जात्रालाई शान्तिपूर्ण बनाउन सबै संयन्त्र प्रयोग गर्ने चोक–चोकमा सिसी क्यामरा

जात्रालाई शान्तिपूर्ण बनाउन सबै संयन्त्र प्रयोग गर्ने चोक–चोकमा सिसी क्यामरा

भक्तपुर, २३ चैत । यस वर्षको बिस्केट जात्रामा शान्ति बिथोल्न खोज्नेलाई पहिचान गरी पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले चोक–चोकमा सिसी क्यामरा जडान गर्ने भएको छ ।

cctv_camera
प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरको संयोजकत्वमा प्रहरी, सरकारी कार्यालयका प्रमुख, जात्रा सञ्चालक, राजनीतिक दलका प्रतिनिधि, स्थानीय क्लब र सरोकारवालासमेतको बैठकले यस्तो निर्णय गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जात्रा अवधिभर खुलारुपमा रक्सी बिक्री वितरण गर्ने भट्टीपसलहरु पूर्णरुपमा बन्द गराउने भएको छ । विगतका जात्रामा घर बाहिर खुला रुपमा बिक्री गरिने रक्सी र बजार क्षेत्रमा सञ्चालन भएका भट्टी पसलमा रक्सी खाएर जात्रामा आउनेले ढुङ्गा हानेर जात्रालाई हिंसामा परिणत गराउने गरेको पाइएकाले यस वर्ष जात्रा अवधिभर यस्ता पसल एवम् मदिरा बिक्री वितरण बन्द गराइने भएको हो ।
जात्रालाई भयमुक्त बनाउन स्थानीय क्लब, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि एवम् कार्यकर्तालाई जात्रामा स्वयम्सेवकका रुपमा परिचालन गरिने भएको छ । जात्रामा कडा सुरक्षा व्यवस्था गर्न नेपाल प्रहरी ७५० जना र सशस्त्र तथा अन्य गरी कम्तीमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ ।
रथ तान्ने र लिङ्गो उठाउने तथा ढाल्ने दिनमा जात्रा हुने क्षेत्रमा विद्युत् भार कटौती नगर्ने, खानेपानीको व्यवस्था गर्ने, सडक बत्ती र सरसफाइ गर्ने, दमकललाई तयारी अवस्थामा राख्ने भएको छ ।
चैत २७ गते सुरु भई वैशाख ५ गते सम्पन्न हुने बिस्केट जात्राका लागि तलेजुमा विशेष पूजा सम्पन्न गरेपछि तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले निकालेको साइतअनुसार जात्रा सुरु हुने जोशीले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।