राजधानीलाई छोएन खुला दिसामुक्त अभियानले

राजधानीलाई छोएन खुला दिसामुक्त अभियानले

काठमाडौँ, २ फागुन । सरकारले सन् २०१७ मा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यअनुसार मुलुकमा विभिन्न गाविस, नगरपालिका र जिविसमा यो अभियान चलिरहँदा राजधानी काठमाडौँका कुनै पनि नगरपालिका अहिलेसम्म खुला दिसामुक्त घोषणा हुन सकेका छैनन् ।

काठमाडौँका ५७ वटै गाविसलाई नगरपालिका घोषणा गर्नुअघि १६ वटा गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको थियो । अहिले ती सबै गाविस मिलाएर नौवटा नगरपालिका बनाएपछि एउटा पनि नगरपालिका खुला दिसामुक्त घोषणा भई नसकेको खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरीभेक्षण कार्यालय काठमाडौँले जनाएको छ ।
कार्यालयका अनुसार ती नगरपालिका कागेश्वरी, मनोहरा, शङ्खरापुर र दक्षिणकालीका कुनै पनि वडा खुला दिसामुक्त घोषणा भएका छैनन् ।
मुलुककै एकमात्र काठमाडौँ महानगरपालिकामा अहिलेसम्म खुला दिसामुक्त कार्यक्रम नै लागू हुन सकेको छैन भने अझै पनि गुणस्तरीय खानेपानी स्वच्छता समन्वय समिति गठनसमेत भएको छैन ।toilet

काठमाडौँ नगरपालिकाका नौ नगरपालिकामध्ये ४७ वटा वडामात्रै खुला दिसामुक्त घोषणा भएका छन् ।
टोखा नगरपालिकाको १५ वटा वडामध्ये १३ वटा वडा, बूढानीलकण्ठका १७ वडामध्ये छवटा, गोकर्णेश्वरका १६, वडामध्ये पाँचवटा, चन्द्रागिरिका २३ वडामध्ये आठवटा, नागार्जुनका १४ वडामध्ये दुईवटा र तारकेश्वरका २१ वडामध्ये १२ वटा वडामात्र हालसम्म खुला दिसामुक्त घोषणा भएका छन् ।
काठमाडौँमा अझै छ हजार घरपरिवारमा शौचालय नहुँदा उनीहरु खुलारुपमै दिसापिसाब गर्ने गर्दछन् । जिल्ला विकास समितिको एक तथ्याङ्कअनुसार ८५ हजार ७२८ घरपरिवारमा सेफ्टी ट्याङ्की भएको शौचालय रहेको छ भने ४१ हजार ३०१ घरमा साधारण शौचालय र तीन लाख शौचालय सिधै ढलमा मिसिएको छ ।
काठमाडौँ महानगरपालिकाका अनुसार उपत्यकामा ९० वटा सार्वजनिक शौचालय भएका एक हजारमा ४० जनाले एउटा सार्वजनिक शौचालय प्रयोग गर्ने गरेको पाइन्छ ।
कीर्तिपुर नगरपालिकामा भने खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन भई तथ्याङ्क लिने काम भएको खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका प्राविधिक शम्भुबहादुर कार्कीले बताउनुभयो ।

विगत चार वर्षदेखि सरसफाइ गुरुयोजना लागू भए पनि काठमाडौँमा पनि यो प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । गुरुयोजनाले सहरी वा ग्रामीण इलाकामा रहेका सबै घरमा अनिवार्य रुपमा शौचालयको सुविधा हुनुपर्ने जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।