शंखरापुर नगरपालिका ९ बाट चोरीको मोटरसाइकल सहित एकजना पक्राउ

शंखरापुर नगरपालिका ९ बाट चोरीको मोटरसाइकल सहित एकजना पक्राउ

कपन अनलाइन

काठमाण्डौ,बैशाख २४।

शंखरापुर नगरपालिका ९ बाट आइतबार चोरीको मोटरसाइकल सहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका २ घर भइ हाल भक्तपुरको निकोशेरा बस्दै आएका २९ वर्षीय विकास थिङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वास्तविक नम्बर परिवर्तन गरेर बा ८३ प ९० ३७ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई आज मध्यान्ह १२ बजे ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका थिङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ ।

बागमती प्रदेश ०२-०२४ प २१ ३९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल काठमाडौंको काडाँघारी लाहुरे चोकबाट  हराएको भनि मोटरसाइकल धनि रामेछापको खाँडा देवी गाउँपालिका ६ का निर्मल केसिले गत मंसिर १९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकल सहित थिङ नियन्त्रणमा आएका हुन् ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले सम्पूर्णलाई अनुरोध गरेका छन  । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएतापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने समेत प्रवक्ता श्रेष्ठले बताए ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपालप्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।