर्ने नजर पर क्यै पारखीझैँ बनेर
निस्केका छन् तम सब चिरी पाँच १ ती झल्मलाई
को देला खै सकल तिनको नाम ऐले चिनाई ।
माच्छापुच्छ्रे नजिक रहने अन्नपूर्णा छ अग्लो
हो गंगापूर्ण र हिमचुली श्रृङ्खलाभित्र सग्लो
यौटा गाथा अमर यिनको लेख्न पाए हुनेथ्यो
आऊन् चम्की नजिक र सधैँ देख्न पाए हुनेथ्यो ।
माच्छापुच्छ्रे सरह कति छन् दिव्य हाम्रा हिमाल
यै छायामा प्रमुदित हुने देश मेरो विशाल
नाँचेका छन् छमछम चुली सिर्जनाका रसैले
हाँस्दै बाचून् हिमगिरि अरू तिर्सना लिन्न मैले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक