सुनियोजित हत्या : भोलानाथ सुबेदी (लघुकथा)

सुनियोजित हत्या : भोलानाथ सुबेदी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १८।

ठुले हिजो बिहान मेरो घरमा आएको थियो ।सधैं चिटिक्क परेर हिड्ने ऊ आज निरास जस्तो देखिन्थ्यो । दाह्रीपनि काटेको थिएन । नङ लामा लामा थिए । सुरुवालको इँजार घुँडासम्म पुगेको थियो । लौरो टेकेर पनि ऊ कामिरहेको थियो ।
‘ओहो ! दाइआउनु भएछ ।’ हतारहतार मजेत्रोले कपाल ढाकेर बुढीले ठुलेलाई ढोगी । दाइ, यताबसौं । मैले कुर्सी सारिदिएँ । ठुले बिस्तारै कुर्सीमा बस्यो । ‘दाइ बिहानै आउनु भएछ केही काम थियो कि ? ‘मेरो प्रश्नमा ठुले केही बोलेन । ऊ लौरोमा चिउँडो टेकाएर कामिरहेको थियो ।
ठुले र मेरो उमेरमा दुई तीनवर्षको फरक छ जस्तो लाग्छ । ऊ अब आउने जेठमा त्रियासी पुगेर चौरासी लाग्छ ।म यही फागुन देखि असीमा हिड्दै छु । ‘दाजु किन नबोलेका के भो ?’ ‘उसले चस्मा खोल्यो, आँखा बाट आँसु झरेका देखिन्थे । थरथर हात कमाउँदै चस्मा गोजीमा घुसा–यो । ‘के गर्नु तेरी पो बुढी छे, बेलाबेलामा तातो लगाउँछे । ख्याल गर्छे । मैले अगाडि लगाइहालेँ । न भात न खाजा दिनभरि भोकै । यसो घरमा गएर छोरा बुहारीलाई सम्झाइदिन्छस् कि भनेर आको नि’ म त ।
म अन्योलमा परेँ । के भन्ने सोच्नै सकिन । ‘तेरो छोरो त गाउँको सबैभन्दा असल व्यक्तिमा पर्छ हैन र ?’ परेर के गर्नु बाहिर सुन भित्र बैगुन भएपछि । मेरो प्रश्न नसकिदै उसको जवाफ आयो । धेरै बेर ठुलेको गुनासो सुने मैले । वृद्धभत्ता लुकाएर राखेको भनेर सबै तिर खोसलखासल पारेर कोठा भद्रगोल पारी रे बुहारीले । चर्पी पसेर निस्कँदा दिसापिसाब गन्हायो भनेर नराम्रो गाली पनि गरी । नाति नातिनालाई मेरो छेउमा पर्न पनि दिदैनन् । कोठाभित्र कोपरा राखेको थियो त्यो कोपरा खाली सिसीवालालाई दिएर पठाए । अब म यो बूढो शरीर कसरी बिसाउँ । कुरा गरिरहँदा उसकाआँखा रसाएका थिए ।
छोरो बिहानै हिड्छ ।बुहारी नातिनातिनालाई खुवाउँछे, अनिकता जान्छे पत्तो छैन । हिजो त भुटेको मकै थियो मेरो आहारा । गिजाले मकै कसरी चपाउनु मैले ।ठुलेको कुराले मेरा आँखाबाट आँसु झरे । म भोलिबिहानै आउँला । अहिले खानायतै खाएर जानु मैले भने ।
एकाबिहानै म ठुलेको कोठामा छिरेँ । दाहिने हातले श्रीमतीको फोटो समाएको देब्रे हातले मकैको कचौरा समाएको दुईटै आँखाबाट आँसु झरेर गालामा लेग्रा बसेको ठुले चिरनिद्रामाथियो । शरीर अररो भएको थियो ।मलाई लाग्यो उसले भोक खप्नुभन्दा मृत्यु खप्नु उचित ठान्यो । कतिले उसको छोरालाई सामान्य नियम मानेर सम्झाएको मैले देखेँ । तर मेरो मनले भन्यो, ‘यो त सुनियोजित हत्या पो हो ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।