उचित सम्मान :ध्रुवराज थापा ‘पुरूष’ (लघुकथा)

उचित सम्मान :ध्रुवराज थापा ‘पुरूष’ (लघुकथा)

कपन अनलाइन

काठमाडौं , बैशाख १५।

‘यहाँहरूले गरेको यो सम्मान म कहिल्यै भूल्ने छैन ।आगामी दिनमा पनि म देस र जनताका लागि यसै गरी खटिरहने छु ।’ गलाभरी माला भिरेर नेताजी भाषण छाँट्दै थिए ।उनी फुरूङ्ग परेर उपस्थितलाई सम्बोधन गर्दै थिए ।

कार्यक्रममा उपस्थितध्ये एकजना सहभागी सँगैका अर्का सहभागीलाई भन्दै थिए, ‘होईन यो भ्रष्ट नेतालाई यी युवाहरूले के खान सम्मान गरेका हुन् ? विकासका बजेट जति सबै आफैँले झ्वाम पार्छन्, यस्तालाई पनि सम्मान ? कालो मोसो दलेर नगर परिक्रमा गराउन लाएक छ यो नेता त !’ यत्तीकैमा नेताले पनि आफ्ना भनाई टुङ्ग्याए ।
कार्यक्रमको संयोजक जुझारू युवा ‘बिष्फोट’ले भने, ‘हामी यस्ता होनहार नेतालाई सम्मान गर्न पाउँदा ज्यादै खुसी छौँ । हामीलाई आफ्नो अमूल्य समय उपलब्ध गराउनु भएकोमा नेताज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । हाम्रा नेताजी जस्तै राम्रो काम गर्ने नेतालाई हामीले प्रत्येक वर्ष आजका दिन जस्तै यमपन्चकको दोस्रो दिन फूलमाला लगाएर सम्मान गर्ने घोषणा गरेका छौँ ।’ नेता लाजले रातोपिरो
भए ।सबैले गडगडाट ताली बजाए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।