काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसका बागी उम्मेदवार श्रीकृष्ण ज्योति र दिपेन्द्र लामा कारवाहीमा

कपन अनलाइन

काठमाडौं कात्तिक २४ नेपाली काङ्ग्रेसले काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ प्रतिनिधि सभा उम्मेदवार श्रीकृष्ण ज्योती र प्रदेश सभा उम्मेदवार दिपेन्द्र लामालाई पार्टीबाट निश्कासन गरेको छ ।

मंगलबार पार्टीले विज्ञप्ती जारी गर्दै गोकर्णेश्वरका पुर्व नगर सभापति श्रीकृष्ण ज्योति र कामनपा वडा नम्बर-६ का निवर्तमान वडा अध्यक्ष दिपेन्द्र लामा सहित देशभरका ७४ जनालाई आगामी ५ वर्षको लागि पार्टीबाट निश्कासन गरेको हो ।श्रीकृष्ण ज्योतिले पार्टीका प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसे विरुद्ध र लामाले पार्टीका प्रदेश सभा उम्मेदवार छिरिङ दोर्जे लामा विरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

यसैगरी नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालालाई पनि पार्टीबाट निष्काशन गरेको छ । उनी चितवन-३ बाट गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारी विरुद्ध बागी उम्मेदवार हुन् । उनलाइ नेकपा एमालेले समर्थन गरेको छ ।

 

पार्टीको निर्णय विपरीतका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई समेत पार्टीबाट निकालेको काङ्ग्रेसले जनाएको छ । ‘पार्टीको विधान बमोजिम ७४ जनालाई ५ वर्षसम्मका लागि पार्टी सदस्य समेत नरहनेगरी निकालेको’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ’आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ ।’

तपाइँको प्रतिक्रिया ।