काज–किरियामा ‘कोकोहोलो’ र वास्तविकता

रामप्रसाद धिताल

‘यदि, साँच्चै नै शास्त्र मान्ने हो भने जीवित छँदा बाबुआमाको जति सम्मान गर्नुपर्छ, स्याहारसुसार गर्नुपर्छ, परलोक भएपछि पनि शास्त्रसम्मत् अन्त्येष्टि (काज–किरिया) गर्नुपर्छ । यथासक्य श्रद्धा गर्नुपर्छ ।’ अध्यापन पेसा भएका कास्कीका सुशीलकुमार वाग्लेको ‘फेसबुक स्ट्याटस’बाट साभार गरिएका यी पंक्ति सनातन वैदिक हिन्दू धर्मावलम्बीहरूको अन्त्यसंस्कार (काज–किरिया) को अवधि र प्रक्रिया घटाउन अभियान चलाइँदै गर्दा आएको हो । शास्त्रलाई व्यक्ति समाजको चाहनाअनुरूप बदल्नुपर्छ भन्नेको र शास्त्रको अनुसरण गर्न नचाहनेलाई छुट छ तर शास्त्रका मूल्य मान्यता बदल्न सकिँदैन भन्नेहरूको वैचारिक द्वन्द्व सञ्चारमाध्यम र सामजिक सञ्जालमा समेत चलिरहेको देखिन्छ ।

1c85f07818f57509e489309c5660ed25

काज–किरियाको समय घटाउनुपर्छ भन्नेहरूले यस्ता तर्क उठाउने गरेका छन्, आजको आधुनिक युगमा १२÷१३ दिनको काज–किरिया अव्यावहारिक छ । समय लामो भयो । छोरा–बुहारीलगायत दाजुभाइहरू निष्क्रिय भएर बस्दा परिवार र राष्ट्रकै अर्थतन्त्रमा असर प¥यो । दानदक्षिणा गर्दा मानिसको घरवारै सकिने अवस्था आयो । कोरामा बसेका बेला औषधि खान नपाउने, मर्नै लागे पनि छुन नहुनेजस्ता कट्टरता छ । काज–किरियाको अवधि घटाउन उनीहरूले यस्ता उदाहरण दिँदै आएका छन्, ‘पहिले एक वर्ष वा १३ महिना रहेको काज–किरियालाई राणा शासकले घटाएर १२÷१३ दिन बनाएका थिए भने त्यसलाई घटाएर आफूअनुकूल ५ वा ३ दिन बनाउन किन नमिल्ने ? बाँचुञ्जेलचाहिँ हेला गर्ने मरेपछि देखावटीका लागि लामो काज–किरिया गर्नुको अर्थ छैन ।’ उनीहरू भन्छन्, ‘मुख्य कुरो त वेदमा काज–किरियाको उल्लेख छैन । पछि गरुडपुराणका आधारमा काज–किरिया गर्ने चलन चलेको हो । रामायण, महाभारतका पात्रहरूको काज–किरिया गरिएकै थिएन ।’

हिजोआज कम्युनिस्ट विचारधारा बोकेकाहरू र आफूलाई आधुनिक देखाउन चाहने अर्काथरी मृत्युसंस्कारको अवधि घटाउन कम्मर कसेर लागिपरेका छन् । सबैभन्दा डरलाग्दो पक्ष त पश्चिमाहरूको मुस्लिमीकरणलाई सघाउन अर्को पक्ष हस्ताक्षर अभियान चलाइरहेका छन् ।

लाखौंको हस्ताक्षर सरकार वा संसद्लाई बुझाएर संस्कार परिवर्तन गराउने सोचमा छन् । काज–किरियाको अवधि सरकारबाटै ५ वा ३ दिनमा झार्ने र बिस्तारै यसको अर्थ छैन भन्ने तर्क गरेर संस्कृति नामेट पार्ने डरलाग्दो षड्यन्त्र भइरहेको छ । वैदिक हिन्दू काज–किरियाको विषयमा समाजमा चलाइएका भ्रम हटाउने प्रयास यस छोटो लेखमा गरिएको छ ।

शास्त्रको महŒव

धार्मिक र सामाजिक जीवनमा सत्मार्ग देखाउने र इहलोक–परलोक सपार्ने ज्योतिका रूपमा रहेका छन्, सनातन शास्त्रहरू । श्रीमद्भागवत्मा ‘तस्मात् शास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ’ (१६÷२४) भनेर कुन कार्य गर्न हुन्छ कुन हुँदैन भन्ने निर्णय शास्त्रले गर्छ भनिएको छ । त्यसैले पनि धार्मिक कार्यको निर्णय गर्दा व्यक्ति वा भीडको भनाइ, व्यक्तिको क्षणिक स्वार्थ आधार मानिँदैन । त्यस्तै, चर्म चक्षुबाट देखिएन भन्दैमा शास्त्रको भनाइ गलत हो भन्ने हुँदैन । सोझो रूपमा बुझ्न नसके पनि शास्त्रको वचन नै वैदिक हिन्दू धर्ममा प्रमाण मानिन्छ ।

शास्त्रको क्रम

वैदिक सनातन धर्मको अनुयायीहरूका लागि धर्म–कर्म र मोक्षका विषयमा वेद, वेदांग, स्मृति पुराणहरू नै प्रमाण हुन् तर त्यसमा पनि पहिलो वा प्रामाणिक कुन ग्रन्थलाई मान्ने भन्ने अन्योल रहेको पाइन्छ । वैदिक धर्ममा वेद सबैभन्दा प्रामाणिक ग्रन्थ हो । नित्य, अपौरुषेय र ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा बाँडिएको ग्रन्थ, जसका अनेक शाखा हुन्छन्, त्यसलाई वेद भनिन्छ । वेद गुरुपरम्पराबाट मन्त्रसंहिता र ब्राह्मणग्रन्थको रूपमा रहेको शब्दहरूको भण्डार नै वेद हो । यज्ञका कर्ममा प्रयोग हुने वेदवाक्यलाई मन्त्र भनिन्छ ।

मन्त्रको व्याख्या गर्ने वेदको भागलाई ब्राह्मणग्रन्थ वा ‘ब्राह्मण’ भनिन्छ । श्रौतसूत्रमा ती यज्ञहरूको प्रयोग र विधि र क्रम बताइएको हुन्छ । जन्मदेखि मृत्युसम्मका संस्कार बताउने विधि बताउने ग्रन्थ गृह्यसूत्र हो । शुक्ल यजुर्वेदाचार्य डा.आमोदवर्धन कौण्डिन्न्यायन भन्छन्, ‘आफ्ना शाखाका श्रौतसूत्र, गृह्यसूत्र अरू शाखाका वेदभन्दा बलिया प्रमाण मानिन्छन् ।’ स्मृतिहरूमा सदाचार, व्यवहार र प्रायश्चितजस्ता विभिन्न पक्ष आउँछन् । कथाको प्रसंगबाट मानिसलाई वैदिक धर्म बुझाउने कामचाहिँ पुराणको हो । रामायण, महाभारतजस्ता इतिहासका ग्रन्थले पनि विभिन्न दृष्टान्त प्रस्तुत गरेर मानिसलाई धर्मको मार्गमा चल्न सिकाइरहेको हुन्छ ।

आफ्नो पहिचान

सनातन धर्ममा शास्त्रीय रूपमा मानिसको बेग्लै पहिचान हुन्छ । पश्चिमाहरूले चलाएको विश्वव्यापीकरणको हौवाका कारण हिजो आज त्यो ख्याल गर्ने मानिस कमै पाउन थालिएको छ । हामी को हौं ? कहाँबाट आयौं ? पुर्खाको गौरव के हो ? त्यसलाई जोगाउन वा फैलाउन के गर्नुपर्छ भन्ने विचार क्षीण हुँदै गइरहेको छ । शास्त्रीय दृष्टिमा विशेषगरी ब्राह्मण, क्षत्री आदि समुदायको पहिचानस्वरूप गोत्र–प्रवर–वेदशाखा–सूत्र आदि पहिचान हुन्छन् । त्यसैको आधारमा कर्मको निर्धारण हुन्छ । कर्म गर्ने अधिकार हुन्छ । ब्राह्मणले त श्रौत–स्मार्त कर्म आफ्नो वेदको शाखासूत्रका आधारमा गर्ने परम्परा छ ।

सन्तानको कर्तव्य

अनेक कष्ट भोगेर दश महिनासम्म पेटमा राखी जन्म दिने आमा र लालनपालन गर्ने तथा संस्कार दिने बाबुलाई देवता मान्ने वैदिक धर्मको मौलिक संस्कृति हो । छोराछोरी जन्माउन, हुर्काउन, उचित शिक्षा, संस्कार दिएर योग्य बनाउन आमाबाबुले अनेक दुःख–कष्ट खेपेका हुन्छन् । सन्तान सुखी होउन्, योग्य होउन् भन्ने कामना नगर्ने आमाबाबु संसारमै विरलै होलान् । त्यसैले पनि वैदिक हिन्दू धर्मसंस्कृतिमा आमाबाबुलाई देवताको स्थान दिइएको हो । वैदिक धर्ममा बाबुआमा जीवित हुँदा र परलोक भइसकेपछि गर्ने कर्तव्य उल्लेख छन् । लेखको सुरुमा उल्लेख गरिएको ‘फेसबुक स्ट्याटस’ पनि यसैलाई आत्मसात् गरी लेखिएको हुनुपर्छ ।

क्रियाकर्मको आधार

वेदका विज्ञहरू भन्छन्, ‘जुनसुकै शाखाको वेदमा पनि गृह्यसूत्र हुन्छ । यो पनि वेदजस्तै गुरुमुख गरी पढ्ने परम्परा छ ।’ नेपालका अधिकांश ब्राह्मण शुक्लयजुर्वेदी छन् शुक्लयजुर्वेदको गृह्यसूत्र पारस्कर गृह्यसूत्र हो । उनीहरूको जन्मदेखि मृत्युसम्म पर्ने संस्कार यसको आधारमा सम्पन्न गरिन्छ । आफ्ना शाखासूत्रको विरोधी नभए धर्मसिन्धु र निर्णयसिन्धुका कुरा मान्य हुन्छन्, नत्र हुँदैनन् ।

पारस्कर गृह्यसूत्रको द्वितीय काण्ड एकादशकण्डिकाअन्तर्गत सातौं मन्त्रले बाबुआमाको किरिया कति दिन गर्ने भन्ने संकेत दिन्छ भन्छन्, शुक्लयजुर्वेदाचार्य कौण्डिन्न्यायन । उनका अनुसार ‘गुरौ प्रेतेऽपोभ्यवेयाद्दशरात्रं चोपरमेत्’ अर्थात् आमाबाबु र वेद पढाउने गुरुको देहान्त हुँदा १० दिनसम्म अञ्जलि–पिण्डदानादि गर्ने विधान छ ।

वेदका अहिले भेटिने शाखाहरूमा बाबुआमाको किरिया गर्ने दिन किटान गरेको नभेटिने विज्ञहरू बताउँछन् । तर (वेदका) ११ सयभन्दा बढी शाखामध्ये मुस्किलले ३१ ओटा शाखा मात्र अहिले उपलब्ध रहेकाले वेदमा थिएन भन्न नमिल्ने उनीहरूको भनाइ छ । तैपनि एकादशाह अर्थात् मृत्यु भएको ११औं दिन गरिने कर्मका मन्त्रहरू शुक्लयजुर्वेदकै छन् । यसैकारण पनि किरियाकर्मपछि पुराणका आधारमा चलेको भनाइ गलत हो ।

दिन र पिण्ड

धर्ममीमांसाचार्य प्रमोदवर्धन कौण्डिन्न्यायनका अनुसार पछिल्ला दुई÷तीन दिनभन्दा महŒवपूर्ण त मृत्युपछिका १० दिन नै हुन् । मरेर प्रेत भएकालाई प्रत्येक दिन एक÷एक पिण्ड दिने विधान शास्त्रमा छ । पुराणहरूमा भने दश दिन गरिने कर्मले दशगात्र अर्थात् शरीरका एक–एक अंग बनेर पूर्ण शरीर बन्ने बताइएको छ । त्यसैले पिण्डको संख्याभन्दा पनि दिन महŒवपूर्ण हो । अहिले दिनको ३ वा ४ पिण्ड दिएर १० ओटा नै पुर¥याउने भन्ने तर्र्क शास्त्रविपरीत हो ।

१२ वा १३ दिन

अघिल्ला १० दिनको प्रक्रिया र बाँकी दिनका प्रक्रिया अलि फरक छन् । पछिल्लो पनि दोस्रो दिनमा सक्ने हो कि तेस्रो दिनमा भन्ने पनि अलमल रहेको पाइन्छ । ११औं दिनमा प्रेतको उद्देश्य गरी श्राद्ध दान आदि गर्ने परम्परा छ । यस्तै, १२औं दिनमा सपिण्डीकरणमार्फत प्रेतलाई अन्य पितृमा मिलाएपछि पितृको स्वरूप लिने बताइन्छ । यसरी मुख्य कर्म त १२औंका दिन सपिण्डी गरेपछि सकिन्छ । समाजमा १३औं दिन हवन र रुद्री गर्ने चलन चलेको छ । ‘वैदिक धर्म मूल रूपमा’ पुस्तकका अनुसार १३ दिनमा गरिने शुद्धशान्तिको विधान माध्यन्दिनीय वाजसनेयी शुक्लयजुर्वेद शाखामा पाइँदैन तर शाङ्ख्यायन श्रौतसूत्र, आश्वालयन, गृह्यसूत्रमा शुद्धशान्तिको विषय पाइन्छ (शिवराज आचार्य, २०६२ द्वि.सं., स्वाद्ध्यायशाला) । अहिले चलेको शुद्धशान्तिको विधि र वैदिक शुद्धशान्तिको विधि फरक छ ।

कट्टरता ?

आमाबाबु बितेका बेला अभक्ष्य (शास्त्रले खान नहुने भनेका) नमानिने पदार्थ मात्र बार्ने हो । विशेषगरी नुन र मासुजस्ता पदार्थ बार्नु भन्ने निर्देश हो । क्रियामा बस्दा औषधि खानै नहुने वा मानिसको प्राणै जान लाग्दा उपचार नै गर्न नहुनेजस्ता चलन शास्त्रीय होइनन् । शुद्धसँग खानपान गरेर पितृको स्मरण गर्नु भन्ने मात्र शास्त्रको निर्देश हो । समाजमा चलेका कतियय कट्टरता शास्त्रमा नभएको बुझिन्छ ।

सेता लुगाको प्रसंग

पितृले सेता पदार्थ मन पराउने हुनाले उनीहरूलाई चढाउन पनि यस्तै चन्दन फूल, वस्त्रको प्रयोग हुन्छ । आशौच बार्नेले १३ दिनभरि र वर्ष दिनसम्म यस्ता वस्तुको प्रयोग गर्ने परम्परा छ । १३ दिनभित्र बस्ने र बाँकी समय बाहिर जाने लुगाको प्रकृति भिन्न हुन सक्छ । त्यसो त वैदिक मान्यताअनुसार ब्राह्मणले सधैं नै सेता वस्त्र परिधान गर्ने विधान रहेकालाई छुट्टै प्रकारको व्यवस्था गरिरहने आवश्यकता नै देखिँदैन ।

निर्णयसिन्धु र धर्मसिन्धु

‘धर्मसिन्धु’ र ‘निर्णयसिन्धु’ मा काज–किरियाको समय घटाउन मिल्ने तर्क गरिए पनि विद्वान्हरू यी दुवै निकै पछिका ग्रन्थ भएका र शास्त्र नभई शास्त्रीय विषयको व्याख्या मात्र भएको तर्क गर्छन् । वेदको वचन काट्न खोजे स्मृति नै मान्य नहुने सन्दर्भमा यी दुई ग्रन्थले बताएकै आधारमा संस्कार परिवर्तन गर्न मिल्दैन । ‘निर्णयसिन्धु’का नेपाली व्याख्याकार डा. वेणीमाधव ढकाल यस ग्रन्थमा समय घटाउन मिल्ने सन्दर्भ हुँदै नभएको बताउँछन् ।

महाभारतमा मृत्युसंस्कार

महाभारतको १८ दिनको युद्धमा मर्नेहरूको पनि किरिया भएको थियो । शान्तिपर्वमा ‘तत्र ते सुमहात्मानो न्यवसन् पाण्डुनन्दनाः । शौचं निर्वर्तयिष्यन्तो मासमात्रं बहिः पुरात्’ (१÷२) भन्ने वचनले उनीहरूको संस्कार सम्पन्न गर्न एक महिना लागेको बुझिन्छ । महाभारतकै आश्रमवासिक पर्वमा धृतराष्ट्रको अन्त्यकर्म सम्पन्न भएको बताइन्छ ।

‘प्रयुज्य सर्वाः परलोकसतक्रयाः–आदिपर्व ४४÷५) अनुसार परिक्षितको पनि पूर्ण क्रिया गरिएको थियो । रामायणका पात्रहरूको उनीहरूका सन्तानले अन्त्यसंस्कार सम्पन्न गरेको बताइन्छ ।

राणाशासकको आदेश

विसं १९९८ मा जुद्धशमशेरले इस्तिहार जारी गरेको विषयमा समाजमा भ्रम फैलाइएको छ ।

‘अहिले १२÷१३ मा कोराभित्र बसेजस्तै पहिले–पहिले एक वर्ष वा १३ महिनासम्म बस्ने परम्परा थियो शासकले नै घटाएर अहिलेको अवस्थामा ल्याई पु¥याएका थिए भने अहिले घटाउन किन नहुने ?’ शास्त्रमै नभेटिने कुरा थियो होला भनेकै भरमा वा आलोचना गरेकै पत्याउन सकिने आधार त छैन नै, यथार्थ के हो भने त्यस बेला आफ्नो यात्रामा अपशकुन हुने भयले जुद्धशमशेरले बरखी बारेकाले सडकमा ननिस्कनु वा देखा नपर्नु भन्ने आदेश दिएका थिए भन्ने इतिहासकारहरू बताउँछन् ।

व्यावहारिक पक्ष

हिजोआज पश्चिमाकै अनुकरण गर्ने श्रृंखलास्वरूप पारिवारिक मूल्य–मान्यतामा ह्रास आएको लुकेको छैन । एकल परिवारमा रमाउने र बाध्यतामा बाबुआमा पाल्नुपरे हेला गर्ने चलन बढ्दै छ । आलोचना गर्नेहरूले यसलाई राम्रैसँग उचाल्दै आएका छन्, ‘बाँचुञ्जेल एक घुट्को पानी र एक गाँस खान नदिने । मरे पनि देखावटी गरेर अन्न खेर फाल्ने ।’ मरेपछि त विधिपूर्वक काज–किरिया गर्नुपर्छ भन्ने धर्मले बाँचुञ्जेल त बाबुआमाको सेवा नगर भन्छ होला ?

समय र अर्थका कुरा

आमाबाबुलाई नै बोझ ठान्ने संस्कृतितिर आकर्षित भएपछि मृत्युसंस्कारप्रति विकर्षण हुनु नौलो भएन । मानिसले अरू बेला अनावश्यक कार्यमा समय र सम्पत्ति खर्च गरिरहेको हुन्छ तर बाबुआमाको काज–किरिया गर्दा भएको खर्चलाई मात्र किन बोझ ठान्ने ? टेलिभिजन, सिनेमा, घुमघामलगायत मनोरञ्जनका लागि समय र अर्थ खर्च भइरहेको हिसाबै हुँदैन । त्यस्तै कतिपयले त चुरोट, रक्सी, बियरलगायतमा आफ्नो लागि मात्र नभई साथीभाइका लागि प्रशस्त खर्च गरिरहेको हुन्छ । राष्ट्रिय रूपमा हेर्ने हो भने शासकहरूले विभिन्न नाममा करोडौंं रूपैयाँ उडाइरहेका हुन्छन् । त्यस्तै, विकासका नाममा गर्नै नपर्ने ठाउँमा खर्च गर्ने र दिगो नहुने ठाउँमा खर्च भइरहेको हुन्छ । यसको हिसाब कसले राखेको होला ?

हुनेखानेले त तडकभडकसहित आमाबाबुको किरिया गर्छन् । नहुनेले के गर्ने ? हुनेखानेले जसरी गर्छ नहुनेले त्यसरी नै गर्नुपर्छ भन्ने छैन । संस्कार गर्दा फजुल खर्च होइन श्रद्धा बढी आवश्यक हुन्छ । सबैभन्दा ठूलो कर्म हो । निर्णयसिन्धुका नेपाली व्याख्याकार वेणीमाधव ढकाल भन्छन्, ‘दानदक्षिणा गच्छेअनुसार गर्ने हो । पितृकार्यमा विशेषगरी श्रद्धा महŒवपूर्ण हुन्छ, देखावटी होइन ।’ धेरै खर्च गर्ने पुगिसरी आउनेले हो । शय्यादानादिको पक्ष पनि गच्छेअनुसार गर्ने हो । नसक्नले गर्नै पर्छ भन्ने छैन । आधुनिक समाजका ब्राह्मण पुरोहितले पनि भ्रम छरेर अनावश्यक आश र माग गर्नु हुँदैन । हुनेखानेको मात्र होइन हुँदा खाने यजमानको कर्म पूरा गराइदिने भन्ने कर्तव्य उनीहरूको पनि हो ।

शास्त्रको निर्णय

राजनीतिक दलका नेताविशेषले काज–किरिया गरेनन् भन्ने तथ्यकै आधारमा उनीहरूको अनुकरण गर्नुपर्छ वा घटाउँदै लैजानुपर्छ भन्ने कुरा शास्त्रीय मर्यादाविरुद्ध हो । हिन्दूधर्म वैदिक–सनातन वर्णाश्रमधर्ममा ब्राह्मणले शास्त्रअनुसार नै धर्मकर्म गर्ने र उनकै अनुसरणमा अरू वर्णले अनुसरण गर्ने विधान छ । कुन शास्त्रीय हो वा कुन होइन भन्ने विषय सम्बन्धित क्षेत्रका विज्ञहरूले छुट्ट्याउने हो, नेता, पत्रकार, एनजीओका जागिरे, ‘सेलेब्रेटी’हरूले होइन । यसका लागि राजनीतिक वा पेसागत आग्रह–पूर्वाग्रह नबोकेका, आर्थिक लोभलालच नभएका, सरका™ी–गैरसरकारी पदधारण नगरेका र स्वतन्त्र रूपमा वेदको अध्ययन गरेका विद्वान् ब्राह्मणहरूको निर्णय मान्य हुन सक्छ । मुख्य कुरा के हो भने शास्त्रीय मान्यता देशको संविधान वा पार्टीको घोषणा पत्रजस्तो महिना, वर्ष वा शताब्दीमा परिवर्तन भइरहँदैनन् ।

शास्त्र र राजनीति

धर्मलाई अफिम मान्ने कम्युनिस्ट वा प्रगतिशील विचारधारा भएकाहरूले धर्मसंस्कार मान्दिनँ वा त्यसको अस्तित्व छैन भन्नु र यस्ता क्रियाकलापमा सहभागी नबन्नु अन्यथा मान्न सकिँदैन । केहीले राजनीतिक दलका ठूला नेताले समेत बाबुआमाका क्रिया नगरेकाले यो गर्न आवश्यक छैन पनि भन्ने गरेका छन् । वैदिक धर्ममा व्यक्तिविशेषभन्दा पनि शास्त्रको निर्णय मान्य हुन्छ भन्ने दोहो¥याइरहँदा राजनीतिक दलका नेताहरूको दिन महिना र वर्षमा भइरहने विचार परिवर्तन पनि देखिएकै छ । आफ्नो स्वार्थ पूरा गर्न जनताको आँखामा कसरी धुलो हाल्छन् भन्ने घामजत्तिकै छर्लंग छ । दलका नेता वा अन्य ‘सेलेब्रेटी’हरूले संस्कार–संस्कृति आफू नमान्न सक्छन् तर अरूको आस्थामाथि प्रहार गर्ने अधिकार उनीहरूलाई हुँदैन ।

अन्त्यमा

अन्त्येष्टिको प्रचलित स्वरूप वैदिक धर्मका अनुयायी नेपालीमा मात्र नभई भारतका विभिन्न समुदाय र मैथिललगायतका समाजमा पनि चल्दै आएका छन् । काज–किरियामा बस्नेको संख्या, खाने पदार्थ र दानदक्षिणा हुने खर्चजस्ता कतिपय विषय शास्त्रमा भन्दा केही भिन्न देखिएका र दानदक्षिणका विषयमा देखिएका विकृतिहरू भने हटाउन आवश्यक छ । विकल्प छन् भने शास्त्रलाई नै आधार मानेर गर्नुपर्छ । त्यसका लागि वेदादि शास्त्रको मर्यादा बुझेका, राजनीतिक स्वार्थ र व्यक्तिगत तथा पारिवारिक स्वार्थभन्दा माथि उठेका वैदिक विद्वान्हरूलाई अघि सर्न समाजले प्रोत्साहित गर्नुपर्छ । शास्त्रको ज्ञान भएकाहरूले पनि यस्तो बेलामा निरपेक्ष भएर निर्णय दिन सक्नुपर्छ ।

[email protected]

राजधानी दैनिक बाट साभार गरिएको

तपाइँको प्रतिक्रिया ।