अभिशाप होइनन् हाम्रा पहाड र पर्वतहरु : राजेशमान के.सी.
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २।
विश्वको पाँच खण्डको एक खण्ड भू–भाग पर्वतीय क्षेत्रले ढाकिएको छ भने विश्वको कूल जनसंख्याको झण्डै दश प्रतिशत मानिस आप्mनो जीवन निर्वाहका लागि पर्वतीय क्षेत्रमा निर्भर रहने गरेका छन् । वन, खनिज, कृषि उत्पादन, जलशक्ति एवं् उर्जाको नियमित आपूर्तिका दृष्टिले पर्वतीय क्षेत्र प्रकृतिको अत्यन्त महत्वपूर्ण स्रोत सावित हुन पुगेको छ । त्यस्तै विश्वका आधा भन्दा बढी जनसङ्ख्याले पहाड र पर्वतीय क्षेत्रबाटै उपलव्ध हुने वस्तु र सेवाको उपभोग गरिरहेका छन् ।
नेपाल पनि एक पहाडी मुलुक हो । यहाँको दुई तिहाई भन्दा बढी अर्थात् झण्डै ८६ प्रतिशत भू–भाग चुरे, महाभारत, उच्च पहाडी भू–भाग र हिम श्रृंखलाहरुले ओगटेका छन् । विश्वका १४ वटा ठूलठूला हिम श्रृंखलाहरुमध्ये आठवटा नेपालमा पर्दछन् । विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वकै तेस्रो ठूलो कञ्चनजङ्गा हिमाल पनि नेपालमै पर्दछन । त्यतिमात्र नभई सातहजार मिटरभन्दा अग्ला शिखरहरु १२२ वटा र छहजार मिटरभन्दा अग्ला झण्डै १४० वटा हिमशिखरहरु पनि नेपालमै पर्दछन् । ८,८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथाले त नेपालको गौरव र कीर्तिलाई विश्वभरी नै फैलाइदिएको छ । यिनै पर्वतहरुले हामीलाई पर्वतारोहण, पदयात्राका लागि मनोरम भू–दृष्य एबं् पर्यटकीय दृष्टिले आकर्षक स्थलहरु समेत उपलव्ध गराएका छन् । यी पर्वतमालाहरु ठूला नदीहरुका स्रोत मात्र नभई समथल भूमिका लागि हिमनदी र उच्च शिखरहरुमा जल सञ्चयका लागि प्रमुख आधारस्थल पनि बन्न पुगेका छन् । त्यतिमात्र नभई हाम्रा यी पर्वतीय श्रृङ्खलाहरु प्र्रसिद्ध देवीदेवताहरुको प्राचीन–एतिहासिक मठ मन्दिर अवस्थित धार्मिक एबं् आध्यात्मिक दृष्टिले अत्यन्त रमणीय पर्यटकीय गन्तवस्थल हुनाको साथै औषधिजन्य जडीबुटी लगायत विविध प्रकारका वनस्पति तथा जीवजन्तुहरुको ठूलो भण्डारका रुपमा समेत परिचित हुन पुगेका छन् ।
तथापि पहाड र पर्वतीय क्षेत्रको यति व्यापक महत्व हुँदाहुँदै पनि हाम्रो मुलुकमा विगत केही दशकयता आएर प्राकृतिक र मानवीय कारणले गर्दा यस्ता पर्वतीय क्षेत्रहरुको विनाश हुने क्रम दिन प्रतिदिन बढ्दै गइरहेको छ । भूकम्प, ज्वालामुखी विस्फोट जस्ता प्राकृतिक प्रकोपहरुले गर्दा पहाडहरु क्षेय हुन पुग्छन् भने बाढी–पहिरो आदि प्रकोपबाट पनि भू–स्खलन भएर हाम्रा यी पहाड र पर्वतीय श्रृंखलाहरु नाश हुने गरेका छन् । यसका साथै हिमालय र पर्वतीय भू–भागमा जलवायु परिवर्तनको प्रभाव तुलनात्मक रुपमा बढी हुने पनि वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेको छ । त्यसमाथि पहाड र पर्वतीय क्षेत्रहरुको विनाश हुनुमा प्राकृतिक कारणभन्दा पनि मानवीय कारण नै बढी जिम्मेवार रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । मानिसले आप्mनो निहित स्वार्थ परिपूर्ति गर्नका लागि पहाडी क्षेत्रमा रहेका बोट–विरुवाहरु काटेर वन विनाश गर्ने काम गर्दछन् । यसले गर्दा पहाडहरु नाङ्गा र उजाड बन्न पुग्दछन् । वन विनाशका कारण पानी कम पर्ने भएको हुँदा यसबाट जीवनको लागि नभई नहुने पानीको सङ्कट सामना गर्नुपर्ने अवस्था आउन सक्छ । नेपालमा विगत केही वर्ष यता वन विनाश तीव्र रुपमा भइरहेको छ । वन विनाशको यो क्रमलाई समयमै नरोक्ने हो भने नेपालमा मरुभूमिकरण बढ्दै जान कुनै लामो समय पर्खिरहन नपर्ने चिन्ता पनि विशेषज्ञहरुले प्रकट गर्न थालेका छन् ।
मानिस पूर्णतः प्रकृतिमा निर्भर प्राणी हो । प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ । तीमध्ये पहाड वा पर्वत पनि एक हो । पहाड पर्वतहरु हराभरा भए भने हामीले स्वच्छ हावा पाउँछौँ अनि वातावरण पनि स्वच्छ, सफा र हराभरा हुन्छ । मानिसलाई जीवित रहनका लागि नभई नहुने एउटा तरल पदार्थ हो–जल अथवा पानी । पहाड नै पानीको मूल स्रोत हो । हाम्रो देशका ठूलठूला नदीनाला र झरनाहरु पहाडबाट नै निस्केका छन् । त्यसरी निस्केर बनेका खोला, नदीनाला र तालमा सदैव पानी भइरहन्छ र त्यसैबाट जलविद्युत शक्ति पनि निकाल्न सकिन्छ । त्यसैले पहाड हराभरा भयो भने वर्षा येथेष्ठ मात्रामा हुन्छ र मूलहरु सुक्न पाउँदैनन् । र, यसबाट पानीको आवश्यकता पनि परिपूर्ति गर्न सकिन्छ । यसका साथै पहाड र पर्वतीय श्रृंखलाहरुको गर्भमा प्रचुर मात्रामा खनिज तत्व रहने भएको हुँदा तिनको समुचित विकास गरी हामी प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्छौँ । यसबाट देशको आर्थिक विकास र जनताको जीवनस्तर उकास्न पनि महत्वपूर्ण टेवा पुग्न जान्छ । यसको अलावा पहाडी क्षेत्रमा विभिन्न फलपूmलहरु उत्पादन गरेर फलपूmलको निर्यात बढाउन सके त्यसबाट पनि राष्ट्रको आम्दानी बढाउन सकिन्छ ।
यसरी मानव जीवनमा पहाड र पर्वतीय क्षेत्रको निकै ठूलो महत्व रहेको हामी पाउँछौँ । त्यसकारण हामीले यस्ता पहाड र पर्वतीय क्षेत्रहरुलाई जोगाउन र तिनको संरक्षण सम्बर्धन गर्न आ–आप्mनो तर्फबाट सक्दो योगदान पुर्याउनु अति नै आवश्यक देखिन्छ । यसको लागि हामीले पहाड र पर्वतीय क्षेत्रमा वृक्षारोपण अभियान चलाउनुका साथै त्यसलाई हुर्काउने बढाउनेतर्फ पनि यथोचित ध्यान पुर्यानु जरुरी हुन्छ । हुन त नेपालका पहाड र पर्वतीय क्षेत्रको संरक्षण सम्बर्धनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), विश्व वन्यजन्तु कोष (डब्लु.डब्लु.एफ) र अन्तर्राष्ट्रिय संरक्षण संघ आइ.यू.सी.एन जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका निकायहरुले पनि आ–आप्mनो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । तर पर्वतीय विकासका लागि यी सङ्गठनका प्रयासहरु मात्र पर्याप्त हुँदैनन् । पहाड र पर्वतीय क्षेत्रको उचित संरक्षण र सम्बर्धनका लागि व्यक्ति, परिवार र समुदायले पनि आ–आप्mनो ठाउँबाट सक्दो योगदान पुर्याउनु पर्छ भने नेपाल सरकार र अन्य सम्बद्ध निकायहरुले पनि एक आपसमा समन्वय राखी पहाड र पर्वतीय क्षेत्रहरुको दिगो विकासका लागि प्रभावकारी कार्यक्रमहरु तर्जुमा गर्नु पर्ने आवश्यकता देखिएको छ ।
निश्चित रुपमा यस्ता जीवन्त पहाड र पर्वतीय श्रृंखलाहरुको उचित प्रचार–प्रसार एब्ं संरक्षण सम्बर्धन गर्न सकिएको खण्डमा पर्यटकीय दृष्टिले समेत यी पर्वतीय श्रृंखलाहरु नेपालको लागि अभिशाप नभई वरदान सावित हुन सक्तछन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक