८ वर्षदेखि साधारणसभासमेत नभएको कपन साहित्य समाजलाई ५ लाख

८  वर्षदेखि साधारणसभासमेत नभएको कपन साहित्य समाजलाई ५ लाख

कपन अनलाइन\चैत्र १५, २०७१
साविक कपन गाविसमा रहेको पूरानो संस्थामध्ये एक कपन साहित्य समाज कहाँ छ ? के गर्दै छ ? भन्ने कुरा कसैलाई पत्तो छैन । कुनै किसिमका गतिबिधिमा यो संस्था सक्रिय छैन । यस संस्थाको आकाशेधारामा रहेको ५वटा सटर भएको घरको भाडा उठाउने मानिससमेत छैनन् यतिखेर । लामो समयदेखि भाडा उठाउन कोही नआएको सटरमा व्यवसाय गर्नेहरु बताउँछन् । यसरी मृत अवस्थामा रहेको यस संस्थालाई बुढानीलकण्ठ नगरपालिकाले चालु आवमा तत्काल प्रयोग गर्न मिल्ने गरी रु. ५ लाख प्रदान गरेपछि धेरैलाई चकित बनाएको छ ।

सटर भाडासमेत उठाउने मानिस नभएको यो संस्थाको अध्यक्ष हुन् मिठाराम अधिकारी । संस्थाको स्थापनादेखि नै अधिकारीकै वर्चश्व छ यो संस्थामा । अन्तिम साधारणसभा तथा अधिवेशन ०६४ सालमा भएपछि यो संस्था पूर्णरुपमा सुसुप्त अवस्थामा छ तर अध्यक्ष अधिकारी भने यथावत छन् अझैसम्म । यदाकदा भेटमा मिटिङ बोलायो तर कोही आउँदैनन् भन्ने गरेको  सुन्न पाइन्छ उनको मुखबाट । महासचिव गणेश मिश्रले आफ्नो भूमिका राम्ररी ननिभाएको आरोप पनि अधिकारीले बेलाबेला लगाएको सुनिन्छ । तर धेरै मानिस भने अध्यक्ष मिठाराम अधिकारीको असक्षमताको कारण यो संस्था यति कमजोर र मृतप्राय बनेको हो भन्ने सोच्दछन् । यसरी मृतप्राय भएर सटरको भाडा उठाउने मानिससमेत नभएको बेला अध्यक्ष अधिकारीले यस संस्थाको भवन बढाउन भनेर नगरपालिकाबाट ५ लाख निकासा गरेका छन् ।

साविक कपन गाविसमा धेरै संस्थाको भवन, बाटोघाटो तथा पुलपुलेसका निर्माण समितिमा अध्यक्ष बनेका तथा रहर राख्ने अधिकारीले ८ वर्षदेखि साधारणसभा समेत नभएको संस्थाको १ महिनापछि साधारणसभा गर्छु भन्ने मौखिक जानकारी गराउँदै ५ लाखको योजना सम्झौतासमेत गरिसकेका छन् । बुढानीलकण्ठ नगर पालिका वडा नं. १२  नागरीक वडा मञ्चका संयोजक श्याम डोटेलका अनुसार १ महिनाभित्र अधिकारीले कपन साहित्य समाजको साधारणसभा गर्छु भन्ने कमिन्टमेन्ट गरेका छन् । त्यसो त गत पौष महिनामा कपन अनलाइनसँगको एक भेटमा पनि अध्यक्ष अधिकारीले पुष महिनाभित्रमा साधारणसभा जसरी पनि गर्ने बताएका थिए तर उनले संस्थाको मिटिङसमेत बसाएनन् यो बीचमा । यो अवस्थामा १ महिनाभित्र उनले कपन साहित्य समाजको  साधारणसभा गर्लान् भन्ने विश्वास गर्ने आधार भने कम नै छ । अधिकारी बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेका तर्फबाट सर्वदलीय प्रतिनिधित्व गर्दछन् भने साविक कपन गाविसका पूर्व अध्यक्ष पनि हुन् ।

तपाइँको प्रतिक्रिया ।