श्राद्ध : लीलाराज दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
दुर्गाप्रसादले जतिधन सम्पति जोडे पनि उसका बा आमाको सडक पेटीमा बास थियो ।
जागिर खाँदै शहरमा घडेरी जोडेपछि दुर्गाप्रसाद गाउँपुग्यो र बाआमालाई खुशीको खबर सुनायो । घर बनाउन पैसा नभएको समस्याको पोको फुकाएपछि बा आमा गाउँको जग्गाजमिन बेच्न राजी भए ।
शहरमा दुर्गाप्रसादको भब्य महल तयार भयो । केहीबर्ष त दुर्गाप्रसादका बा आमा पनि खुशीले छोरा बुहारीसंगै महलमा बसे ।
सँगै बसेपछि सानासाना कुरामा दन्तबझान हुनथाल्यो । बिस्तारै बुहारीको अनुहारमा बेचैनीको लहर सल्बलाउन थाल्यो । दुर्गाप्रसाद टुलुटुलु हेरेर बस्थ्यो । एक दिन घरमा महाभारत मच्चियो ।बा आमा आआफ्ना कपडा झोलामा हालेर घरबाट बाहिरिए । बुहारी अनुहारमा खुशीको दियालो बालेर आफ्नो कोठाभित्र पसी र आनन्दले नाच्न थाली । दुर्गाप्रसादले बाआमालाई नजानुस भनेर रोक्न सकेन ।
बाआमा हिंडेपछि दुर्गाप्रसादको घर युद्ध बिराम पछिको मैदान जस्तो शान्त भएको थियो । उसका बाआमा भने सडकको किनारमा माग्दै बेवारिस भएर गुजारा गर्न थालेका थिए ।
उ हाकिम भएकाले सरकारी सुविधाको गाडीमा सवार हुन्थ्यो । उसका बाआमाले सडकमा माग्दै गरेको दृश्यले पनि उसलाई छुँदैनथ्यो । सडकमा बा आमालाई देखे पनि नदेखेझैं गरेर अघि बढ्थ्यो ।
निकै बर्ष उसका बाआमाले सडकमा मागेरै दुखमय जीवन बिताए । एक रात सडकको किनारमा दुखको सिरानी हालेर निदाएका बूढाबुढी बिहान उठेनन् । राती ट्रीपरद्वारा किचिएर संगै जिउने , संगै मर्ने वाचा पुरा गरे उनीहरुले । बाआमाको मृतक लास बुझ्न अस्पताल पुग्दा दुर्गाप्रसाद र उसकी श्रीमतीले आफ्नो अनुहार केही मलिन पारेका थिए ।
दुर्गाप्रसादले बा आमाको तेर्हौं दिनको किरिया भव्यताका साथ सम्पन्न गर्यो । टोलभरिका छर छिमेकलाई बोलाएर भोजन गरायो । पुरोहितहरुलाई पनि मनग्गे दान दक्षिणा दिएर बिदाई गर्यो ।
यतिखेरै दुर्गाप्रसादका छिमेकी जानकी रमणले ठट्टा गरे, ‘जे होस, दुर्गाप्रसादजीले आफ्ना बाआमालाई मरेपछि भने मज्जाले खान, लाउनदिनु भयो है ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक