प्राचीन नेपालको :त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन २२।
१. खै हाम्रो मनको दरो अनि खरो पर्खाल विश्वासको ?
खै हाम्रो दिलको सुदिव्य पनको, आस्था सदाचारको
खै खै हार्दिकता सुशान्त वनको स्वर्गीय झञ्कारको
खै शालीन सुसभ्यता गहकिलो ? प्राचीन संसारको ।
२. झर्ना कल्कल बग्दथे हृदयमा भातृत्व चम्काउँने
माया चुल्बुल खुल्दथ्यो चहकिलो मातृत्व वर्षाउँने
खै वीरत्व उठाउँने शिर सधैँ नाघेर मुग्लान त्यो ?
खै आदर्श कहाँ गयो भन सखे ? प्राचीन संसारको ।
३. राँकोझैँ झलमल्ल झल्ल मनको उल्लासको रास खै ?
धागोझैँ मन भाव जोड्न सकिने सद्भावको बास खै ?
खै त्यो दिव्य प्रभातको सुरसिलो कैलाश उत्साहको ?
हामी आज कता पुग्यौँ लयविना ? प्राचीन संसारको ।
४. हाम्रो भेक छ स्वाभिमान जनको भन्नेहरू छन् कता ?
आफ्ना पूर्वजझैँ सचेत ऋषिझैँ बन्नेहरू छन् कता ?
मागी खान खुसी, टिप्यो र हसु¥यो, बेतालको ताल यो
माटाको गरिमा रहन्छ यसरी ? प्राचीन संसारको ।
५. चोखो मन्दिरभित्र शान्ति सरिता, खुल्दैन ऐले किन ?
अग्ला शैल मुनी सुगन्ध श्रमको फुल्दैन ऐले किन ?
छैनन् खेततिरै किसान कसले भर्ने अहो ! थाल यो ?
पुग्ला देश कता भुलेर महिमा ? प्राचीन संसारको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक