शैक्षिक क्यालेण्डर परिवर्तन गरेर पठन पाठन
काठमाडौं १४ जेठ / निजी विद्यालयहरुले एक सय ९० देखि २ सय दिन सम्मको शैक्षिक क्यालेण्डर बनाएर पठन पाठन शुरु गर्ने भएका छन् । भूकम्पका कारण २६ दिन बन्द भएको पठन पाठनलाई विभिन्न विदामा समायोजन गर्दै कक्षा सञ्चालन गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनले तयारी गरेको हो । ‘छुटेको पाठ्य भारलाई विभिन्न चार्ड पर्व, हिउँदे र बर्खे विदा लगायतका विदा कटौति गरी समेट्ने छौं’ अध्यक्ष लक्ष्यबहादुर केसीले भने, ‘आउँदो आईतबारदेखि खुल्ने विद्यालयहरुमा पहिलो हप्ता बालबालिकामा परेको मनोबैज्ञानिक असरको अध्ययन गरी त्रास न्यूनिकरणका लागि मनोचिकित्सकहरुको सल्लाहमा कक्षा सञ्चालन गर्ने योजना छ ।’
शुरुको अवधिमा दिनको एक दुई घण्टा मात्रै भए पनि विद्यालय सञ्चालन गर्ने उनले बताए । यो अवधिमा आफू र विद्यार्थीलाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा शिक्षकलाई पनि सिकाउने उनले बताए । विद्यार्थी र शिक्षकमा रहेको त्रास कम हुँदै गएपछि विस्तारै पठन पाठनमा केन्द्रित हुने उनले बताए ।
पठन पाठन नभएको अवधिको शुल्क मिनाह गर्ने माग उठिरहेको कुरालाई अध्यक्ष केसीले उक्त माग सम्बोधन गर्न नसकिने बताए । शिक्षकको तलव, घरभाडा लगायतका खर्च यथावत रुपमा ब्यहोर्नु परेकोले शुल्क नलिने कुरा ब्यवहारिक नहुने उनको तर्क थियो ।
क्षतीको तथ्याङ्क
बुधबार पत्रकार सम्मेलन मार्फत प्याब्सनले भूकम्पका कारण देशभर एक सय भन्दा बढी विद्यार्थी र एक हजार भन्दा बढि अभिभावक–शिक्षक तथा कर्मचारीको निधन भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
देशभर सञ्चालित करिव ५ सय निजी विद्यालयका संरचनामा क्षती पुगेको र ५ हजार बढि कक्षा कोठा अध्यापन गर्न लायक नभएको प्याब्सनले जनाएको छ । यसबाट करिव १० अर्ब रुपैंया बराबरको शैक्षिक पूर्वाधार ध्वस्त भएको प्याब्सनको ठहर छ । तथ्याङ्क आउने क्रम जारी रहेकाले यो तथ्याङ्नै अन्तिम नभई यसमा थपिदैं जाने कार्यबहाक महासचिव राजेन्द्र बानियाँले बताए ।
यसैविच भूकम्पले आमा बाबु गुमाएका बालबालिकाको शिक्षामा प्याब्सनले सहयोग गर्ने योजना बनाएको पनि अध्यक्ष केसीले बताए ।
सहुलीयत ऋणको माग
क्षतीग्रस्त विद्यालयको अभिलेखन गर्ने कार्य भईरहेको र ति विद्यालयहरुको पूननिर्माण र सञ्चालनका लागि ठूलो धनराशी आवश्यक भएकोले सरकार, राष्ट्रिय अन्र्तराष्ट्रिय संघ संस्था तथा ब्यक्तिहरुसंग प्याब्सनले सहयोगको अपिल पनि गरेको छ । ध्वस्त विद्यालयको पुननिर्माणका लागि सरकारको पहलमा विना भेदभाव राहत, उद्धार तथा पुननिर्माणको कार्यक्रम ल्याउन पनि प्याब्सनले माग गरेको छ । राष्ट्र बैंक तथा वित्तीय संस्थाबाट सहुलीयत ऋणको ब्यवस्था गर्न पनि ब्याब्सनले माग गरेको छ ।
११ जिल्लालाई २८ लाख सहयोग
प्याब्सनले भूकम्पका कारण बढि क्षती पुगेका विद्यालयहरुलाई आर्थिक सहयोग पनि गरेको छ । विभिन्न ११ जिल्ला समिति मार्फत क्षतीको प्रकृति अनुसार सहयोग गरिएको बरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फेले बताए । सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धाँदिङ्, काभ्रे, काठमाण्डौं, ललीतपुर र भक्तपुरलाई प्रति जिल्ला ३ लाख रुपैंया, गोर्खालाई २ लाख र रामेछाप र रसुवालाई १/१ लाख रुपैंया सहयोग गरिएको हो ।
उक्त रकम तत्काल विद्यालयको अस्थाई संरचना निर्माणमा सहयोगी होस् भनेर उपलब्ध गराएको अध्यक्ष केसीले बताए ।
साभार :एजुकेशन खबर बाट