घोषणापत्र : टीकाराम पुरी (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १९।
‘एकसठ्ठी वर्षको उमेरमा बृद्धभत्ताको व्यवस्था गर्नेछौं । स्नातक सम्मको शिक्षा निःशुल्क गर्नेछौ । लामो समय सम्म राजनीतिमा रहेका र उच्च ओहदामा जागिर खाएकाहरुको सम्पत्तिको स्रोत छानवीन गरि कार्यवाहीको दायरामा ल्याउने छौं । किसानलाई ६० प्रतिशत अनुदानमा मल र बीउबिजनको ब्यवस्था मिलाउने छौं । स्वदेशमै उद्योग धन्दा खोलि प्रतिवर्ष पचास हजार रोजगाको सृजना गर्नेछौं । सिमाना अतिक्रमण रोक्न मेचीदेखि महाकाली सम्म काँडेतार लगाउने छौं । ‘हिजो मात्र साउदीबाट फर्केको साथीलाई पढेर सुनाउदै भन्यो, ‘हेर् न, हाम्रो पार्टीले घोषणापत्र लेख्ने जिम्मा मलाई दिएको छ । अरुको भन्दा त झक्कास हुनु पर्याे नि ?’
‘यस्ता कुरा अब नेपाली जनताले पत्याउन छाडे। हेर यार पैसा कमाउने काम तिर लाग् । यो पार्टीको झोला बेकेर राजनीतिको दलाल बनेर समय खेर नफाल !’ – भन्दै गोजीबाट केही पन्ना कागज निकाल्यो ।
‘एउटा मेन पावरसंग सम्बन्धन लिएर दुईसय कामदारको भिसा ल्याएको छु । जस्मा साठी हजार मासिक तलब, खान बस्न फ्रि छ । मेडिकल सुविधा छ । वीमा सुविधा छ । चार घन्टा ओभर टाईम छ । मासिक एकलाख भन्दा बढिको कमाई आरामले हुन्छ । तेरा कुरा धेरैले पत्याउछन् । मिलेर गर्छस् भनेर साथी सम्झेर आएको ।’
‘ठिक छ । जाने मान्छेको कमी त छैन । नढाँटी भन त लेखिएका सेवा सुविधा मध्य कुन चाहिँ सत्य हो ?’ ऊ फिस्स हास्दै भन्यो । ‘हेर यार ! तँ राजनीतिको एजेन्ट म मेन पावरको ! एक अर्काको घोषणापत्रमा विश्वास गर्न सकेमात्र अरुलाई विश्वास दिलाउन सकिन्छ ।’
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक