झर्को : गङ्गा आचार्य सापकोटा (लघुकथा)

झर्को : गङ्गा आचार्य सापकोटा (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,असार १५।

जमाना प्रविधिको छ । जानीनजानी पनि प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । शिवराजले आवश्यक पर्दा छोराछोरीको सहयोग लिने गर्छन् तर लगातार अभ्यास नभएर होला, एकपटक सिकेको कुरा केही दिन पछि बिर्सिन्छन् ।

आज पनि शिवराजलाई प्रविधि मार्फत केही काम गर्नुपर्ने भयो । उनी ल्यापटप लिएर छोराको कोठामा जान्छन् र आफ्नो समस्या बताउँछन् । छोराले एकछिन बाबुको मुहारमा हेरिरहन्छ अनि
नबोली आफ्नै काममा व्यस्त हुन्छ ।
केही छिनपछि उनले छोरालाई पुनः अनुरोध गर्छन् ।
‘एकपटक फेरि सिकाइदे न, अब कहिल्यै बिर्सिन्न ।’
बाबुको बोली पुरा हुन नपाउँदै छोरो झर्केर बोल्यो । ‘एउटै कुरा हजुरलाई कति पटक सिकाउने हो ! आफ्नो पनि दिमाग लगाउनू न ।’ शिवराजलाई दाँतमा ढुङ्गो लागे जस्तै भयो र बाहिर निस्कँदै भने । ‘उबेला म पनि यसैगरी झर्किएको भए तँ यो अवस्थामा आईपुग्दो होस् !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।