स्विट्जरल्याण्डको बसेल र इन्टरलेकन यात्रा : महेन्द्र चालिसे ( संस्मरण)

स्विट्जरल्याण्डको बसेल र इन्टरलेकन यात्रा : महेन्द्र चालिसे ( संस्मरण)

कपन अनलाइन

काठमाण्डौ,असार १५।

कहिलेकाहिं साथीहरुसंग जिस्कंदा पनि आफ्नै अनुकूलता मिल्दो रहेछ । प्रसङ्ग हो मेरो पहिलो स्विट्जरल्याण्ड यात्राको र बर्ष हो वि.सं. २०५८ जेठ (सन् २००१) को । स्विट्जरल्याण्ड संसारमै रमाइलो प्राकृतिक दृष्यले मनोरम आदि आदि भनेर सुनिइराखेको । एकपल्ट त जानुपर्ने तर, कसरी ? प्रायः मनमा यस्ता कुराहरु आइरहन्थे र गइरहन्थे तर जसका लागि गर्नुपर्ने प्रयास पनि खासै गरिएको थिएन ।
सन् २००१ को मार्च तिर हुनुपर्छ स्विट्जरल्याण्ड स्थित ‘मानव पोषणको लाथि खाद्य विज्ञान प्रयोगशाला’ को डाक्टर लिना डेभिट्सनको एउटा इमेल आयो जसमा स्विट्जरल्याण्डको इन्टरलेकन शहरमा हाम्रो संंस्थाले जनस्वास्थ्यसंग स्थानीय रुपमा प्राप्त पोषण तत्त्वको सम्बन्ध’बारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ त्यस्मा भाग लिन र आपूmले त्यस विषयमा गरेको अध्ययनमा कार्यक्रम प्रस्तुत गर्न निमन्त्रीत गर्दछु” भनेर लेखिएको थियो । उक्त इमेलले स्विट्जरल्याण्ड जाने चाहनामा उर्जा थपिहाल्यो ।
विश्वमै एकदम शान्त सुन्दर देश त स्विट्जरल्याण्ड हो भनेर वारम्बार सुनिएकै हो । जानका लागि लालसा पलाउनु स्वभाविक नै हो । डाक्टर लिना डेभिट्सनको निमन्त्रणाले स्विट्जरल्याण्ड यात्राको अवसर मिल्ने मौका देखाप¥यो । र मैले उक्त कार्यक्रमका लागि गलैंचा मजदूरको बालबालिकाहरुमा पोषण खाद्य सम्बन्धी गरेको अध्ययन वारे मेरो सोध पत्र पठाएँ र उक्त शोधपत्र सम्मेलन आयोजकको कायक्रममा प्रस्तुत योग्य भनेर छानिदियो र करिब करिब मेरो स्विट्जरल्याण्ड जाने रहर पुरा हुने देखियो । त्यती वेला सम्म जति पनि घुम्ने अवसर पाएँ, एक्लै घुम्ने अवसर मात्र पाएँ । किनकि आयोजकले मलाई मात्र आर्थिक सहयोग उपलब्ध गराउँथ्यो, अनि अरुलाई आफ्नो खर्चमा विदेश जाउँ भनेर भन्दैमा को जान सक्छ र ? तैपनि एक दुईजना साथीहरुसँग प्रस्ताव राखें– खाने बस्ने म व्यहोर्छू टिकट किनेर जाने हो भनेर, तर कसैले पनि इच्छा देखाएनन् । तसर्थ यो पटक पनि एक्लै जाने सोचले आफ्नो तयारीमा लागें । मुख्य तयारी त कार्यक्रममा प्रस्तुत गर्ने सामाग्री नै लेख्नु थियो । त्यसपछी प्लेन टिकट होटल आदि बुक गर्नु थियो र ती सवै सकिए । अन्तिममा भिषा लिनु थियो र भिषा हात नपरुन्जेल धुकचुक रअिरहन्थ्यो ।
अचानक र एकदम नाटकिय पारामा एक जना साथी उक्सिनुभयो र भन्नुभयो “ल म जान्छु तपाइसँग स्विट्जरल्याण्ड आफै खर्च गरेर । जति कमाए पनि र जति दुःख गरेपनि यस्तै हो ।” हुनत ऊंहाले प्रयास गर्नु भएको भए उहाँका केही सम्पर्क सुत्र जस्को पहुँच उहाँलाई आर्थिक सहयोग उपलब्ध गराई दिन सक्ने थियो । गराए गराएनन् मलाई थाहा भएन । तर जे होस मीत्र (दाजु) आत्मेश्वर चापागाईं जस्लाई ज्योतिषीले उहाँको बाल्यकाल देखि त्यतिवेलासम्म नै जहिले ज्योतीष देखाउँदा पनि विदेश जाने योगै छैन भन्थे रे । आखिर ज्योतिष विद्यालाई मात खुवाउँदै आत्मेश्वर चापागाईं र म २०५८ जेठ १४ गते राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्विट्जरल्याण्डको लागि उड्यौं ।
प्रजातान्त्रिक साशन पद्धती भएको र जस्ले जहाँ जे पनि गर्न छुट भएको हाम्रो देश । जेठ १४, १५ र १६ गते नेपाल वन्दको आव्हान गरेका थिए तत्कालिन विपक्षी दलले । हुन त वन्द आव्हान कर्ताले जोड दिंदै भनेका थिए “हाम्रो आन्दोलन शान्तिपूर्ण हुने छ र हामी हावा चल्न पनि दिने छैनौं । यति भन्नेहरुले हवाइजहाज पनि चल्न दिने हैनन् कि मनमा त्रास त छँदछै, अनि फेरी एयरपोर्ट पुग्ने कसरी । हुलदंगा त पक्कै हुने नै होला । शान्तिपूर्ण भनेपनि आन्दोलन कहिल्यै शान्तिपुर्ण हुन हैन, त्यस्लाई दवाउने क्रममा सरकारले नै अशान्ति मच्चाई दिन्छ भन्ने त विगतको अनुभवहरुले बताएकै छन् ।
फेरी अपराधीहरुको संरक्षण त त्यतिवेला तत्कालिन सरकारले नै गरेको थियो । किनकि राज्यद्वारा फरार घोषित त्यतिवेलाको एकजना पर्यटन मन्त्रीलाई गृहमन्त्री र प्रधानमन्त्रिले नै आफ्नै क्वाटरमा राखेको भेटिएको थियो । यस्तो अवस्थामा शान्तिपूर्ण जुलुसमा आफ्ना गुण्डा घुसाएर सरकारले नै अशान्ति नमच्चाउला भन्न पनि सकिंदैनथ्यो । त्यसैले हामिले आरुवारी देखि एयरपोर्ट सम्मै हिँडेर जाने निर्णय गरेर घरबाट हिंड्यौं । हामी पहिल्यै निर्धारित समयमै एयरपोर्ट पुग्यौं । हिंड्ने बानी छुटेकोले होला एयरपोर्ट पुग्दा लखतरान भैसकेका थियौं ।
हाम्रो यात्रा मस्को हुँदै ज्युरीच सम्म रसियन एयरलाईन एरोफ्लोटबाट तय भएको थियो र जुरीच देखि इन्टरलेकन सम्म स्विस रेलबाट तय थियो । त्यतिवेलासम्म नेपालमा युरोपबाट रसियन एराफ्लोट, डच एयरलाइन के.एल.एम्, जर्मनको लुफथान्सा जस्ता विश्व संजाल भएका हवाइकम्पनीहरुले सिधै उडान गर्थे भने तत्कालिन रोयल नेपाल एयरलाइनले युरोपमा जर्मनीको प्रेंmकफोर्ट, वेलायतको लण्डन, फ्रान्सको पेरिसमा सिधा उडान गथ्र्यो तर अहिले नेपाल एयरलाइन त नव महाराजहरुको लैनो भैंसी थाके भैmं भएर युरोप त के सार्क राष्ट्रका पनि भारत बाहेक अन्त जान नसक्ने भयो भने युरापका हवाई कम्पनीहरुमध्ये खै किन हो टर्किस एयरलाइन मात्र आउँछ ।
हाम्रो यात्रा काठमाडौं देखी मस्को हुदै ज्यूरीच तय भएपनि काठमाडौंमा नेपाल वन्दको कारण करिब तीन घण्टा प्लेन ढिलो भयो, जस्को नतिजा हाम्रो मस्कोबाट जुरिच जाने हवाइजहाज छुट्यो. । पहिलोपल्ट विदेश यात्रामा निस्किनुभएका मीत्र आत्मेश्वर चापागाईं अलि चिन्तित हुन थाल्नुभयो सायद मस्को एयरपोर्टमा रातभर बस्नुपर्ने हो कि भनेर । तर त्यस्तो हुँदैन भन्ने मलाई निश्चित थियो, किनकि युरोपभरी एयरोफ्लोटको राम्रो संजाल छ भन्ने मलाई जानकारी थियो र उनीहरुले कुनै न कुनै एयरलाइनबाट हामिलाई पठाउँछन् । मस्को एयरपोर्टमा उत्रिएपछि हामिले ट्रान्सफर्म डेस्कमा खवर ग¥यौं, हाम्रो जुरीचको फ्लाइट छ भनेर । त्यहाँ हामिलाई जर्मनीको म्युनीख र म्युनिखबाट जुरिच जाने गरी कनेक्टीङ्ग फ्लाइट मिलाएको रहेछ । त्यही अनुसार हामि मस्कोबाट म्युनिखको लागि उड्यौं र त्यहाँबाट जुरीचको लागि उड्यौं र पहिला निर्धारण गरेको भन्दा ३ घण्टा पछि स्विट्जरल्याण्डको जुरीच पुगियो ।
स्विट्जरल्याण्ड जाने निधो भएपछि मैले स्विट्जरल्याण्डको वसेल सहरस्थित साइट एण्ड लाइफ भन्ने म्यगाजिनको डाइरेक्टर डाक्टर मार्टिन फ्रिगलाई म स्विट्जरल्याण्डको इन्टरलेकन आउँदैछु भनेर खवर गरें किनकि साइट एण्ड लाइफ म्यगाजिनकोलागि मैले लेखहरु लेख्ने गर्थे त्यसैले खबर गर्नु उचित लागेर खबर गरेको थिए । जवाफमा उन्ले जुरीचबाट वसेल र वसेलबाट इन्टरलेकन सम्मको रेलको टिकट पठाइ दिने र १ रात वसेलमा बस्न होटलको व्यवस्था साइट एण्ड लाइफले गर्छ, त्यही अनुसार कार्यक्रम मिलाउनु, यहा आएको बेला एकपल्ट भेट्नु पर्छ भनेर खवर पठाएँ । सोही अनुसार हामी जुरीच एयरपोर्टबाट रेल चढेर वसेल तर्फ लाग्यौं । वसेल रेल स्टेशनमा हामिलाई बस्ने व्यवस्था गरिएको होटल रेडिसनबाट पठाएको गाडिले होटल पु¥यायो । पहिल्यै निर्धारण गरिएको कार्यक्रम अनुसार होटलमा गएर नुहाइवरी ताजा भइयो र डाक्टर फ्रिगलाई खवर गरियो ।
डाक्टर मार्टिन फ्रिग २–३ चोटी नेपाल आइसकेका बुढा, उनलाई मैले पहिलोपल्ट सन् १९९७ मा इजिप्टको राजधानी कायरोमा एउटा मिटिंगमा भेटेको थिएँ । त्यहाँ मैले प्रस्तुत गरेको कार्यपत्र उनलाई मनपरेछ, त्यो पेपर उन्को म्यागजिनमा प्रकाशित गर्ने प्रस्ताव राखें जस्लाई अस्विकार गर्ने त कुरै भएन । जव उनले मेरो लेख पहिलोपल्ट साइट एण्ड लाइफमा छापे, त्यसपछि यो क्रम निरन्तर सन् २०१६ सम्म चलि नै रह्यो र उनैले मलाई साइट एण्ड लाइफको तर्फबाट पहिलोपल्ट अमेरिका जान १९९९ मा आर्थिक सहयोग पनि गरेका थिए । फोन गरेको केही क्षणमा डाक्टर फ्रिग हामी बसेको होटल रेडिसनमा हामिलाई लिन आए र वसेल शहर घुमाउन लगे ।
४३–४४ इसा पूर्व रोमन जनरल लुसियस मनाटियस प्लांकसद्वारा रोमन वस्ती आँगास्टा राउरिकाको स्थापना गरे । इस्वि संवत् ३७४ मा पहिलो चोटी रोमन इतिहासकार अम्मनियस मार्सेलिनसले रोमन सम्राट वैलेन्टिनियनको पहिलो शहर यात्राका समय उक्त शहरको नाम वसेल वेसेलिया भनेर सम्बोधन गरेर पछि यही शहरलाई वसेल भन्न थालियो, अधिकांस यात्रुहरु जो स्विट्जरल्याण्ड घुम्न जान्छन् उनीहरु १ दिन देखि ३ दिन सम्मको यात्रा गन्तब्य वसेल शहरलाई बनाउँछन् । त्यहाँ प्राचिन शहरको झलक, संग्रहालयहरु देख्न पाइन्छ । त्यहाँ बनेका १३ औ १४ औं शताब्दीमा निर्मित घरहरु भत्काएर नयाँ बनाउन कानुनले रोकेको छ । ती घरहरु जस्ताको तस्तै बनाउन मात्र पाइन्छ । हामीले यी घरहरु किन यस्ता पुराना छन् भनेर सोधेको जवाफमा डाक्टर फ्रिगले वताए ।
६ देश स्विट्जरल्याण्ड, लिकटेंस्टिन, आष्ट्रिया, जर्मनी, फ्रान्स र नीदरल्याण्ड भएर बग्ने राइन नदी रोमनकाल देखि नै दक्षिणी र उत्तरी युरोप बीच सम्पर्क सुत्रको काम गरेको देखिन्छ । यो राइन नदी स्विट्जरल्याण्डको आल्पस पर्वतबाट खस्ने झरना, जुन युरोपको तेस्रो ठूलो झरनामा गनिन्छ र उत्तर तर्फ गएर स्विट्जरल्याण्डकै काँन्एटास हुँदै वसेल पुग्छ । वसेले शहर स्विट्जरल्याण्डको उत्तर पश्चिममा राइन नदीको किनारामा रहेको छ । वसेल शहरको ऐतिहासिक महत्वको रुपमा उल्लेख हुने गर्छ । त्यहाँ प्रायः अन्तर्राष्ट्रिय शान्ति बार्ताहरु सम्पन्न हुने गर्छन । इतिहासमै उल्लेखित स्वावियन युद्धको अन्त्य त्यही वसेल सन्धि १४९९ ले गरेको थियो र त्यसैको २ वर्ष पछि अर्थात् १५०१ मा वसेल शहर स्विट्जरल्याण्डमा सामेल गरियो ।
काक्टर मार्टिन फ्रिगले हामिलाई २–३ घण्टा बसेलका मुख्य मुख्य ठाउँ देखाएर र त्यहाँको बारेमा यति जानकारी गराएपछि हामिले संगै वेलुकीको खाना खायौं र त्यहाँबाट छुट्टिएर डाक्टर फ्रिग आफ्नै घरतर्फ लागे भने हामि हाम्रो होटल तर्फ लाग्यौं । हाम्रो भोलिपल्ट विहान करीब नौ वजेतिरको रेलको टिकट थियो र हामी त्यहाँबाट इन्टरलेकन स्थित त्यहाँको कन्भेन्सन सेन्टरमा आयोजित ३ दिने कार्यक्रममा भाग लिएर त्यहाँ कार्यपत्र प्रस्तुत गर्नुथियो ।
इन्टरलेकन अर्थात् दुइ लेकको बीचमा रहेको शहर । यो शहर लेक थुन र लेकको ब्रिएन्ज बीच पश्चिम स्विट्जरल्याण्डको वर्निस ओवरल्याण्डमा अवस्थित छ । अति आकर्षित लेक थुन र लेकको ब्रिएन्ज बीचमा रहेको यो इन्टरलेकन स्विट्जरल्याण्डको बिशेष पर्यटकीय शहर हो । इन्टरलेकन भन्दा पहिला यस्को नाउँ आर्मुहले थियो । यो नाम टर्रो भएकोले नामैको कारण पर्यटक आउने संभावना कम देखियो भनेर १८९१ मा यस्को नाम आर्मुहलेबाट फेरेर इन्टरलेकन राखियो । यसरी इन्टरलेकन नामाकरण गरेपछि यो शहर अन्तर्राष्ट्रिय ख्याती प्राप्त पर्यटन क्षेत्र बन्नपुग्यो ।
नेपालजस्तै हराभरा, साना ठूला पहाड, झरना, लेक, हिमश्रृङ्खला भएको देश स्विट्जरल्याण्ड पुगेपछि पुग्नै पर्ने ठाउँ हो इन्टरलेकन । त्यहाँबाट तीनवटा अग्ला अग्ला हिमाल ईगर, मोन्च र जंटाफ्राउ इन्टरलेकनको जनसुकै ठाउँबाट पनि देख्न सकिन्छ ।
तर हामि जस्ता पर्यटन उद्देश्यले नभई कुनै अर्कै उद्देश्यले त्यहाँ पुग्ने व्यक्ति यी सवै रमाइलो उपलब्ध हासिल गर्न न त समयले दिन्छ, न त आर्थिक हैसियतले नै दिन्छ । हामिले घुम्ने, हेर्ने भनेको त त्यहीं वरीपरी र यसो साँझ विहान एकाध घण्टा न हो । त्यस्मा कहिलेकाहिं कार्यक्रम आयोजकले कहिं कतै घुमाइदिए भने वेग्लै कुरा न हो । हामि पनि त्यतै वरिपरिका केही रमणीय स्थान हुँदै घुमघाम ग¥यौं र वोलाइएको कार्यक्रममा आफ्नो तर्फबाट कार्यपत्र प्रस्तुत ग¥यौंं, जुन कार्यक्रमको सहभागी सवैले अत्यधिक मनपराए ।
हामिले घुमेको मध्ये इन्टरलेकन ब्लाउसीलेक इन्टरलेकन शहरमा भएका मध्ये सवैभन्दा आकर्षित थियो र उक्त लेकसँग सम्बन्धित एउटा किम्वदन्तीले सवैको मन छुने गर्छ – त्यो हो ब्लाउसीलेकमा टलपलाइरहेको निलो रंगको पानी एउटी तरुनी केटीको आँखाबाट बहेको आँशु हो रे जो प्रेममा असफल भएर दिल टुटेर मरेकी थिइरे ।
यसरी इन्टरलेकन शहर र वसेल शहरहरुमा ५ दिन विताएर म र मित्र, दाजु आत्मेश्वर चापागाईं २०५८ साल जेठ महिनामा स्विट्जरल्याण्डबाट मस्को हुँदै नेपाल फर्कंदै थियौं । सायद २०५८ जेठ १९ गते राति १० वजे तिर (मस्को समय अनुसार) एउटा अपत्यारिलो खवर एउटा रसियन युवाले सुनायो– नेपालमा रोयल फेमिलीबीच गोली हानाहान गरेर सवै परिवार मारिए” भनेर । खवर पत्याउन सकिएन । त्यतिवेला हामिसँग मोवाइल फोन हुँदैनथ्यो । त्यसैले उसैसँग मोवाइल फोन मागेर मस्को स्थित नेपाली दुतावासमा फोन गरेर यो खवर पक्का हो कि हैन भनेर सोधें, पहिला त जवाफ दिन चाहेनन् । जव मैले म पत्रकार हुँ भनेर परिचय दिएपछि– उताबाट खवर चाहिं हो तर आधिकारिक सूचना आएको छैन, त्यसैले तपाईंले समाचार वनाउँदा दूतावासको श्रोत चाहिं नभन्नु होला भनेर अनुरोध गरे । तर मैले त कुनै समाचार वनाउनलाई यो जानकारी लिएको हैन भन्ने कुरा उनीहरुलाई आश्वस्त पारें र भारी मन लिएर नपाल फर्कियौं ।
हुन त हामिले कहिल्यै राजसंस्थालाई आत्मसात गरिएन, तैपनि खै किन हो किन राजाको सपरिवार हत्यो भयो भन्ने समाचारले मन अलि अधिर बनायो र यस्तो लाग्यो की देश साँच्चै टुहुरो भयो, किनकि राजस्ंस्था अरु केही नभए पनि देशमा एकताको प्रतिक चाहिं पक्कै थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।