छन्दगरिमा : गङ्गा आचार्य सापकोटा (कविता )

छन्दगरिमा : गङ्गा आचार्य सापकोटा (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १६।

मान्छेले मन भावना जति सबै पोख्छन् यही छन्दमा
आफ्नो जीवनका समग्र घटना सम्झेर ती खासमा
हुन्नन् छन्द सिवाय यो प्रकृतिमा त्यस्ता कुनै सिर्जन
सारा यो परिकल्पना गरिदिने हो छन्द नै जीवन ।।१।।

स्रष्टाका कविता तथा सुरसिला संगीतमा गीतमा
बोलीमा रसरागमा हृदयका झङ्कारका रीतमा
आमाको ममता सदा लहरिने लोरी तथा प्यारमा
सारा भित्र रहेछ छन्द रसिलो यो दिव्य संसारमा ।।२।।

मान्छेका अनुकूलता स्थितिसँगै वैषम्यमा छन्द छ
आफ्नो जीवन धान्न निम्ति सिँचिने प्रस्वेदमा छन्द छ
छन् जे बस्तु तथा वनस्पति यहाँ ती छन्दका सार हुन्
जीवात्मा अथवा चराचर सबै ती छन्द आकार हुन् ।।३।।

दिन्छन् नित्य खटेर ताप रविले त्यो रापमा छन्द छ
माटो वीज उमार्छ उर्वर बनी त्यो भावमा छन्द छ
हावा बेग बनेर घुम्छ जगमा त्यो चालमा छन्द छ
धर्तीमा छ अपार दृष्टि नभको त्यो प्रेममा छन्द छ ।।४।।

खोला ताल विशाल नाद सब ती बग्छ्न् सबै छन्दमा
आफ्नो धर्म निभाउँदै भुवनमा अत्यन्त आह्लादमा
हावामा नभमा समस्त जलमा माटो तथा तेजमा
छन्दै छन्द बहन्छ मन्द गतिमा यो सृष्टि सम्पूर्णमा ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।